काठमाडौं । धादिङ रुबी भ्यालीमा बिहीबार गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीनजना फेला परेका छैनन् ।
रुबीभ्याली गाउँपालिका १ मा बाटो बनाउने क्रममा डोजरसहित तीनजना पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको जानकारी दिए । ‘‘डोजरको केही भाग देखियो । बेपत्ता तीनजनाको अवस्था अज्ञात छ । खोजीकार्य जारी छ,” उनले भने ।
पहिरोमा बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।
पहिरोमा अज्ञात तीनजनाको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रहरी टोली खटाइएको छ ।