काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरूले ‘जिप क्लब नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।
काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’ मा जिपका उत्साहीहरूले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरूले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्ने जनाइएको छ ।
“जिप एसयूभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरू आयोजना गर्नेछौँ,” जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभकृष्ण मल्लले भने ।
त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत सुदीप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरूको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरू गर्ने बताए । “जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,” उनले भने ।
नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सीईओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए ।