site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
कांग्रेसजन इतिहासको फरक छुट्याऊ !

नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि २४ गते शुक्रवार राजधानी काठमाडौंमा आरम्भ हुने भएको छ । घोषित मिति बारम्बार परिवर्तन गरेको कांग्रेसले अब भने महाधिवेशनको मिति नसार्ने देखिएको छ । अकल्पनीय खण्डखातिर बेग्लै कुरा भयो । 

क्रियाशील राजनीतिक दलहरुमा सबैभन्दा अग्रज एवं सैद्धान्तिक मान्यतामा सधैं अडिग छवि बनाएको कांग्रेस कस्तो हुनुपर्नेमा भयो कस्तो ? योे बहस यतिबेला विभिन्न कोणबाट उठे, उठाइएका छन् । पार्टीमा आन्तरिकसमेत, चासो राख्ने वाह्य समाज पनि कांग्रेसलक्षित बहसमा सहभागी छ । नजिकैका आँखा र अन्तर्राष्ट्रिय दृष्टि पनि छ । 

सात दशक लामो सक्रिय ऐतिहासिक यात्रामा सदा झैँ यसपटक पनि महाधिवेशन सम्मुख आएका विचार र व्यक्त सामाजिक अपेक्षालाई वर्तमान कांग्रेस नेतृत्वले कसरी ग्रहण गरेको छ ? बुझ्न सहज छैन । बुझ्ने विचार र प्रदर्शित व्यवहारले हो । त्यो अहिले ३६ को आँकडाको आकारजस्तो छ । 

KFC Island Ad
NIC Asia

नेतृत्व तहका सबैको बुझाइ र गराइमा छत्तीसको आँकडा छ भन्न नमिल्ला । नेतृत्व पंक्तिमा सामेल तर थप माथि जाने नेतृत्व आकांक्षी ऊर्जाशील पुस्ताका प्रतिनिधिले आफ्नो पार्टीको विषयमा आएका विचार र बहसलाई गम्भीर हेराइमा राखेको हुनसक्छ । विचार र व्यवहारमा समन्वय, सन्तुलन राख्नुपर्ने प्रेरणा ग्रहण गरेको पनि हुनसक्छ, जसको प्रमाण आगामी दिनमा पाइनेछ । 

यही प्रसंगमा नेताका अभिव्यक्ति र क्रियाबीच तादात्म्य कस्तो देखिन्छ भन्ने प्रश्नको तुलनात्मक अनुभव सान्दर्भिक लाग्छ । कुनै पनि नेताले अभिव्यक्ति सकभर सुन्दर नै दिने कोसिस गरेको सुनिन्छ । कतिपय सन्दर्भमा आफ्नै अनुभव उद्धरण गर्दा नेताका भाषण र विचार सुन्दा आल्हादित भइएको छ । तर, नजिकबाट व्यवहारको स्वाद चाख्दा भने उल्टो र तीतो अनुभूति भएको छ ।       
कांग्रेस महाधिवेशनको विषय रहेकाले अन्य दलको किन कुरा गर्ने ? तिनीहरु पनि त्यस्तै, अझ तल्लो दर्जाका छन् भन्न मिल्छ । कांग्रेसका सबै हैन सान्निध्य पाएकामध्ये केही नेताको सार्वजनिक भाषण वा विचारमा कार्यकर्तालाई गुटमा नलाग्न आग्रह गरेको सुनिन्छ । खासगरी पार्टी सम्बद्ध कार्यक्रममा राम्रोलाई राम्रो भन्ने र खराबलाई आलोचना गर्ने खरो एवं निडर कार्यकर्ता हुनुपर्छ भनिन्छ । 

Royal Enfield Island Ad

भाषणमा असल आचरणको शिक्षा सुनाइन्छ र पार्टीमा तेरो, मेरो होइन, हाम्रोभन्दा राम्रो कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने मान्यता व्यक्त गरिन्छ । कार्यकर्ताको मूल्यांकन हुने ढाढस दिइन्छ । कसैले पनि पार्टी सम्बद्ध आन्तरिक कार्यक्रममा व्यक्त नेताको मन्तव्य सुन्ने सहभागीले यसभन्दा विपरीत वा अर्को प्रकारको स्वर बिरलै सुनेका होलान् । 

गुञ्जिएको यति मीठो स्वरले उत्तेजित त्यहाँका स्रोता ताली पिट्न जुरुक जुरुक देखिन्छन् । तर, अब फर्कौं केही त्यस्ता नेताको भनाइ पछिको भोगाइको व्यथा व्यक्त गर्नेहरुको गथासोतर्फ । भोक्ताहरु भन्छन्– ‘नेताहरु भन्छन् एकथोक, गर्छन् अर्कै थोक । लेख्छन्, बोल्छन् एकथरी काम गर्छन् अर्कैथरी ।’ राजनीति र नेताप्रतिको अविश्वासको पहिलो जड यही भनाइ र गराइमा भिन्नता वा उल्टो पाइनु र देखिनुबाट नै हो । 

नेपाली नेतामा यस्ता उदाहरण बग्रेल्ती पाइन्छन् । तिनको विचार पढौँ, सुनौ । व्यवहार हेरौँ, बुझौँ र भोगौँ । आफैं छर्लङ्ग होइन्छ । विद्यार्थीलाई दिइने ‘फरक छुट्याऊ’ भन्ने तरिकाको प्रश्नोत्तर बोध गर्न सकिन्छ, एक प्रकारको बुद्धत्व । 

व्यक्ति केन्द्रित, पदासीन नेताका नाममा गुट, उपगुट र भुरे गुटहरु किन जन्मिए ? गुटहरु केन्द्रमा पनि छन् र स्थानीय तहमा पनि छन् । स्थानीय पदासीन नेताको नाममा पनि गुट बनाइएको छ । जहाँ सक्यो त्यहीँ गुट जन्माइएको छ ।  किन यस्तो भयो ? के ती नेताले दिएको आदर्श भाषणको अनुसरणले गुट भएका हुन् ? कि तिनै नेताको व्यवहारको कारण व्यक्ति केन्द्रित गुटहरुको जगजगी बढेको हो ? तेरो, मेरोको पक्षपात र अन्याय गर्ने नेताकै व्यवहारका कारण गुटहरुको लाम लागेको हो । 

विचार समूह होइन, व्यक्ति गुट जन्माइएका छन् । नेताहरु आफैँलाई विचार ठान्न थालेका छन् । विचार र आफूबीचको भिन्नता उनीहरुलाई ‘भालुको के रौँ, के आँखी भौँ’जस्तै बोध हुन थालेको आभास हुन्छ । ब्रह्मास्मि अहङ्कारले नेतृत्वको गुरुत्व धान्न सकेको छैन । फलतः देशको राजनीति विकृतिको पेटारो भएको छ । 

सम्झनाबाट एउटा घटना उधिन्दा – कार्यक्रम थियो प्रजातान्त्रिक विचार समाजको । प्रमुख अथितिदेखि अथिति सबै नेपाली कांग्रेसका शीर्ष नेता । स्रोता अधिक प्रजातन्त्र समर्थक, स्वतन्त्रता प्रेमीहरु । सामाजिक भाषामा बुद्धिजीवी भनिने धेरै । भीषण भाषण चल्यो, अर्ति उपदेशका कुरा, तर्कको बौछार र उन्नत संस्कारको अभिव्यक्तिले सभाहल गद्गद् उठ्यो ।

कार्यक्रम समापन भयो । बिहानी भोजनको बेला, भाषणमा उचाइ सगरमाथाकै दिने नेता । शालीन लाग्ने र केही खुल्नसक्ने भएर मैले उनैलाई सोधेँ – दाइ तपाईँले अघि दिएको भाषण जस्तै मैले वा कसैले व्यवहार निर्धक्क गरे के तपाईँ क्षमा दिनुहुन्छ ? विनापक्षपात सँगै समेट्नु हुन्छ ? उत्तर शब्दमा पाइन, केबल मृदु मुस्कान । तेरो, मेरोबीच उनको व्यवहार हेरिरहेको छु र स्वच्छ सगरमाथा झैं चम्किने भाषण अझै सुनिरहेको छु । यस्तै छ नेपाली नेताको चारित्र, व्यवहार । 

नेताहरुले गुट, उपगुट र भुरे टाकुरे गुटहरुमा छियाछिया पारेको नेपाली कांग्रेसमा अर्को समूह विभाजन गरिँदैछ । त्यो स्वाभाविक लागे पनि अस्वाभाविक परिणामदायी हुनसक्छ । तरुनो र बूढो समूह विभाजन । यस्तो विभाजनले तरुनोप्रति इष्र्या र बूढोप्रति घृणाभाव बढाउने जोखिम देखिएको छ । 

नेपाली कांग्रेसको महाधिवेशनसँगै अत्यन्त चर्चामा आएको छ यो समूह विभाजनको बहस । बहस ठीक तर शैलीे बेठीक । केही माग्छन् नेतृत्वमा पुस्तान्तरण, केही भन्छन् रुपान्तरण । तर, भनेको सुनिदैन –‘पुस्ता संयोजन र विचार संयोजन वा सम्मिलन ।’ 
 ‘अनुभव र ऊर्जाको लगनगाँठो कसौँ’ भनेको कतै घन्किँदैन । घर, परिवार, संस्था, संगठन सबैमा हुन्छ यस्तो लगनगाँठो अर्थात् वयको सिलसिला । स्वाभाविक विषयलाई अस्वाभाविक बनाइनु हुँदैन । पुस्तान्तरण कसैले रोक्न वा छेक्न सक्छ ? त्यो त पानी बगेजस्तो न हो, गतिको भिन्नता हुन्छ, लय हुन्छ । लयमा प्रयत्न हुनुपर्छ । बस् । 

कांग्रेसमा पुस्तान्तरणलाई चिनौ त । नेतृत्वको तह वा लहर भर्याड.्को सिँढी वा किताबको खातजस्तो लहरै देखिन्छ । माथिदेखि तल, तलदेखि माथि । उदाहरणमा हेरौँ त गगन थापाको कोही अरु नेता, अरुलाई उनै गगन नेता । होइन त ? 

रुपान्तरणलाई पो बल गर्न मिल्छ, धक्का दिन सकिन्छ । विचारले रुपान्तरण, विचारमा रुपान्तरण र व्यवहारमा परिष्कारबाट थोत्रो शैली फाल्न सकिन्छ । कांग्रेस पुस्ता, विचार र व्यवहारको संयोजन हो । यसका लागि ऊर्जा चाहिन्छ । ऊर्जा युवामा बढी हुन्छ, जीवन पनि । ठूलो मुढो पनि बाल्ने, सल्काउने त झिँजाले न हो । 

गुट उपगुटले थिच्दै लगेको राजनीतिलाई खर्चिलो चुनावी तरिकाले थप बोझिलो बनाएको छ । गुट भत्काउन र मितव्ययी निर्वाचन मतदान प्रक्रियाको लागि वैकल्पिक तरिका अपनाउन सकिन्छ कि ? यसपटक नभए पनि आगामी दिनलाई ? समूह विभाजन कटुतामा होइन, मित्रतामा भन्ने सन्देश दिन सकिन्थ्यो कि ?     

नेपाली कांग्रेसको महाधिवेशनमा यी, यस्ता विषयमा चर्चा हुनुपथ्र्यो । देशमा थपिँदा समस्याको निदान र समाधानका उपाय खोजिनु पथ्र्यो, संस्थागत भाषा बोलिनु पथ्र्यो । तर यसपटक ‘हलुवामा बालुवा’ मिसिएजस्तै देखिएको छ कांग्रेसको हविगत । 
गाउँगाउँबाट आएका कार्यकर्ताले कांग्रेस विचार सुन्न नपाउने । नीति बुझ्न नपाउने र आफ्नो जिज्ञासा जस्ताको तस्तै झोला बोकेर घर फर्कनुपर्ने । विचारको खुराक छैन । महाधिवेशन प्रतिनिधि आऊ । दाल, भात, तरकारी, मासु, अचार खाऊ । नेताहरुको तामझाम हेर । हात जोड, जय नेपाल भन । तिमी कार्यकर्ता हौ, दोस्रो दर्जाको ।   

कस्तो हुनुपर्ने कांग्रेस? कस्तो भयो ? यो सबै नेतालाई जिम्मा लगाऊ । उम्मेदवारलाई भोट खन्याऊ । जय नेपाल । घर फर्क जाऊ । अरु किन जान्नु पर्यो र ? यही हो नेपाली कांग्रेस? राजधानी उपत्यका घुम हेर । यात्रा सदुपयोग गर । महाधिवेशनमा आएका कार्यकर्ताले बुझ्ने यत्ति हो ? भिडमा बुझिने कांग्रेस कस्तो ? 

हिजो विचारको सर्जक र प्रसारक, नेपाली कांग्रेसको महाधिवेशनमा आएका प्रतिनिधिले अहिले इतिहासको  फरक छुट्याऊ, अतीतको भेउ पाऊ र भावी दिनको तर्कना गर । यत्ति भए गनिमत !  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro