पछिल्लो समय युवा पुस्तामा राजनीतिप्रति वितृष्णा र चरम निराशा बढ्दै गएको छ । यस्तो समयमा नेपाली कांग्रेसजस्तो लामो गौरवमय इतिहास बोकेको पार्टीको महामन्त्रीको पदमा तपाईँहरूको विजयले समस्त युवावर्गमा नयाँ आशा र भरोसा सञ्चार भएको छ ।
सर्वप्रथम दुवैजनालाई लोकप्रिय मतले नेपाली काङ्ग्रेसको महामन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई एवं सफल र अर्थपूर्ण कार्यकालको हार्दिक शुभेच्छा !
काठमाडौमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट पार्टीको मुख्य नेतृत्व परिवर्तन हुन सकेन । यसैले गुटगत राजनीतिको दलदलमा भासिएको कांग्रेसमा गुटबन्दी थप चर्काे हुने सन्देह प्रकट भइरहेकाे छ । तर, महामन्त्रीमा भने महाधिवेशन प्रतिनिधिले गुटकाे घेरा नाघेर यहाँहरूलाई विजयी गराए ।
यसबाट गुटको सहारामा नभए पनि जनताको मन जित्न सके कार्यकर्ताले मत लिने चुनावसमेत जित्न कठिन छैन सन्देश सञ्चार भएको छ । विद्यार्थी राजनीतिदेखि नै सहकार्य गर्दै आएका दुवैजनालाई समयले फेरि एकपटक सँगैसँगै बसेर काम गर्ने अवसर दिएको छ ।
यस ऐतिहासिक अवसरलाई खेर जान नदिएर महाधिवेशनताका आफूले गरेकाे वाचा र प्रतिबद्धतामा अडिग रहेर पार्टी र राष्ट्रिय राजनीतिमा सकारात्मक परिणाम ल्याउनु तपाईँहरू सफल हुने विश्वास लिएका छौँ । पुरानो पुस्ताका नेताहरूले परिणाम दिन नसकिरहेकोबेला र देशमा बेथिति, भ्रष्टाचार, कुशासन, कानुनहीनताको स्थितिजस्ता राष्ट्रिय महत्त्वका विषयमा पहिलेजस्तै परिपक्व अडान र स्पष्ट धारणा रहिरहने पनि खपेक्षा राखेका छौँ ।
अवसरले चुनौती पनि निम्त्याउँछ । व्यापक गुट र भागबन्डाको घीनलाग्दाे राजनीतिमा फसेको कांग्रेसलाई विधि र पद्धतिमा चल्ने तथा छर्लङ्ग देखिने एवं सुनिने पार्टी बनाउने चुनौती तपाईँहरू दुईजनाको काँधमा आएको छ।
गगन र विश्वप्रकाश पनि अहिलेका पहिलाे पुस्ताका नेताहरुजस्तै गुटगत एवं स्वार्थको राजनीतिमा रुमलिन पुग्ने हाे भने लाखौं युवाको सपना र हजारौं महाधिवेशन प्रतिनिधिले देखाएको भरोसा एवं विश्वास ढल्न जानेछ । यहाँहरूले भनेजस्तै रूपान्तरित कांग्रेस र समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणालाई साकार पार्न निरन्तर जिम्मेवारी बोध गर्दै आफ्नाे दायित्व निष्ठापूर्वक जिम्मेवार भएर विवेकी भएर पूरा गर्नुपर्छ ।
शिक्षा, स्वास्थ्य, बेरोजगारी, शासकीय बेथिति विसंगतिजस्ता विषयहरुमा यहाँको निरन्तर पहरेदारी रहिरहोस् । राजनीतिमाथि लागेको कलंकको दाग मेटाउने राम्रो अवसर यहाँहरुलाई इतिहासले प्रदान गरेको छ । त्यस अवसरको समुचित प्रयोग गरी देश र जनतालाई केन्द्रमा राखेर पार्टीभित्रको विसंगति, गुट, उपगुट एवं अव्यवस्था परास्त गर्न निरन्तर पहरेदारी र खबरदारी गर्नुहुनेछ भन्ने विश्वास छ । अनिमात्र हजारौं युवाको प्रतिनिधित्व भएकाे चरितार्थ हुनेछ । (बुटवल)