काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । दुई बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौतामा आजै हस्ताक्षर हुने भएको हो ।
दुवै बैंकको मर्जर समितिमा भएको छलफलमा सहमति जुटेसँगै त्यसलाई सञ्चालक समितिबाट अनुमोदन गरेर प्रारम्भिक सहमतिमा हस्ताक्षर गर्न लागिएको हो । एनबी बैंकको १०० कित्ता सेयर नबिल बैंकमा ४३ कित्ता हुने गरी स्वाप रेसियो निर्धारण गरिएको छ ।
उद्योगी विनोद चौधरीको लगानी रहेको नबिल बैंकले लामो समयदेखि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न पहल थालिएको थियो । नेपाल बंगलादेश बैंैकको सबैभन्दा ठूलो सेयरधनी आईएफआईसी बैंक सेयर बेचेर बाहिरिन चाहेसँगै उक्त सेयर चौधरीले नै खरिद गर्ने सहमति गरेको दाबी गरिएको छ ।
तर, उक्त सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौताभन्दा पहिले नै आफूसँग सम्झौता भएको भन्दै सनराइज बैंक तथा एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगडलगायत टोली अदालत गएको थियो ।
अदालतले उक्त सेयर बिक्री नगर्न र सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आदेशसमेत दिएको छ । यस्तो अवस्थामा चौधरीको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता गर्न लागेको हो ।