site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक चक्रब्यूहमा ‘एमसीसी’, चुनावी अस्त्र बनाइँदा तत्काल पारित हुने सम्भावना न्यून !

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको राजनीतिक चक्रब्यूहमा परेको छ । संसद्बाट एमसीसी कम्प्याक्ट अनुमोदन गर्नुपर्ने यसको व्यवस्थाका कारण पनि यो विवादित बन्दै गएको छ । सरकारमा रहँदा यसको पक्षमा बोल्ने र सरकारमा नहुँदा ‘वेट एन्ड सी’ को मनस्थिति देखाउँदै तटस्थ बस्ने दलहरुको नियत देखिएको छ । सोही कारण संसद् तत्काल यो विवादको छिनोफानो गरिहाल्छ भन्ने सक्ने अवस्था अझै देखिँदैन ।

त्यतिमात्रै नभएर सभामुख अग्नि सापकोटासमेत पार्टीले निर्णय नगर्दासम्म अघि बढाउने मनस्थितिमा नदेखिएको संसद् सचिवालय स्रोतको दाबी छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन संसद्मा कम्प्याक्ट ‘टेबुलिङ’ गर्न खोजे पनि तत्कालीन सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सहमति नभएको भन्दै रोकिराखे । त्यसपछि सापकोटा सभामुख भएपछि उनले पनि यसलाई अगाडि बढाउन कुनै चासो देखाएनन् । 

तत्कालीन समयमा ओली एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने पक्षमा देखिए पनि उनको दलभित्र भने विरोध थियो । सोही कारण तत्कालीन एमाले नेता झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित एउटा समिति बनायो । उक्त समितिले ‘यथास्थिति’मा एमसीसी पास गर्न नहुने निष्कर्षसहितको सुझाव दियो । तत्कालीन समयमा एमसीसी पास गर्नुपर्ने बताउँदै आएका ओली जब सरकारबाट बाहिरिए त्यसपछि यस विषयमा करिब ‘तटस्थ’को अवस्थामा छन् ।

उनले पहिले सत्ताधारी दलहरुको निर्णयपछिमात्रै आफूहरुले निर्णय गर्ने भन्दै ‘राजनीति’ घुसाएका छन् ।

ओलीले अहिलेको गठबन्धन तोड्ने सर्तमा सरकारलाई सहयोग गर्ने आश्वासन दिए पनि सरकारले भने ओलीको विश्वास गरिहालेको अवस्था नरहेको एक नेता बताउँछन् । 

गठबन्धनमा आवद्ध दलको निर्णयपछि मात्रै एमालेले बोल्ने भन्दै उनी ‘वेट एण्ड सी’ को अवस्थामा छन् । ओलीको यो रणनीति आगामी चुनाव लक्षित भएको कतिपय विश्लेषकहरुले बुझाइ छ । 

विश्लेषक पुरञ्जन आचार्य एमसीसीको विषयमा नेपालीलाई मनोवैज्ञानिक त्रासमा राख्ने काम गरिएको बताउँछन् ।

उनले नजिक आइरहेको तीन तहको निर्वाचन अगाडि कुनै पनि राजनीतिक नेता र पार्टीले यसलाई पास गर्ने ठोकुवा गरे ।

“कम्युनिष्टहरुले यसलाई राजनीतिक अस्त्र बनाउँदैछन्” उनले भने, “अरुण परियोजनाको जस्तै हालत एमसीसी बनाउन खोजिएको छ ।” एमसीसीको विषयमा नेपाली कांग्रेसको पास गर्नुपर्छ भन्ने धारणामा परिवर्तन नआए पनि कम्युनिष्टहरुले पनि धारणा परिवर्तन गरिरहेको उनले बताए । “कम्यूनिष्टको सत्तामा हुँदा र सत्ता बाहिर हुँदा फरक फरक बोल्ने चरित्र नै भयो,” उनले भने ।  

यता, नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सुरुदेखि नै संसद्बाट एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् । तर, सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण देउवासमेत अप्ठ्यारोमा परेका छन् । अर्को गठबन्धन दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सुरुवातदेखि नै एमसीसीको विरोधमा छन् । उनले एमसीसी पारित गराउने खोजिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका छन् । 

माओवादी केन्द्रले दोहोरो चरित्र देखाउँदा पनि देउवा दबाबमा परेको उनी निकट नेताहरुको दाबी छ ।

देउवा गठबन्धन जोगाएर एमसीसी अघि बढाउने पक्षमा छन् गठबन्धनका कतिपय नेताले एमसीसी अघि बढाए गठबन्धन तोड्ने बताएका छन् ।

सरकारले संसद्बाट एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने बताइ रहेपनि दलहरुमा भएको धु्रवीकरणका कारण लामो समयदेखि अमेरिकी सरकारसँग भएको सम्झौता संसद्मै अड्काएको छ । सरकारले २०१९ को सेप्टेम्बरमा नै यो सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, धेरै पटकको संसद् अधिवेशनमा पनि प्रक्रिया नै अगाडि बढाइएन । 

नेपाली कांग्रेस सत्ता बाहिर हुँदा पनि एमसीसी पारित गराउन तत्कालीन केपी शर्मा ओलीको सरकारलाई सहयोग गर्ने बताएको थियो । तर, तत्कालीन समयमा माओवादीबाट सभामुख निर्वाचित महरा र अहिले पनि माओवादीबाटै सभामुख रहेका सापकोटाले सहयोग गरेनन् । केपी शर्मा ओलीले पनि एमसीसीको विषयमा सरकारबाट बाहिरिएसँगै तटस्थ बसेकाले पनि सरकारलाई अगाडि बढाउन अप्ठ्यारो भएको बताइन्छ । विश्लेषक आचार्य भन्छन्, “प्रधानमन्त्रीले पनि पास गर्न सक्नुहुन्न । ओलीजीले पनि संसदमा आएर यसको समर्थन गर्नुहुन्छ जस्तो लाग्दैन किनभने यो ठूलो राजनीतिक एजेन्डा भयो ।” 

विवादसँगै एमसीसी अब विकास वा आर्थिक एजेन्डा भन्दा पनि राजनीतिक एजेन्डा बनेको उनले बताए । “यो राजनीतिक एजेन्डा भयो । अब विकास र आर्थिक एजेन्डा मात्रै भएन । कांग्रेसले सुरुदेखि नै जे भनिरहेको छ, त्यही भनिरहेको छ तर कम्यूनिष्ट नेता एवं दलहरुले खेलिरहेका छन्,” उनले भने । 

यता, अर्थशास्त्री डा. डिल्लीराज खनाल एमसीसी आवश्यक भएको तर विवादित विषयलाई स्पष्ट बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् । “एमसीसीको कतिपय विवादित बुँदालाई स्पष्ट पार्नुपर्छ र संसद्बाट पारित गरी परियोजना अगाडि बढाउनुपर्छ” उनले भने, “एमसीसीमा हाल भएको व्यवस्थामा कत्तिपनि संशोधन आवश्यक नपर्ने भन्ने र परियोजना फिर्ता नै पठाउनुपर्छ भन्ने दुई वटै विचार गलत छ ।” 

एमसीसीका उच्च अधिकारी नेपाल आउँदा भएको छलफलमा अस्पष्ट भएको बुँदाहरुलाई स्पष्ट गराउन तयार रहेको बताएको भन्दै उनले त्यसका लागि काम गर्नुपर्ने उनले बताए । 

तोकिएको समयमा संसद्बाट एमसीसी पास वा फेल गर्ने विषय प्रक्रियामा नै लैजान नसकेपछि सरकारले नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेर परियोजना कार्यान्वयनका लागि थप समय मागेको थियो । 

एमसीसीको म्याद थप्न सरकारले पठायो अमेरिकालाई पत्र

अमेरिकी सरकारले नेपालले नै छानेको परियोजनामा अनुदान सहयोग गर्न लागेको भन्दै आएको छ । नेपाल सरकारले नै छानेको परियोजना भएकाले यसलाई अगाडि बढाउने वा नबढाउने भन्ने दायित्व पनि नेपाल सरकारकै हातमा रहेको अमेरिकाले बताउँदै आएको छ । यद्यपी अमेरिका पनि नेपालबाट एमसीसी फिर्ता नहोस् भन्ने पक्षमा नै रहेको देखिन्छ । सोही कारण बेला बेलामा अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गरेर सरकार एवं दलहरुलाई एमसीसी पास गराउन आग्रह गर्न आएका छन् । 
केही समय अगाडि नेपालस्थित अमेरिकी दूतावासले यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको तर यस अन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने समेत बताएको थियो । 

एमसीसी अनुमदानमा भएको ढिलाइबारे अमेरिकी दूतावासले भन्यो - कोषको उपलब्धता सधैँ खुला रहँदैन

यो परियोजनालाई सौन्य मामिलासँग समेत जोडेर समाचार सार्वजनिक भएपछि दूतावासले १० तथ्य सार्वजनिक गर्दै एमसीसीमा सैन्य मामिमा नजोडिएको जनाएको थियो । 
 

दूतावासले १० तथ्य सार्वजनिक गर्दै भन्‍यो - एमसीसीमा सैन्य मामिला जोडिएको छैन

एमसीसीमार्फत अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने व्यवस्था छ । उक्त रकम ऊर्जा र यातायात विकासका क्षेत्रमा सम्झौता लागू भएको मितिबाट पाँच वर्षभित्र परिचालन गरिसक्नुपर्नेछ । 

यो परियोजना ल्याउन औपचारिक रुपमा २०६८ सालबाटै प्रक्रिया अगाडि बढाइएको हो । यसमा तत्कालिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहित पुर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, स्व. सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीले कुनै न कुनै निर्णय गरेका छन् । 

कुन सरकारको पालामा के भयो ?

–२०७४ भदौ २९, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ मा हस्ताक्षर 
अर्थमन्त्री : ज्ञानेन्द्रबहादुर कार्की
    प्रधानमन्त्री : शेरबहादुर देउवा

–२०७४ भदौ १३, सम्झौतापत्रमा हस्ताक्षर गर्न तत्कालिन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने सम्बन्धमा मन्त्रिपरिषदको निर्णय
अर्थमन्त्री : ज्ञानेन्द्रबहादुर कार्की
    प्रधानमन्त्री : शेरबहादुर देउवा

–२०७४ साउन १०, सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न स्वीकृती
अर्थमन्त्री : ज्ञानेन्द्रबहादुर कार्की
    प्रधानमन्त्री : शेरबहादुर देउवा

–२०७४ जेठ १८, द्धिपक्षीय वार्ता टोली गठन
    अर्थमन्त्री : कृष्णबहादुर महरा
    प्रधानमन्त्री : पुष्पकमल दाहाल

–२०७३ साउन ५, कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नको लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता
    अर्थमन्त्री : विष्णुप्रसाद पौडेल
    प्रधानमन्त्री : केपी शर्मा ओली

–२०७२ भदौ २८ सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता
    अर्थमन्त्री : डा. रामशरण महत
    प्रधानमन्त्री : सुशील कोइराला

–२०७१ चैत २३, पुर्व सचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र तत्कालिन अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन
    अर्थमन्त्री : डा. रामशरण महत
    प्रधानमन्त्री : सुशील कोइराला
–२०७१ माघ एससीसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी प्राप्त
    अर्थमन्त्री : डा. रामशरण महत
    प्रधानमन्त्री : सुशील कोइराला

–२०७० पुस २१ विकासका अवरोध पहिचानका लागि नेपाली अर्थशास्त्रीहरुको समूह गठन
    अर्थमन्त्री : शंकरप्रसाद कोइराला
    मन्त्रिपरिषद अध्यक्ष : खिलराज रेग्मी

–२०६८ माघ २७, एमसीसीसँग समन्वय गर्नको लागि वैदेशिक महायता समन्वय महाशाखाका प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त
    अर्थमन्त्री : वर्षमान पुन
    प्रधानमन्त्री : डा. बाबुराम भट्टराई

–२०६८ माघ ५, नेपाल थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी प्राप्त
    अर्थमन्त्री : वर्षमान पुन
    प्रधानमन्त्री : डा. बाबुराम भट्टराई

एमसीसीमा दुईवटा परियोजना रहेका छन् । काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौंडासम्मको खण्ड, रातमातेदेखि दमौलीसम्मको खण्ड, दमौलीदेखि बुटवलसम्मको खण्ड र बुटवलदेखि भारतको सिमानासम्मको खण्ड अर्थात् करिब ३ सय १५ किलोमिटरको ४०० केभि क्षमताको प्रसारण लाइनहरु तथा रातमाटे, दमौली र बुटवलमा तीन वटा सवस्टेशन निर्माण हुने एमसीए नेपालले जनाएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कुल एक सय किलोमिटर सडको स्तरोन्नती गरिनेछ ।

नेपालमा एउटै परियोजना यो परिमाणको लगानीबाट हालसम्म कुनै पनि आयोजना ५ वर्षभित्र सम्पन्न भएका उदाहरण छैनन् ।

यो आयोजना पाँच वर्षभित्र सम्पन्न हुन नसके फिर्ता जाने चुनौतीयुक्त विशेषता बोकेको एमसीए नेपालले जनाएको छ । नेपालमा यो परियोजना अगाडि बढाउन अर्थ मन्त्रालयका अर्थ सचिवको अध्यक्षतामा संचालक समिति गठन गरिएको छ । बोर्ड सञ्चालक समिति सदस्यमा उर्जा र सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, निजी क्षेत्र र नागरिक समाजबाट एक–एक जना प्रतिनिधि राखिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro