काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले उमेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि आइतबार तोकिएको समयमै चौधरी र थापाले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । चौधरी र थापाले यसअघि प्यानल घोषणा गरेका थिए । १८ सदस्यीय नयाँ कार्यसमितिका लागि ३६ जनाको उमेदवारी परेको छ ।
नाडाको विधानअनुसार साधारण सभाले १ जना अध्यक्ष र १७ जना कार्यसमिति सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ । निर्वाचित कार्यसमितिले पदाधिकारीको टुङ्गो लगाउनेछ ।
नाडाको ४५औं वार्षिक साधारण सभा आगामी मंसिर २२ र २३ का लागि तय भएको छ । २२ गते अर्थमन्त्री जनार्दन शर्माले साधारण सभा उद्घाटन गर्ने कार्यक्रम तय भएको नाडा अध्यक्ष कृष्ण दुलालले बताए । २३ गते निर्वाचन हुने छ ।
कस्को प्यानलमा को ?
करण चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल रहेका छन् । यस्तै वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईले पनि चौधरीको प्यानलबाट उमेदवारी दिएका छन् ।
धु्रव थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित रहेका छन् । यस्तै बि एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस. कंसाकार, सञ्जयकुमार खेतानले थापा प्यानलबाट उमेदवारी दिएका छन् ।
दुबै उमेदवारको जित्ने दाबी
अध्यक्ष दुबै प्रत्यासीले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । चौधरीले अटो मोबाइलको सबै क्षेत्रलाई समेटेर टिम बनाएको र आफ्नो जीत सुनिश्चित भएको बताए । आफ्नो समूहमा अनुभव र जोशको उत्तम समिश्रण रहेको भन्दै उनले सोही कारण अनुकुलता र प्रतिकुलतामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडि बढ्न सक्षम रहेको बताएका छन् ।
यस्तै थापाले पनि नाडाको इतिहासमै आफ्नो टिम समावेशी भएको बताएका छन् । थापाले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको बताए । थापाले नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता जनाएका छन् । आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको उनले बताएका छन् ।