स्माइल प्लिज
माझीगाउँ
सेल्फीडाँडामा सेल्फी खिच्न
कहिल्यै जान भ्याएन
जिन्दगीलाई झुन्ड्याएर जिजीविषाको बल्छीमा
माझीगाउँ सुनकोसीमा हेलिइरहन्छ
आफ्नै अनुहार पानीका छालहरूसँग लहराउँदै
एउटा ध्यानमा बसिरहन्छ माझीगाउँ
सेल्फीडाँडामा तेर्सिएका हजारौँ क्यामेराहरू
आधुनिक रहरको भिड जम्मा गरेर खिचिरहेछ सेल्फी
क्यामेराले कहिल्यै खिच्न नभ्याएको माझीगाउँ
उही पुरानो ढुंगामा बसेर मारिरहेछ माछा
झिरमा माछा उनेर जब उक्लन्छ माझीगाउँ सेल्फीडाँडा
सेल्फीडाँडाले भोक मेट्छ
र, उज्यालो बनाउँछ आफ्नो अनुहार
झिर मात्रै बोकेर
घाँटीमा घुँक्कघुँक्कका काँडा अड्काएर
जब ओर्लिन्छ माझीगाउँ सेल्फीडाँडाबाट
उसले सम्झिन्छ छोराको बेलुन खेलाउने रहर
दुःखी फोक्सोमा भरिएको लामो सास
अभावको झिर अल्झिएर प्याट्ट फुट्छ
सुनकोसीले बगायो बल्छी
बल्छीभन्दा बगायो जीवन
तर, छोडिदियो बगरमै माझीगाउँको दुःख
क्यामेराको उज्यालो बढाएर
सेल्फीडाँडाले खिच्यो सेल्फी
र, नार्सिससजस्तो आफ्नै अनुहार हेरेर मुस्कायो
सुनकोसीको किनारमा बसेर
माछा मारिरहेको माझीगाउँको अनुहारतिर फर्केर
सेल्फीडाँडाले कुन दिन भन्ला— स्माइल प्लिज !
० ० ०
मात्र साहस गर
हुनसक्छ–
तिम्रो एक मात्र सन्तान
जसको उपचार गर्न
तिमी यो सब गरिरहेकी छ्यौ
हुनसक्छ–
आफ्नो शिक्षित बन्ने चाहना पूरा गर्न
तिमी यो सब गरिरहेकी छ्यौ
हुनसक्छ–
रोगी लोग्नेको उपचारको लागि
तिमी यो सब गरिरहेकी छ्यौ
हुनसक्छ–
गरिब बाआमाको कोखबाट जन्मेर
ठूलो उद्देश्य लिएकाले
तिमी यो सब गरिरहेकी छ्यौ
अथवा,
सबैले यस्तै गरेको
जताततै यस्तै भइरहेको भएर
तिमी यो सब गरिरहेकी छ्यौ ।
चुपचाप–चुपचाप
आफूलाई असजिलो हुँदाहुँदै पनि
तिमी यो सब गरिरहेकी छ्यौ भने
थोरै साहस गर
रेस्टुरेन्टमा, कार्यालयमा
होटेलमा, मलहरूमा
तिमीलाई सिकाइन्छ मुस्कुराउन
उनीहरू जसको नजिक जाँदा तिमी
आफ्ना तमाम अभाव सम्झेर मुस्कुराउन खोज्छ्यौ भने
अब मात्रै थोरै साहस गर
कफी कुरेर बसेको उसले
कफी नसमाएर
कफी लिएर गएकी तिम्रो हात समाउन खोज्छ भने
थोरै साहस गर
फाइल लिएर गएकी तिम्रो
कम्मरमा छुन खोज्छ भने
थोरै साहस गर
अलिकति चनाखो भएर उसले बोलाएको ठाउँमा जानू
र, फर्किंदा
मुस्काएको अभिनय गरेर केही प्रमाण जुटाउनू
यसका लागि मात्र थोरै साहस गर्नू
बोल्न खोज्नेलाई चुप नगराऊ
बरु, आवाज मिसाइदेऊ
यहाँ यस्तै चल्छ भनेर निराश नबनाऊ
बरु, हिम्मत थपिदेऊ
तेरो कारणले हामीलाई गाह्रो पर्छ भनेर नरोक
बरु, मबाट हुन सक्ने सहयोग गर्छु भन
यहाँ सबै मान्छे दुष्ट मात्रै छैनन्
केही मान्छे
तिम्रो अलिकति साहस पर्खेर बसेका छन् ।