site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
स्वास्थ्यका लागि नयाँ विश्व संरचना 

कोभिड-१९ ले तीव्र पारेको क्षतिमा सबैभन्दा पछिल्लो ओमिक्रोनलगायत यसका नयाँनयाँ प्रकारले विध्वंश मच्चाएका छन् । कोभिड-१९ का कारण संसारभरमा ५० लाखभन्दा बढी ज्यान गइसकेकाे छ अहिलेकाे २६ करोड पुगेकाे सङ्क्रमितको सङ्ख्या अर्को शरदसम्म बढेर ४६ करोड पुग्नेछ । विश्व स्वास्थ्य संगठनकाे अनुमानअनुसार आगामी महिनाहरूमा थप ५० लाख मानिस यस महामारीबाट मर्न सक्छन् ।


यसैले यही नोभेम्बर २९ देखि विशेष बैठक हुन लागेको विश्व स्वास्थ्य महासभाको मुख्य काम यस प्रकारकाे दुःखान्तकाे निरन्तरता रोक्नुबाहेक अरू केही हुनै सक्तैन । खासगरी अहिले विश्वका लागि सङ्क्रामक राेगलाई महामारी बन्न नदिने बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौताकाे आवश्यकता छ ।


विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस गेबरयेससले आग्रह गरेजस्तै नयाँ सम्झौता सबैका लागि स्वास्थ्यप्रतिको प्रतिबद्धता पुष्टि गर्दै राष्ट्रहरूबीचकाे न्याय तथा ऐक्यबद्धतामा आधारित  हुनुपर्छ । 

KFC Island Ad
NIC Asia


सम्पत्ति र आय जति भए पनि स्वस्थ रहने अधिकार सबैकाे भएकाले स्वास्थ्यमा सबैकाे न्यायपूर्ण पहुँच हुनुपर्छ र अन्तर्राष्ट्रिय समुदायले उपलब्ध चिकित्सा स्रोतकाे न्यायोचित प्रयोग र वितरण सुनिश्चित गर्नुपर्छ । यसका लागि पूर्ण क्रियाशील विश्व निगरानी, सङ्कटकालीन अवस्थामा द्रूत पहिचान र सहयोग आदानप्रदान  तथा लागतको प्रक्षेपण गर्ने  संयन्त्र आवश्यक हुन्छ ।

कोभिड -१९ को खाेपकाे न्यायपूर्ण वितरण गरिने वाचाकाे विफलताबाट यस्तो सम्झौताकाे आवश्यकता छर्लङ्ग भएको छ । यद्यपि, विज्ञानकाे प्रगति र उत्पादनकाे सुदृढ प्रयासका कारण सन् २०२१ को अन्त्यसम्म १२ अर्ब मात्रा उत्पादन हुनेछ । यो मात्रा स‌ंसारका सबै वयस्कका लागि पर्याप्त हाे तर न्यून आय भएका मुलुकका ९५ प्रतिशत भने असुरक्षित रहेका छन् । सम्भवतः यो हाम्रो समयकाे सबैभन्दा ठूलो सार्वजनिक नीतिको विफलता हो । 

Royal Enfield Island Ad

 डिसेम्बर २०२१ को अन्त्यसम्म ४० प्रतिशत जनसंख्यालाई खाेपाउने  विश्व स्वास्थ्य संगठनकाे अन्तर्राष्ट्रिय स्तरमा सहमत लक्ष्य ८२ वटा देशले पूरा गर्न नसक्ने देखिएको छ । अहिलेकै अवस्थामा त ४० प्रतिशतलाई खोप दिलाउन अर्को इस्टरसम्म लाग्नेछ तैपनि दर्जनौ मुलुक असफल हुनेछन् । वास्तवमा जुनमा भएको जी ७ काे शिखर बैठकमा विश्वका नेताहरूले सन् २०२२ सम्म संसारका सबैलाई खोप दिइसक्ने प्रतिज्ञा गरेका थिए तर त्यस यता हुने र नहुनेहरूका बीचमा खाेपकाे अन्तर घटेकाे छैन बरू बढेकाे छ ।

जुनमा उच्च आय भएका मुलुकमा ४० प्रतिशत थियो भने अहिले मोटामोटी ७४ प्रतिशत पुगेकाे छ । तर, न्यून आय भएका मुलुकमा निकै ढिलो गतिमा बढेकाे छ । उतिबेला १ प्रतिशत जनसंख्याले खाेपकाे पाएको थियो भने अहिले ५ प्रतशतभन्दा कम छ । न्यून आय भएका मुलुकमा एक जनाले खाेप पाउँदा उच्च र मध्यम आय वर्गका देशका ६ जनाले खाेपकाे थप (बुस्टर) मात्रा रहेका छन् । अफ्रिकाका त ७३ प्रतिशत स्वास्थ्यकर्मी नै असुरक्षित छन् । 

सत्य हो, यस प्रकारकाे अन्यायपूर्ण असमानता सम्बोधन गर्न महत्त्वपूर्ण क्षेत्रीय प्रयासहरू गरिएका छन् । अफ्रिकन युनियनकाे खोप खरिद गर्ने निकाय अफ्रिकन भ्याक्सिन एक्विजिसन ट्रस्टले जोनसन एन्ड जाेनसनबाट एक मात्रा दिए पुग्ने ४० कराेड मात्रा खोप खरिद गरेकाे छ । ट्रस्ट अध्यक्ष स्ट्राइभ मासिइवा र अमेरिकी सरकारकाे सौजन्यमा मोडेर्नाबाट ११ करोड मात्रा प्राप्त हुनेछ र त्यसमध्येकाे ५ करोड मात्रा मार्चसम्ममा आपूर्ति पनि भइसक्यो । तर, अफ्रिकाकाे १ अर्ब ३० करोड जनसंख्याका लागि याे अझै अपर्याप्त नै हुन्छ ।

यो असमानता बुझ्न भने कठिन छैन । एअरफिनिटीले गरेकाे हालैकाे सर्वेक्षणले स‌ंसारका धनी मुलुकहरूले ८९ प्रतिशत कोभिड-१९ को खाेप खरिद गरेका छन् भने पछि हुने आपूर्तिकाे पनि ७१ प्रतिशत ओगटेकाे देखाएकाे छ । उत्तरी गोलार्धका मुलुकहरू दक्षिणी गोलार्धका लागि वाचा गरेअनुसारकाे खाेप उपलब्ध गराउन असमर्थ भएकाे छ । अमेरिकाले आफूले कबुल गरेकाेमध्ये २५ प्रतिशतमात्र पठाएकाे छ भने युरोपेली युनियन, बेलायत र क्यानाडाले त अझ कम क्रमशः १९, ११ र ५ प्रतिशतमात्र पठाएका छन् । डिसेम्बरसम्ममा २ अर्ब मात्रा खाेप वितरण गर्ने अपेक्षा गरिएको ‘कोभिड- १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स)’ ले अब त्यसकाे तीन चौथाइमात्र आपूर्ति गर्ने अपेक्षा गरिएकाे छ । 

धनी मुलुकहरूमा देखिएकाे खाेप थुपार्ने प्रवृत्तिका आधारमा एअरफिनिटीले २०२१ को अन्त्यसम्म जी २० मुलुकमा थुपारिएको खोपमध्ये १० करोड मात्राको म्याद नाघेर खेर जाने अनुमान गरेकाे छ । जी २० मुलुकहरूकाे यसरी प्राण रक्षा गर्ने खाेप थुपारेर गरिब मुलुकहरूका लागि नदिने तर करोडौ‌ं मात्रा खेर जान दिने कार्य नैतिकरूपमा प्रतिरक्षा नहुने र कहिल्यै माफ गर्न वा बिर्सन नसकिने चिकित्सकीय एव‌ं सामाजिक बर्बरता हाे । 

खाेपकाे असमानताले अन्तर्राष्ट्रिय जनस्वास्थ्य संरचना वा स्वास्थ्यसम्बन्धी निर्णय प्रक्रियामा विश्वाव्यापी आमूल परिवर्तनकाे आवश्यकता देखाएकाे छ । अन्तर्राष्ट्रिय निकायहरूमा विश्व व्यापार स‌गठनकाे पुनरावेदन निकाय तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई मात्र राष्ट्रिय सरकारहरूका लागि मान्नै पर्ने बाध्यकारी हुने निर्णय गर्ने अधिकार र स्वतन्त्रता छ । त्यसैले  ती निकायहरूमाथि अन्तर्राष्ट्रियतावादका विरोधीहरूकाे आक्रमण बढी हुनेगरेकाे छ । बाध्यकारी सन्धि सुनिश्चित गर्न सजिलो छैन ।

चुरोटकाे माग र आपूर्ति घटाउन एउटा विश्व स्वास्थ्य सन्धि विद्यमान छ र २०११ को एउटा सम्झौताअनुसार विश्व सा्वास्थ्य स‌ंगठनले इन्फुएन्जाकाे खाेपकाे आपूर्तिमा निर्देशन दिन सक्ने सुनिश्चित गरिएकाे छ । तर, विश्व स्वास्थ्य निकायलाई महामारीकाे रोकथाम, पहिचान, तयारी तथा नियन्त्रणका लागि थप काम गर्न सक्षम बनाउने कानुनीरूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौताका सम्बन्धमा हामी अहिलेसम्म भ्रमित नै छौँ । कोभिड -१९ को नयाँ प्रकार देखिइरहेका समयमा विशेष शिखर बैठकबाट विश्व स्वास्थ्य संगठनको विधानअन्तर्गत कानुनीरूपमा बाध्यकारी सम्झौता प्रक्रिया आरम्भ गरिनु आवश्यक छ  ।

यस अतिरिक्त सरकारहरूले हालैका महत्त्वपूर्ण प्रतिवेदनहरूबाट पनि निष्कर्ष निकाल्न सक्छन् । यिनमा ल्यारी समर्स, थर्मन सम्मुगारत्नम र ङओजी ओकिन्यो इवेलाले सहअध्यक्षता गरेका जी २० उच्चस्तरीय स्वतन्त्र समूह, विश्व स्वास्थ्य स‌गठनकाे युरोपेली क्षेत्रका लागि मारियो मोन्टीको नेतृत्वमा तयार गरिएकाे प्रतिवेदन, लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जाेनसन सर्लिफ र न्युजील्यान्डका प्रधानमन्त्री हेलेन क्लार्को नेतृत्वमा गरिएको विश्व स्वास्थ्य संगठनको समीक्षा मुख्य छन् । 

बलियो सम्झौतामा कतिपय प्रमुख तत्त्वहरू समावेश हुनुपर्छ । पहिलो, विश्व स्वास्थ्यका अगुवाहरूलाई स्वास्थ्य निगरानी गर्ने अधिकार विकास तथा अद्यावधिक गर्ने थप अधिकार आवश्यक हुन्छ । दोस्रो, एक्सेस टु कोभिड-१९ टुल एक्सेलेरेटर (एसीटी -ए) र काेभ्याक्सबाट सुरु गरिएका कामहरू अगाडि बढाउनुपर्छ र वैयक्तिक सुरक्षा सामग्री (पीपीई),परिक्षण, उपचार एव‌ खोपको न्यायोचित उत्पादन तथा वितरण सुनिश्चित गर्नुपर्छ जसबाट अहिलेकाे र भविष्यकाे महामारीबाट सबै मुलुकले आफूलाई सुरक्षित राख्न सक्नेछन् । तेस्राे, विश्व महामारी प्रतिकार्य तयारी बोर्ड आवश्यक छ ।


परन्तु, नेताहरूले स्वास्थ्य प्रावधानहरूमा स्पष्ट विद्यमान विश्वव्यापी असमानताको सम्बोधन गर्ने दिगो आर्थिक संयन्त्र निर्माण गर्नुपर्छ । प्रायः विश्वव्यापी सङ्कटमा हामी जिम्मेवारी पन्छाउने वा दाताहरूको तदर्थ सम्मेलन गर्नेमा सीमित हुन्छौँ । महामारी प्रतिकार्य पूर्वतयारीमा धेरै रकम तिर्नसक्ने मुलुकले बी भार बेहोर्ने सूत्रअनुसार खर्च गर्नु उत्तम हुन्छ । अहिले पनि विश्व स्वास्थ्य स‌ंगठनकाे बजेटको २० प्रतिशतभन्दा कम यसरी नै जुट्ने गरेको छ । सन् १९६० र १९७०को दशकमा बिफर उन्मूलनकाे अन्तिम प्रयत्न धनी मुलुकहरूबीच खर्च भागबन्डा गर्ने आधारमा सुरु गरिएको थियो ।

कोभिड-१९ खोपकाे लक्ष्य हासिल गर्न असफल हुँदा सन् २०२५ मा कुल गार्हस्थ्य उत्पादनमा २३ खर्ब डलर नोक्सान हुन्छ । यस परिप्रेक्ष्यमा जी -२० उच्चस्तरीय स्वतन्त्र समूहले महामारी राेकथाम तथा प्रतिकार्य तयारीका लागि प्रस्ताव गरेकाे १० अर्ब डलरको वार्षिक बजेट इतिहासमै सबैभन्दा बढी प्रतिफल दिनेमध्येको हुनेछ । तर, त्यसका लागि हामीले अहिले नै काम गर्नुपर्छ र यही साताकाे विश्व स्वास्थ्य सम्मेलन त्यही आरम्भ गर्ने स्थल हो ।

(बेलायतका पूर्वप्रधानमन्त्री तथा शिक्षाका लागि स‌युक्त राष्ट्रस‌घका विशेषदूत)

Copyright: Project Syndicate, 2021.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro