काठमाडौं । समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन नसकेको १८ वर्षपछि यो पहिलोपटक हो ।
समूह ‘ई’ को तेस्रो स्थानमा रहेपछि बार्सिलोनाले अब युरोपा लिगको प्लेअफ खेल्नेछ । सोही समूहको दोस्रो स्थानको बेनफिकाले डाइनामो किभलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गर्यो ।
लियोनल मेसीले अंग्रपंक्तिको नेतृत्व गर्नुका साथै पेप ग्वार्डिओला प्रशिक्षक हुँदा बार्सिलोनाले २००८ देखी २०१२ सम्म असाधारण प्रदर्शन गरेको थियो । तर, यो सिजन बार्सिलोनाले अकल्पिनीय खराब प्रदर्शन गर्यो । समूह चरणको पहिलो खेलमै बायर्नसँग घरेलु मैदानमा ३–० ले हार्यो । दोस्रो खेलमा पनि बेनफिकासँग ३–० ले नै पराजित भयो । बेनफिकाविरुद्धको दोस्रो लेग गोलरहित बराबरी खेल्यो । डाइनामो किभसँग भने बार्सिलोना दुबै लेगमा १–० ले विजयी भएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगमा दुई गोल गरेको छ भने ९ गोल खाएको छ ।
‘‘हामी शून्यबाट नयाँ युगको सुरुआत गर्न गइरहेका छौं । हामी कडा मिहिनेतका साथ बार्सिलोनालाई उकास्ने छौं । बार्सिलोनालाई सम्मानित स्थानमा पुर्याउनेछौं । त्यो भनेको च्याम्पियनस लिगको उपाधि हो,’’ बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘‘यो हाम्रो वास्तविकता हो । हामी च्याम्पियन्स लिगबाट बाहिरिएका छौं र युरोपा लिगमा पुगेका छौं । जुन बार्सिलोनाले खेल्ने लिग होइन ।’’
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना २००३÷०४ को सिजनपछि पहिलो पटक अन्तिम–१६ मा स्थान बनाउन असफल भयो । त्यतिबेला बार्सिलोना स्पेनिस ला लिगामा खराब प्रदर्शन गरेका कारण च्याम्पियन्स लिगमा स्थान बनाउन सकेन र युईएफए कपको खेलेको थियो ।
बायर्नसँगको हारले यसअघि नै वित्तिय संकटमा रहेको बार्सिलोना थप समस्यामा पर्न सक्छ । यससँगै बार्सिलोनाले आकर्षक पुरस्कार राशी र सम्भावित प्रयोजक गुमाउने छ । बार्सिलोना अहिले घरेलु लिगमा पनि सातौं स्थानमा छ । लिगमा पनि प्रदर्शनमा सुधार आएन भने बार्सिलोनाले अर्को सिजन पनि च्याम्पियन्स लिग गुमानेछ ।
‘‘बार्सिलोना यो अवस्थामा आइपुग्नुमा धेरै कारणहरु छन् । तर हाम्रो सत्यता नै यही हो । हामीले कडा परिश्रम गर्नुको विकल्प छैन । यसभन्दा बढी म केही भन्न सक्दिनँ,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘‘अब हामीले युरोपा लिग जित्नुपर्छ । ला लिगामा माथि आउन पनि मिहिनेत गर्नुपर्छ । हामीले कोपा डेल रे जित्नुपर्छ । सुपर कप जित्नुपर्छ । बार्सिलोना त्यसको हकदार छ । हामीलाई खेलाडीको चोटले समस्या बनाएको छ । सम्भवत यो जनवरीमा केही नयाँ खेलाडी अनुबन्ध गर्नेछौं । हेरौं के हुन्छ ।’’
बार्सिलोना जर्मन बुन्डेलिगाको क्लब बायर्नसँग २०२० पनि ८–२ ले पराजित भएको थियो । गएराति पनि बार्सिलोनाले विपक्षी पोष्टमा दुई वटामात्र गतिलो प्रहार गर्न सफल भएको थियो । घरेलु टोली बायर्नले ३४औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । ४३औं मिनेटमा लेरोए सानेले अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा जमाल मुसिलाले तेस्रो गोल थपेका थिए ।
कोभिड–१९ को नयाँ भेरियन्टका कारण खेल खाली रंगशालामा खेलाइएको थियो । बायर्नले यसअघि नै अन्तिम–१६ स्थान पक्का गरिसकेको थियो । जितसँगै बायर्नले समूह चरणका सतप्रतिशत नतिजा निकालेको छ । जारी सिजन लिभरपुल र आयाक्सले मात्र समूहको सबै ६ जित्न सफल भएका थिए ।
च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाउने बायर्न जर्मनीको एकमात्र टोली हो । जर्मनीका बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, उल्फ्सबर्ग समूह चरणबाटै बाहिरिएका छन् । यसअघि २०१७÷१८ को सिजनमा पनि बायर्नले मात्र अन्तिम–१६ मा स्थान बनाएको थियो ।
समूह ‘ई’ बाट पोर्चुगलको बेनफिकाले दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भयो । जर्मनीको अर्को क्लब उल्फ्सबर्ग भएको समूह ‘जी’ बाट लिल र साल्जबर्गले नकआउट चरणमा स्थान पक्का गरे । स्पेनको सेभिया र उल्फ्सबर्ग प्रतियोगिताबाट बाहिरियो ।