काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक प्रहरीले तत्काल जरिवाना तिरी कागजपत्र लिन पाउने व्यवस्था सुरु गरेको छ ।
ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेको अवस्थामा आजदेखि थप सेवा सञ्चालन गरेको हो ।
सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें पूर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट– इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको सुरुवात गरेका हुन ।
एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि लागू गरिएको बताए ।
पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँचवटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमश: अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरूले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।