नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुनः शेरबहादुर देउवा नै निर्वाचित भए । कांग्रेसमा इतर र भितर वा संस्थापन वा संस्थापन इतर भन्ने विभाजन पहिलेदेखि कायम भएको हो र यो विभाजन समूहको नाम पनि फेरि फेरिएको छ । भलै, यी पंक्ति लेख्दासम्म सभापतिबाहेक अरु पदाधिकारी, सदस्यको परिणाम आउन बाँकी छ ।
पहिले कोइराला समूहलाई संस्थापन र अर्को समूहलाई इतर भनेर चिनिने विभाजन यसपटक संस्थापन इतरलाई पौडेल समूहको संज्ञा दिइयो । यही नामलाई नेपालका सञ्चार माध्यमले पनि अग्र स्थान दिए । पहिचान दिन वा छुट्याउन जो स्वाभाविक लाग्छ । कुनै न कुनैरुपमा समूहको पहिचान नेपाली कांग्रेसभित्र लामो समय रहने संकेत छ ।
पहिले कोइराला, अनि पौडेल समूह भनी चिनिने, त्यही रुपमा कार्यकर्ताको चिनारीलाई पनि विभाजित गर्ने वा पक्षपात र तेरोमेरोको कित्ताकाट गर्ने चारपाँच वर्षको समूह विभाजनको नाम यो अधिवेशनको नतिजासँगै परिवर्तन भएको छ । अब कोइराला समूहको पहिचान स्थापित हुने क्रममा देखिन्छ । यत्ति हो पहिलेको कोइराला समूह ‘संस्थापन’ थियो अहिले ‘इतर’ ।
अब पौडेल समूह रहेन, त्यो हिजो भयो र गयो । अब उदायो कोइराला समूह । बीपीका भाइ केशव कोइराला र कांग्रेस नेतृ नोना कोइरालाका पुत्र शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका कारण उनको समूह स्थापित हुनेभयो ।
शेरबहादुर देउवाको जित पूर्व अनुमानित हँुदै अन्तिम दिनतिर आइपुग्दा करिब निश्चित नै देखिएको थियो । पार्टी महामन्त्री तथा शेखरका भाइ शशांक कोइराला र शेखरकै बहिनी सुजाता कोइरालाको तटस्थताले सभापति देउवाको पुनः विजयलाई बताएकै थियो । नेता रामचन्द्र पौडेलको ‘योगदान’ पनि देउवालाई जिताउन उपयोगी रह्यो ।
अन्ततः पहिलो चरणको मतदानमा तेस्रो, चौथो र पाचौं भएका उमेदवारहरुले पनि सभापति तथा प्रधानमन्त्री देउवालाई खुला समर्थन दिएपछि त परिणाम झन् प्रस्टै भएको हो । सरकारी वा पार्टीसत्ताको प्रक्रिया मिलाउन वा हिस्सेदारी गर्न अत्यन्त कुशल मानिने देउवाको चमत्कार यसपटक पनि देखियो ।
नयाँ वा नेतृत्व परिवर्तनको जाग्रत नारा दिएर अघि बढेका कांग्रेस कार्यकर्ताले परिणामपछि कोइराला समूह वा बन्धुहरुबीच नै एकता नहुनुलाई पराजयको कारण भनेका छन् । त्यस्तै पौडेल समूहको नेतृत्वमा रहेका रामचन्द्र पौडेलको अन्तिम भूमिका पनि शेखरको पराजयको कारण बन्यो भन्ने टिप्पणी व्यापक रहेको छ ।
अब त पूर्व भन्नुपर्ला महामन्त्री शशांक कोइराला र पूर्व केन्द्रीय सदस्य शेखर कोइरालाले आफूहरुले पारिवारिक विरासतको राजनीति नगरेको बारम्बार यसअघि बताएकै हुन् । बीपी हाम्रो मात्रै ‘लिगेसी’ होइन, नेपाली कांग्रेस र कांग्रेसका सबै नेता,कार्यकर्ताको लिगेसी हो । हामीले मात्र बीपीको बिरासत(लिगेसी) को दाबा गर्नु ठीक होइन, शेखर शशांकले बारम्बार भनेकै हुन् ।
काठमाडौंमा सम्पन्न महाधिवेशनमा कोइरालाहरुको आपसी तटस्थताले पनि त्यस्तै छनक देखायो । कोइराला दाजुभाइले पितापूर्खाको योगदानको उपलब्धि वा बिरासत आफ्नोमात्रै हो भन्ने दाबा गरेनन् । बीपी कोइरालाको बिरासत सिंगो कांग्रेस, देश, प्रजातन्त्र र जनताको हो भन्ने मान्यता वा सन्देश स्थापित गरिदिए । भलै, शेखरले पराजय बेहोरे ।
सुनिन्थ्यो, पहिले नेतृ सुजाता कोइरालाले दाजु शेखर र भाइ शशांकलाई मिलाउन निकै प्रयत्न गर्नुभएको थियो । मिलाउने भनिएको उहाँको प्रयत्न ‘लिगेसी’ पारिवारिक निरन्तरतामा अघि बढोस् भन्ने प्रकारको सुनिन्थ्यो । महाधिवेशनसम्म आइपुग्दा सुजाताले पनि ‘लिगेसी’ मोह आफ्नो मात्रै होइन समग्र कांग्रेस र देशको हो भन्ने सन्देश दिएको अर्थ निकाल्न मिल्छ । दाजुभाइबीचको तटस्थताले सिर्जित गरेको बाध्यता नै उनले स्वीकार गर्नुपरेको किन नहोस् ।
कांग्रेसको यात्रा अब कसरी अगाडि बढ्ला ? अनुमान, आशंका र विचार गर्न मिल्छ । सभापति देउवा नेपाली राजनीतिका खारिएका पात्र हुन् । उनकोे अघिल्तिर चुनौतीको पर्खाल खडा छ । यसअघि निर्मित पार्टीका गुट, उपगुट र भुरे गुटहरुको पुनर्संरचना हुने सम्भावना पनि छ ।
पुनः सभापति बन्न उनले जोजससँग छद्म सौदाबाजी गरेका छन् त्यसको पूर्ति नहुँदा ती आशावादीहरु निराश हुनेछन् । जस्तै १३ औँ महाधिवेशनमा दिइएको वचनअनुसार आफूलाई सभापति बन्न नदिइएको कारण निराश पूर्व उपसभापति विमलेन्द्र निधिले देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए ।
आशामुखी तिनीहरुको चित्त बुझाउनु र नेपाली कांग्रेसका सबै कार्यकतालाई अपनत्व बोध गराउनु पार्टीभित्र सभापति देउवा अघिल्तिरको सबैभन्दा गम्भीर चुनौती हो । वैचारिक, सैद्धान्तिक र नैतिक राजनीतिमा कमजोर रहे पनि सत्ता, शक्तिमा पौडी खेल्ने व्यावहारिक राजनीतिमा माहिर देउवाले यो नबुझ्ने कुरै भएन ।
पार्टी सभापतिको हैसियतमा चुनौतीको सामना जति कठिन छ त्यसभन्दा बढी राष्ट्रिय राजनीतिको जटिलता पनि प्रधानमन्त्री देउवा सम्मुख छ । यो उमेरमा यस्ता सबै चुनौती सामना गर्न तत्पर रहनु देउवाभित्रको ठूलो हिम्मत र इच्छाशक्ति हो भनी मान्न सकिन्छ । यो अवसर उनका लागि अन्तिम हो भन्दा सायदै अन्यथा होला । तर, कांग्रेसको लागि उनको यो अन्तिम अवसर कस्तो भविष्य बन्ने हो ? त्यो भने कार्यकर्ता, संगठन र जनताले हेर्न, बेहोर्न बाँकी छ ।
भनिहाल्नुपर्छ, म अर्थात् पंक्तिकार कुनै भविष्य वक्ता ज्योतिषी होइन । उनको अवसरलाई अन्तिम ठोकुवा गर्ने वा अरु कैयौं पटक यस्तो अवसर उनलाई प्राप्त हुने बताउन सक्षम भविष्यद्रष्टा हैसियत पनि मेरो छैन । यो सबै ज्योतिषीहरु नै जानून् ।
परन्तु, २००३ सालमा जन्मिएका ७५ बर्षीय देउवाले आफ्नो अवसर चाहिं पहिचान गरेका छन् भन्ने मान्यतामा उनको यसपटकलाई अन्तिम अवसर मान्ने धृष्टता गरेको हो । देउवालाई हिजो जति सहज अब छैन भन्ने लाग्छ ।
शेखर कोइरालाको पराजय वा उदयले भागबन्डाको राजनीतिलाई प्रोत्साहित गर्नेछैन । उनका पूर्व भनाइ सुन्दा र यसअघिकै व्यवहार अनुभूति गर्दा समेत भागबन्डामा उनी लिप्त रहने छैनन् । भागहिस्सामा पर्न चाहनेहरु उनीबाट निराश भए अनौठो मानिनेछैन । कोइराला शेखरले विचार र नैतिक राजनीतिलाई अनुसरण गर्ने छनक दिइसकेका छन् । सभापति देउवाको भागबण्डा शैलीमा वैचारिक राजनीति प्रतिलोम बन्नसक्छ ।
शेखर कोइराला आफ्नो पूर्व व्यक्त मान्यताको परीक्षणको घडीमा छन् । परीक्षण प्राप्त देउवा पनि अन्तिम अवसरलाई स्वर्णीम बनाउन चाहन्छन कि ? हेर्ने पनि यसैपटक हो । यस्तो इच्छा देउवामा हुनसक्छ । उनी नेता गिरिजाप्रसाद कोइराला प्रशिक्षित राजनीतिक पात्र पनि हुन् ।
देउवाले आफ्नो दायित्व र शेखरले आफ्नो भावी योगदानको अवसरलाई निश्चय पनि पहिचान गरेका छन् । नेपाली राजनीतिमा सक्रिय अन्य केही पात्रको राजनीतिले भने यहीँ कतै विश्राम पाएको तस्बीर देखिँदैछ ।
सभापति देउवालाई कांग्रेसका सबै कार्यकर्ताको सभापति बन्ने अन्तिम मौका हो । हिजो जे भयो, इतिहासको तीतोमीठो बन्यो ।
यो अवसर देउवाको लागि सिंगो कांग्रेसको अभिभावक र संरक्षक बन्ने हो । गुट, उपगुट र भुरे गुट अन्त्य भएको सन्देश वा व्यवहार देखाउने अवसर पनि । तर, पार्टी चुनाव जित्न भुरे गुटहरुको समीकरण गरेका देउवाले उत्कृष्ट पहिचान र उल्लिखित किसिमको योगदान गर्न पहिले नै भावी कदममा नेल लगाइसकेको देखिन्छ ।
त्यस्तै सन्निकट स्थानीय तह र संघीय संसद्को चुनावमा नेपाली कांग्रेसलाई आफैँले घोषणा गरेअनुरुप बहुमत दिलाउनु पनि उनको चुनौती र अवसर दुवै हो । भनिएको अन्तिम अवसर सभापति तथा प्रधानमन्त्री देउवाको लागि स्मरणीय नेता बन्ने अवसर पनि हो र मुलुकलाई अभिभावकीय अनुभूति दिने अन्तिम अवसर पनि ।