काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा मनोनयनका लागि प्रस्ताव गरेका नामप्रति एमालेभित्र असन्तुष्टि सुरु भएको छ । पार्टीभित्र छलफल नै नगरी नाम प्रस्ताव गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
अष्टलक्ष्मी शाक्यले पार्टीभित्र छलफल र सल्लाह नै नहुनु अन्याय भएको बताइन् । “कस्तो मुल्यांकन हो , मुल्यांकन परिपाटी अपनाउनु पर्छ । हिजो पनि थिएन र आज पनि देखिएन,” उनले भनिन्, “अध्यक्ष कमरेडले छलफल सल्लाह गर्नु भएको भए सजिलो हुन्थ्यो ।”
युवराज ज्ञवालीले पनि ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै मापदण्ड बनाएर निर्णय गरिनु पर्नेमा जोड दिएका छन् । “चित्त बुझाउने ठाउँ दिनु पर्छ । यो १९ जनाको टिम बसेर सल्लाह गरौँ । रातदिन छलफल गरौँ । संस्थागत निर्णय गरौँ,” उनले भने, “छलफल गरिएन । सामुहिक नेतृत्वको आधारमा पार्टी चलाउनु पर्छ ।”
पार्टी पोलिटब्युरोमा पनि अध्यक्ष ओेलीले मनोनयनको प्रस्ताव गरेका छन् । उक्त प्रस्तावित नाममा पनि बैठकमा नेताहरुले असन्तुष्टि जनाएका छन् ।