आफ्नो पेसामा सफल व्यक्ति अर्को काममा विशेषगरी राजनीतिमा किन आकर्षित हुन्छ ? देश वा मानव समाजप्रतिको दायित्वबोधले हो ? नेपालका सफलतम व्यवसायीे मानिएका विनोद चौधरी अहिले नेपाली कांग्रेसकोे राजनीतिमा सक्रिय छन् । किन ?
उनको उत्तर छ – ‘म राजनीतिबाट जति जति पर भाग्न खोजे पनि राजनीति मबाट कहिल्यै टाढा हुन चाहिरहेको छैन । राजनीतिसँग मेरो बारम्बार जम्काभेट भइरहन्छ ।’
राजनीतिमा उनको यो जम्काभेट विगतको कथा हो ।
अहिले त उनी राजनीतिसँग अंगालो नै हालेर बस्न थालेका छन् । अब उनीसँग राजनीतिबाट भाग्ने र कुइनेटोमा मात्र जम्काभेट हुने सुविधा सकिएको छ । लाग्छ, अब उनी कि त राजनीतिमै जीन्दगी बिताउनेछन् नभए चटक्कै राजनीति छाड्ने छन् ।
विनोद अहिले चौबाटोमा उभिएजस्ता लाग्छन् । अब चाल्ने पहिलो पाइलाले नै उनको बाँकी जीवनको परिचय बनाउनेछ । चौबाटोमा उभिइरहने सुविधा पनि उनीसँग धेरै छैन । चार दिशातर्फ गइरहेको बाटोमा उनले जता पाइला चाल्छन् त्यसैले बाँकी जीवनको गन्तव्य निर्धारण गर्नेछ ।
नेपालजस्तो पिछडिएको र चुनौतीले भरिएको देशलाई केन्द्र बनाएर विश्वका व्यवसायीको हैसियतमा आफूलाई स्थापित गरेर देखाएको उनको सफलताप्रति देशका युवा आकर्षित भएका छन् ।
विनोद अक्सर आफ्ना व्यावसायिक सफलता वा सामाजिक कामहरूमा आफ्नो संलग्नतालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहन्छन् । सोसल मिडियामा उनलाई फलो गर्नेहरूमध्ये दुई तिहाइ युवा छन् । विनोदको सफलतामा त्यस समूहलाई कतै न कतै आफ्नै सफलताको झल्को आएजस्तो भान हुँदो हो ।
विनोदले आफ्नो व्यावसायिक जीवनको संघर्षका कथालाई सजीवरूपमा आत्मकथामा लेखेका छन् । असनको गल्लीबाट टायर गुडाँउदै गुडाउदै एयरपोर्ट पुगेको वा रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सामुदायिक विद्यालयमा पढेको एउटा केटो विश्वको अर्बपतिको सूचीमा आउन सम्भव छ भने हामीले पनि जीवनमा केही गरेर देखाउन सक्छौँ भन्ने प्रेरणा त्यो आत्मकथाबाट पाउन सक्छन् ।
विगत ४५ वर्षमा विनोद न्यूरोडको एउटा सामान्य कपडा पसलेबाट फोर्ब्स डलर अर्बपतिको सूचीमा पुग्न सफल भएका छन् । यसबाट स्पष्ट हुन्छ – उनी कुशल योजनाकारका साथै योजना कार्यान्वयन गरेरै छाड्ने सफल व्यवस्थापक पनि हुन् ।
विसं २०७५ साल मंसिर–पुसमा आयोजित नेपाली कांग्रेस महासमितिको बैठक अवधरीभर उनी कांग्रेसका युवा नेताबाट घेरिएका थिए । देशभरबाट आएका युवा नेताहरू विनोदसँग अन्तक्र्रिया गर्न र सेल्फी खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे ।
अर्थात् विनोदप्रति युवा विश्वास र आकर्षण जताततै देखिन्छन् ।
नेपालको हालको जनसंख्याको बनोटमा २५ वर्ष आसपासको उमेर समूह निर्णायक छ । राजनीतिमा यसको अर्थ अबको राजनीतिक निर्णयकर्ता देशका युवा हुन् भन्ने हो ।
आगामी निर्वाचनमा कम्तीमा ३० लाख युवा मतादाता थपिनेछन् । तिनले आफ्नो मत दिन देशमा आर्थिक समृद्धिको जग हाल्ने भरपर्दो अनुहार खोज्नेछन् । आगामी निर्वाचनदेखि गैरआवासीय नेपालीले पनि मताधिकार प्रयोग गर्ने सम्भावना छ । उनीहरूको छनोट पनि यस्तै अनुहार हुनेछ । किनभने नेपालले आर्थिक विकासमा फड्को मार्न नसक्दा उनीहरूमध्येका अधिकांशले विदेशको यात्रा तय गर्नु परेको हो । उनीहरू देशमा आफू बसेको देशको जस्तै विकास गर्ने नेतृत्व चाहन्छन् ।
यस पृष्ठभूूमिमा आगामी निर्वाचनमा विनोद चौधरीजस्ता ‘ट्रयाक रेकर्ड’ भएका अर्थात् भोलि के गर्लान् भन्ने होइन कि गरेरै देखाएका अनुहारहरूलाई यो विशाल पंक्तिले पछ्याउनेछ ।
त्यसैले विनोदलाई राजनीतिमा सक्रिय बन्न आह्वान गरिरहेका छन् । उनी देशको विकासको जिम्मेवारी लिने तहमा पुग्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् ।
इटहरीका केशव भट्टराई हाल दोहामा काम गर्छन् । उनले विनोद चौधरीलाई फेसबुकमा यस्तो सन्देश पठाएका छन्– नेपालको दुर्गती देखेर साँच्चै मनमा धेरै कुराहरू खेल्छन् । यदि तपाईँजस्तो व्यक्तिले देशको नेतृत्व गर्ने अवसर पाउथ्यो भने त्यो हामी गरिव दुःखीको लागि अझै धेरै टेवा पुग्ने थियो जस्तो लाग्छ । हुन त तपाईँले देश र जनताप्रति गरेको योगदान जति नै तारिफ गरे पनि कमै हुन्छ । हुन त रगतकोभन्दा भावनात्मक साइनो गहिरो हुन्छ भनेजस्तै मेरो विचारमा कहीँ न कहीँ अलिकति हामी तीन करोड जनताले तपाईलाई अभिभावकको अंग मानेका छन् जस्तो लाग्छ । त्यसैले त सिङ्गो नेपालको आशीर्वाद छ हजुरप्रति ।
पनौतीका अर्का युवा सुनिल सैंजु लेख्छन्– तपाईँ आफ्नो जीवनकालमा आफ्नो व्यवसाय अभिवृद्धि गर्न असाधारण योगदान र सफलता हासिल गर्नुभयो अब तपाईँ एउटा साँच्चिकै देशभक्त नेपालीको हिसाबले देशलाईँ विकास, समृद्धि र स्वाभिमानको दिशामा महत्वपूर्ण योगदान दिन अग्रसर हुनुहोस् । म पनि हातेमालोमा सरिक हुन चाहन्छु ।
विनोदलाई देश र विदेशबाट निरन्तर प्राप्त हुने सयौं सन्देशहरूमध्येका प्रतिनिधि सन्देश हुन् यि । जसले उनलाई राजनीतिमा सक्रिय बनेर देशको आर्थिक विकासमा जमेको हिउँको ढिक्का फोर्न आग्रह गरिरहेका छन् ।
आजको विश्वको पहिलो एजेन्डा नै आर्थिक र सामाजिक विकास हो । देशमा तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्ने र समाजमा न्यायोचित वितरण गरी नागरिकलाई सुखी बनाउने नीतिलाई विश्वले अंगीकार गरिरहेको छ । हाम्रा छिमेकी देश भारत, चीनसहित विश्वको राजनीतिक नेतृत्व यसमै केन्द्रित छ । तर, नेपालको राजनीति भने कुर्सीको हानथापमै रुमल्लिएको छ ।
राजनीतिक स्थायित्वले आर्थिक विकासमा नयाँ युग सुरू हुने विश्वास पनि अहिले भताभुङ्ग भएको छ । यसको सन्देश के हो भने देशमा आर्थिक विकासको सही दृष्टिकोण भएको प्रतिवद्ध राजनीतिक नेतृत्व नआएसम्म मुलुक राजनीतिको कोरा नारा वरपर नै घुमिरहनेछ । यस स्थितिलाई नियालिरहेका नेपाली नागरिक नेपालमा पनि सिंगापुरका लि क्वान युजस्ता विकासप्रति प्रतिवद्ध नेताको उदय नभएसम्म देशमा आर्थिक एजेन्डाले पहिलो प्राथमिकता नपाउने ठान्छन् ।
अर्कोतर्फ आर्थिक विकासलाई डोर्याउन यसै मामिलामा विशेष क्षमतायुक्त नेतृत्वको आवश्यक पर्छ भन्ने पनि अनुभव छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको निर्वाचनमा विकासकै नारा दिएका थिए । सरकारमा आएपछि धेरै सपना पनि उनले देखाए । तर, नतिजा भने हदैसम्मको निराशाजनक छ ।
के उनी विकास गर्न चाहँदैनन् ?
पक्कै पनि उनले आफ्नो कार्यकालमा देशलाई विकसित बनाएर इतिहासमा आफ्नो नाम लेखाउन चाहन्थे होला । तर, चाहना राख्नु र गरेर देखाउनु फरक कुरा हुन् । ओलीले चाहना त राखे तर गरेर देखाउन सकेनन् । किनभने उनी राजनीतिक गठजोडका त विशेषज्ञ होलान् तर आर्थिक विकासका होइनन् । पार्टीभित्र स्पष्ट अल्पमतमा पर्दा समेत आफ्ना रणनीतिहरूमार्फत् उनले केही समयकै लागि भए पनि जसरी प्रधानमन्त्रीको कुर्सी जोगाउन सके सोही क्षमता आर्थिक विकासका मामिलामा पनि हुँदो हो त उनी आधुनिक नेपालका निर्माता बन्न सक्थे ।
त्यसैले आर्थिक विकासको जिम्मेवारी सोही विषयमा ‘ट्रयाक रेकर्ड’ बनाएका व्यक्तिलाई सुम्पिनुपर्छ भन्ने ज्ञान हामीले झन्डै दुई तिहाइको समर्थनमा बनेको ओली सरकारको पतनबाट पनि पाएका छौँ ।
(लेखक गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार हुन्)