site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा अन्तरजातीय बिहे गरेको भन्दै दलित युवालाई घरबाटै बेपत्ता बनाइयो !

काठमाडौं । हुम्लामा उपल्लो जात (मल्ल) थरकी युवतीसंग प्रेम विवाह गरेको भन्दै एक युवालाई बेपत्ता पारिएको खुलेको छ ।

गत मंसिर २९ गते रातिबाट सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई बेपत्ता पारिएको खुलेको हो । 

चन्द्रेले दुई महिनाअघि मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग प्रेम सम्बन्ध हुँदै अन्तरजातीय विवाह गरेका थिए । उनीहरु विवाहपछि भागेर सर्केगाडस्थित रिप गाउँमा आफन्तकहाँ लुकेर बसेका थिए । 

युवतीका माइतीपक्षले सुरुदेखि नै चन्द्रेको खोजी गर्दै आएको खुलेको छ । दुई महिनापछि चन्द्रेसँग माइतीपक्षको सम्पर्क भएको र आफूहरुले केही नगर्ने भन्दै सम्पर्कमा बोलाएको खुलेको छ । 

उनीहरु सम्पर्कमा आएपछि केटालाई युवती पक्षले निर्घात कुटपिट र अमानवीय शैलीमा लगेको वडाध्यक्ष गोकुल बुढाले बाह्रखरीलाई बताए । सोही दिनदेखि चन्द्रे बेपत्ता छन् । युवती भने माइतीघरमा छन् । 

बेपत्ता भएको चार दिनसम्म चन्द्रेको अवस्था अज्ञात रहेको र घटनालाई तोडमोड गर्न लागिएको वडाध्यक्ष बुढाले बताए । 

उनका अनुसार घटनाको सत्यतथ्य पत्ता नलाग्दै हुम्ला र मुगुका नेताहरु मिलेर घटना मोड्न खोजिँदैछ । 

‘‘केटी पक्षकाले केटा लुकेको होला भन्छन् । गत २९ गते राति १२–१ बजेतिर केटी पक्षकाले केटा र केटीलाई लिएका थिए । केटाको केही कपडा तलको डाँडामा भेटियो भन्ने खबर आएको छ । केटी पक्षका २०–२५ जनाले पछाडि हात बाँधेर लिएर गएको भन्ने सुन्नमा आएको छ । कसरी लुकेको वा भागेको भन्ने ?,” वडाध्यक्ष बुढाले भने । 

अन्तरजातीय विवाह गरेकै कारण केटीपक्षले केटालाई बेपत्ता परेको स्थानीयको आरोप छ । 

वडाध्यक्ष बुढाले भने ‘‘अहिलेसम्म केटाको अत्तोपत्तो छैन । केही नेताहरु मिलाउनु पर्छ भनेर लागेका लाग्यै छन् । मान्छे भेटिएकै छैन । कसरी मिलाउने ? वारि पारीका नेताहरु त्यसै मिल्नुपर्छ भन्छन् । त्यस्तो हुँदैहुँदैन ।”

बेपत्ता कामीले मंसिर ५ गते मल्लको घरबाट केटा र केटीको राजीखुसीमा केटीलाई भगाएर विवाह गरेका थिए । मंसिर २९ गते राति केटी पक्षका २०–२५ जनाको हुलले निर्घात कुटपिट गर्दै चन्द्रेलाई लिएर गएका थिए । 

घटनाको अर्कोदिन कामीका बुवा धनजय कामीले प्रहरीलाई खबर गरेका थिए । निर्घात कुटपिट गर्ने २०–२५ जनाको टोली अहिलेसम्म सम्पर्कमा आएका छैनन् । 

बेपत्ता चन्द्रे कामीका भिनाजु धुनि भियालले अहिलेसम्म अवस्था अज्ञात हुँदा परिवार चिन्तामा रहेको बताए । 

‘‘घटनालगत्तै प्रहरीलाई खबर गरेका थियौँ । हामी केही पनि जान्दैनौँ । बेपत्ता केटा नभेटिँदै भित्रभित्रै मिलाउन खोजिँदैछ । हामीले कहाँबाट न्याय पाउने ?,” भियालले भने । 

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले घटनाको छानबिन गर्न सर्केगार्ड प्रहरी चौकी, श्रीनगर प्रहरी चौकीको टोली, सोरुकोट प्रहरी टोली र हुम्ला प्रहरी डीएसपीको टोली सक्रिय रहेको बताए । 

‘‘अहिलेसम्म पनि केटा बेपत्ता छ । आज केटीका बुबा र केटाका बुबाबीच प्रहरीले छलफल गराउँदैछ । केटीले केटालाई लुकाएको हो भने बाहिर ल्याउनु पर्‍यो । घटनाको अवस्था सार्वजनिक हुनुपर्‍यो,” उपाध्यक्ष धामीले भने । 

जिल्ला प्रहरी कार्यालय हुम्लाले शनिबार डीएसपीको टोली पनि परिचालित गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) हेरम्ब शर्माले अनुसन्धान जारी रहेको जानकारी दिए । 

‘‘केटी माइतीघरमै छिन । केटा बेपत्ता रहेका छन् । केटीको बयानअनुसार केटालाई मारिएको छैन । यद्यपी बेपत्ता पारिएको केटाको खोजीकार्य जारी छ,”डीएसपी शर्माले भने । 

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले प्रहरीले युवतीको बयान लिएको जानकारी दिए । 

‘‘बेपत्ता केटालाई उसैको घरतिर छोडिदिएको केटीले बयान दिएकी छन् । चार दिनसम्म पनि घटनाबारे सत्यतथ्य बाहिर नआउँदा जिल्लाबाटै डीएसपीको टोली खटाएका छौँ । डीएसपीको टोली आज घटनास्थलमा पुग्छ । त्यसपछि थप अनुसन्धान हुनेछ,” प्रजिअ आचार्यले भने । 
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro