site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनिवार्य गर्दा पनि बढेन इम्बोस्ड नम्बर प्लेट जडानको गति 

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दा पनि तीव्र गतिमा जडान प्रक्रिया अघि बढ्न सकेको छैन । लामो समय भएको विवाद सुल्झिएर अनिवार्य गरिँदा पनि तीव्र गतिमा जडान हुन नसकेको हो । 

अहिलेसम्म करिब १४ हजार सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको  छ । कहिले अंग्रेजी र नेपाली अक्षरको विवाद त कहिले कारोना महामारीको बहानामा विभागले प्रभावकारी रुपमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाउन नसकेको दाबी गर्दै आएको थियो ।
 
नेपालमा पहिलो पटक २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बरप्लेट जडानको उद्घाटन गरेका थिए । त्यसपछि अंग्रेजी इम्बोस्ड नम्बरप्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्दै विवादमा तानिएको थियो । त्यसपछि लामो समय इम्बोस्ड नम्बरप्लेट जडानको काम रोकिएको थियो ।

उक्त रिट ०७६ चैतमा सर्वोच्च अदालतले खारेज गर्यो । त्यसपछि विभागले ०७७ साउन १ गतेदेखि पुन इम्बोस्ड नम्बरप्लेट जडान सुरु गर्यो । पुनः कोरोना महामारीका कारण जडान अवरुद्ध भएको थियो ।

विभागका महानिर्देशक नमराज घिमिरे विभागले प्रभावकारी रुपमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै दाबी गर्छन् । ‘‘अहिले पहिलेको जस्तो सास्ती छैन । पहिले नम्बर प्लेटको विवाद थियो । कोरोना संक्रमणको त्रासका कारण सेवा बन्द थियो । अहिले यी सबै समस्याहरु समाधान भइसकेका छन् । धमाधम नम्बर प्लेट जडान भइरहेको छ,” महानिर्देशक घिमिरले भने ।
 
यातायातका प्राविधिक समस्याहरु क्रमिक रुपमा सुधार गर्दै ल्याएको महानिर्देशक घिमिरेको दाबी छ । ‘‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्दा तीव्र पार्न सकिएको थिएन । अहिले अनिवार्य गर्दा तीव्र गतिमा अगाडि बढिरहेको छ,” महानिर्देशक घिमिरले भने । 

प्रदेश नम्बर १ र २ को नाम टुंगो नलाग्दा इम्बोस्ड नम्बर प्लेट लागु हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशको नाम लामो भएकाले लागु गर्न नसकिएको विभागले जनाएको छ ।
 
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा इम्बोस्ड नम्बरप्लेटको प्रक्रिया सुरु भइसकेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको नाम लामो भएकाले उक्त प्रदेशमा यो नियम लागु हुन समय लाग्नेछ ।

माघदेखि नवीकरण गर्ने सवारीलाई अनिवार्य गरिँदै 
विभागले गएको मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । यस विषयमा महानिर्देशक घिमिरे भन्छन्, ‘‘एकै पटक नयाँ, पुराना सबै किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने भएकाले चरणवद्ध रुपमा अनिवार्य गरिरहेको छौँ । अब माघदेखि नवीकरण गर्ने सवारीमा पनि इबोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछौँ ।” 

विभागले माघ पहिलो सातादेखि नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको जनाएको छ । महानिर्देशक घिमिरेका अनुसार अब छिट्टै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ । 

विभागको तथ्यांक अनुसार हाल नेपालमा ३५ लाख ३९ हजार ५१८ सवारीसाधन रहेका छन् ।

‘‘हाल नयाँ दर्ता भएका सवारी साधनहरुमा धमाधम इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ । अब यसलाई वृहदरुपमा कार्यान्वयन गर्न माघदेखि नवीकरण गर्ने सवारी साधनमा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछौँ,” उनले भने । 

महानिर्देशक घिमिरेका अनुसार एकवर्ष समयावधिमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य छ ।
 
विभागले पुराना सवारी साधनको हकमा फागुन १ गतेदेखि नामसारी गर्ने गर्ने सवारी साधनमा पनि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी गरेको छ ।
 
महानिर्देशक घिमिरेका अनुसार नामसारी गर्ने सवारीले फागुन अगाडि नै इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि पाउँछन् । सवारी धनीले इम्बोस्ड नम्बर प्लेटको दस्तुर बुझाए अगाडि नै नम्बर प्लेट जडान गर्न पाउँछन् ।
 
इम्बोस्ड नम्बर प्लेटको स्क्यानरमा चालकको सम्पूर्ण विवरण दिइएको हुन्छ । उक्त विवरण विभागको सर्भरमा सेट गरिएको हुन्छ । यसले सवारी साधन चोरी हुँदा सजिलै पत्ता लगाउन सकिन्छ ।
 
सवारी साधनको कर तिर्न नमान्ने चालकलाई कर तिर्ने दायरामा ल्याउने काममा पनि सहजीकरण हुन्छ । विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने खर्च सवारी साधन पिच्छे फरकफरक तोकेको छ ।
 
मोटरसाइकल र स्कुटरका लागि साढे दुईहजार, तीन पाङ्ग्रे सवारीलाई २ हजार नौ सय रुपैयाँ तोकिएको छ ।  

चार पाङ्ग्रेका तीनहजार २०० रुपैयाँ र ठूला सवारीसाधनका लागि तीनहजार ६०० रुपैयाँ तोकिएको छ । सार्वजनिक सवारीमा पेहेँलो र निजी सवारीमा सेतो अक्षरले लेखिएको नम्बरप्लेट जडान भइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro