काठमाडौं । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन ।
सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए । "सरकारले निजी क्षेत्रलाई आह्वान गर्यो, तपाईंहरूले सहयोग जुटाइदिनुभयो," उनले भने, "यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ ।"
मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौति पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताए ।
परिसंघका अध्यक्ष अग्रवालले नेपालको कूटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्लेख गरे । उनले सरकारको आह्वानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैँ काम गरिरहेको बताए ।
अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधि हस्तान्तरण गरेको छ । परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्रीकाबुल पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।