अलजजिरा । पश्चिम युरोपमा दसौँ हजार मानिसहरूले कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने प्रावधानको विरोधमा प्रदर्शन गरेका छन् । फ्रान्समा मात्रै एक लाख भन्दा बढी मानिसहरू सडकमा उत्रिएका छन् । खोप नलगाएका मानिसहरूको अधिकार सीमित बनाउने सरकारको योजना रहेको भन्दै त्यस विरुद्ध र्याली गरेका हुन् ।
फ्रान्सको राजधानी पेरिसमा शनिबार चिसो र वर्षाका बाबजुद अधिकांश मास्क नलगाएका मानिसहरूले ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘भ्याक्सिन पास हुनु हुँदैन’ लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए ।
केही व्यक्तिहरू राष्ट्रपति इम्यानुअल म्याक्रोनले खोप नलगाएका मानिसहरूप्रति प्रयोग गरेको भाषा शैलीप्रति खनिएका थिए ।
फ्रान्सको तल्लो सदनले कोभिड नियन्त्रणसम्बन्धी विधेयक अनुमोदन गरेपछि विरोध प्रदर्शन भएको हो । सो विधेयकअनुसार बाहिर खान, यात्रा गर्न र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पूर्ण मात्रा खोप लगाएको प्रमाणित हुनुपर्नेछ ।
शुक्रबार मात्रै तीन लाख मानिसहरू कोभिड संक्रमित भएका थिए ।
नयाँ प्रावधानहरू ज्यानुअरी १५ सम्ममा लागु भइसक्ने सरकारले अपेक्षा गरेको छ । यद्यपि, सिनेटको विधायिकाहरूले सो प्रक्रियामा ढिलाइ गर्न सक्छन् ।
फ्रान्सको गृहमन्त्रालयले शनिबारको विरोध प्रदर्शनमा एक लाख पाँच हजार दुई सय मानिस सहभागी भएको र त्यसमध्ये पेरिसमा १८ हजार सहभागी भएका थिए । प्रदर्शनमा १० जनालाई पक्राउ गरिएको र तीन जना अधिकारी सामान्य घाइते भएको बताइएको छ ।
यसैबीच, अष्ट्रियाको राजधानी भियनामा ४० हजार मानिसहरूले प्रदर्शन गरेका छन् । अर्को महिनादेखि कोभिड–१९ विरुद्धको खोप अनिवार्य गर्न लागेको छ ।
प्रदर्शन समग्रमा शान्तिपूर्ण भएको प्रहरीले बताएको छ ।
यस्तै, जर्मनीमा झण्डै १६ हजार मानिसहरूले प्रदर्शन गरेका छन् । जर्मनीको हम्बर्ग लगायत थुप्रै सहरमा प्रदर्शन गरेका हुन् ।
इटलीमा पनि विरोध प्रदर्शन भएका छन् । विरोधीहरूले ५० वर्षमाथिका मानिसलाई कोभिड १९ विरुद्धको खोप अनिवार्य गर्ने नियमविरुद्ध प्रदर्शन गरेका हुन् । सोमबारदेखि खोप नलागाएका व्यक्तिहरूलाई सार्वजनिक यातायात एवम् रेस्टुरेन्टहरू प्रयोग गर्न नपाउनेगरी कडा कानुन कार्यन्वयनमा आउँदैछन् ।