site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
के भनिरहेछन् महावीर पुन ?

“दाजु, यो केन्द्रमा एमफिल वा पीएचडीको अनुसन्धान गर्न आउने विद्यार्थीहरूलाई कसरी सहयोग हुन्छ?” मैले एक दिन महावीर पुनलाई अन्तर्वार्ताको क्रममा सोधेको थिएँ। उनको कुरा प्रष्ट थियो - “अनुसन्धान गरेर शोधपत्र लेखेरमात्र नहुँदो रहेछ। त्यसका लागि त विश्वविद्यालयका अनुसन्धान केन्द्र, विभागहरू छँदैछन् नि ! हामी त्यस्ता विद्यार्थीलाई प्राथमिकतामा राख्दैनौ । यहाँ त अनुसन्धान गर्ने, सामान उत्पादन गर्ने र बजारमा पुऱ्याउने उद्देश्य लिएको छ भने कुनै पनि युवालाई उत्पादन एकाइ र बजारीकरणको लागिसमेत हामी सहयोग गर्छौँ ।”

अध्ययन गर्ने र कर्मचारीतन्त्रको चुकुल लगाएर जीवन बिताउने शैलीको स्पष्ट विरोधमा उत्रिएका छन् उनी । उनलाई लाग्दैन कतै कुनै उपाधि वा पदोन्नतिका लागि गरिने अनुसन्धानले जीवन सबल बन्छ । अनुसन्धानले जीवनका महत्त्वपूर्ण प्रश्नसँग जोडिनुपर्छ भन्ने उनी मान्छन् । आफ्नो प्रविधिको विकासमा उनी तल्लीन छन् । उनी जोडले भनिरहेका छन् - सेल पकाउन मेसिन चाहिन्छ ।

तातो तेलमा हात पऱ्यो भने पोल्छ । प्राज्ञिक अनुसन्धान थ्रीडी प्रिन्टिङ प्रविधिको प्रारूप बनाउँछ । विश्वमा भएको विकासलाई हेर्छ र जिल्ल पर्छ । देशबाहिर अनुसन्धानमा राम्रो “स्कोप” देख्छ । जीवनबाट अझै टाढिन्छ ।

KFC Island Ad
NIC Asia

पछिल्लो पटक म राष्ट्रिय आविष्कार केन्द्रमा पुग्दा केही अन्वेषकहरू सेल पकाउँदै थिए । तातो तेलमा स्वचालित यन्त्रबाट पिठो खसालिरहेका थिए। कुनै सेल ठीक बन्थे भने कुनै डढ्थे । तर उनीहरू सफ्टवयेरबाट मेसिनको पीठो बोक्ने हिस्साको गति नियन्त्रण गरेर परीक्षणमा व्यस्त देखिन्थे । अर्को खण्डमा रकेट बनाएर राखिएको थियो । एक युवाले जानकारी गराए - “केही दिनमा हामी यो रकेट परीक्षण गर्छौँ ।” उनको आँखामा अलग किसिमको उमंग थियो । यी उत्साही युवा जीवनको समस्यालाई सहज बनाउने विधिको खोजी गरिरहेका थिए। मानिसको जीवन सहज हुने उत्तम विकल्पमाथि विचारमग्न थिए ।

विदेशमा श्रम बेचेर आर्जित वस्तु र सेवाको चरम उपभोग गरिरहेको समाजलाई महावीर पुनले झड्का दिइरहेका छन् । उनी समाजलाई होसमा ल्याउने प्रयत्न गरिरहेका छन् । कहिले झड्का अलिकति लाग्छ – यसको मस्तिष्क अलिकति हल्लिन्छ ।

Royal Enfield Island Ad

कहिलेकाहीँ झड्का हान्न खोज्दा विद्युतको मात्रा पुग्दैन । कतै पनि तरंग उठ्दैन । यद्यपि आविष्कार केन्द्रमा निरन्तर काम भइरहेछ । 

उनको सन्देश घाम झैँ छर्लंग छ – उपभोगमा आधारित समाजले सधैँ आयातमा भर पर्नुपर्छ । आफ्नो उत्पादन नहुने समाज कमजोर हुन्छ र पतनका बाटामा हुन्छ । उद्योगको विस्तारले मात्र व्यनपक उत्पादन र वितरण संभव हुन्छ । प्रविधिको विकासले मात्र हाम्रो समृद्धि सम्भव छ । हामीले आफूलाईलाई सबल बनाउने हो भने हामीलाई धान्ने उत्पादन आफैँले गर्नुपर्छ । त्यसभन्दा बढी भयो भने विश्व बजारमा बेच्ने हो ।

तयारी अवस्थामा आफ्नो प्लेटमा खसेको वस्तुको उपभोग गर्ने बानी परेको समाज यो कुरा सुन्छ, बुझ्छ, र बेवास्ता गर्छ । उसलाई लाग्छ – पुनले राम्रो कुरा गरिरहेछ तर यो कुरा असंभव छ। पुन राम्रो मानिस हो तर उसले गर्न खोजेको कुरा पूरा हुन धेरै वर्ष लाग्छ । पुन एउटा सामाजिक अभियन्ता हो तर उसले लिएको बाटो अलि असान्दर्भिक छ । वर्तमान अवस्था जटिल छ भनी पुनले बुझ्नुपर्छ । सायद, यस्तै सोच्छ उपभोक्तावाद ।

हाम्रो समाजको वर्तमान द्वन्द्वमा पुन र उपभोक्तवादी सोच दुईवटा विपरीत ध्रुव हुन् । आफ्नै मौलिक औद्योगिक उत्पादनको मोर्चाको अग्रभागमा पुन छन् । उनी उत्पादन बढाउने जुक्ति सोच्छन्। जीवनको सेवा गर्ने छोटो बाटो प्रविधिमा देख्छन् ।

काठमाडौंको मध्यम वर्ग उपभोक्तावादको झन्डा बोक्छ । मध्यम वर्गमा कहिले पनि मन नभरिने आनन्दको लालच छ। जसको पिँधमा पुँजीवाद बसेको छ । त्यसले नै नाफाघाटाको हिसाब गर्छ । जसले नाफा दिन्छ त्यसलाई प्रोत्साहित गर्छ । यसरी नै मध्यम वर्ग चलायमान रहेको छ । त्यही तर्कले विश्व श्रमबजारमा नेपाली युवा जनशक्तिलाई लगेर भर्ना गर्छ । 

तर पुन भन्छन् - जीवन सजिलो छ । अलिकति इमानदार बन्नुपर्छ । आफूले उत्पादन गरे उपभोग गर्ने हो । उत्पादन छैन भने उपलब्ध साधन र हाम्रो आवश्यकताले केही समय सम्झौता गर्नु पर्छ । आफ्ना आवश्यकतालाई सम्बोधन गर्न प्रविधि निर्माण गर्ने हो । हाम्रो प्रविधि जुन स्तरमा पुग्छ त्यस्तैलाई बिस्तारै समाजमा अनुकूलन गर्दै अगाडि बढ्ने हो ।

उनको आवाजले मौजुदा सोचलाई चुनौती दिन्छ । हेक्का राख्नुपर्ने कुरा के हो भने सबैभन्दा जटिल कार्य जीवनमा विकल्पहरू हुन्छन् भनी स्वीकार गर्नु हो । जसले चल्तीको संरचनाबाट लाभ आर्जन गर्न सकेको छैन उसले स्वाभाविक रूपमा नै वितरणमा समस्या देख्छ र न्यायको लागि आवाज उठाउँछ । तर जसले हाल कायम व्यवस्थाबाट लाभ लिइरहेका छन् उनीहरूले प्रचलनलाई नै संरक्षण गर्न खोज्छन्। उनीहरू राम्ररी जान्दछन् - परिवर्तनको मूल्य उनीहरूले चुकाउनुपर्छ । 

महावीर पुन वर्तमान जीवन शैली र सोचमाथि प्रहार हो । उनले चुनौती दिएका छन् हाम्रो चिन्तनलाई । उनी भन्छन्, - हेर, दक्षिण कोरियालाई । तिनीहरूले हिजोसम्म आफ्नो पुँजी राम्ररी निर्माण गर्न सकेका थिएनन् । तिनीहरूले विज्ञानलाई पछ्याए, अनुसन्धानलाई जीवनसँग जोडे । तिनीहरूले प्रविधि बनाए । तिनीहरू आफ्ना गाडी चढ्छन् । आफ्ना कम्प्युटर प्रयोग गर्छन् ।

पचाससाठी वर्षअगाडिका सामान्य पसलेहरू अहिले विश्वका भीमकाय पुँजीपति बनेर उभिएका छन् । हो, तिनीहरू हिँडेको बाटो हिँड्नुपर्छ हामी पनि ।

तर, कोरियाको श्रमबजारबाट राम्रो आर्जन गर्न पल्केको मध्यम वर्ग पुनको कुरो पत्याउँदैन । पुन त्यसलाई बेवास्ता गर्छन् । यो युगमा विज्ञानले मात्र सङ्कट मोचन गर्छ भन्ने उनको अन्तर्यले भनेको छ । उनी त्यही कुरालाई पछ्याउँछन् । आफ्ना अन्वेषकहरूसँगै रमाउँछन्, उनीहरूलाई प्रोत्साहन, प्रेरणा दिन्छन् । 

मैले अन्तर्वार्ताको क्रममा उनलाई सोधेको थिएँ - “यी अन्वेषकहरूलाई कति पैसा दिनु हुन्छ ?” उनले बताएका थिए - “यति नै भन्ने त छैन । कसैलाई कोठा भाडा पनि दिनुपर्छ । कसैले अवस्था हेरेर अझै बढी दिनु पनि पर्छ । कसैलाई मोटरसाइकलमा तेल हालिदिए पुग्छ ।” उनले आफ्नो समूह बाँधेका छन् । युवाको विश्वास जितेका छन् । उनको काम मन पराउनेले स्वेच्छिक सहयोग गरेका छन् । खासमा उनले आफूलाई एउटा सबल माध्यमको रूपमा रूपान्तरण गरेका छन् । विज्ञान र आशाको केन्द्रमा आफूलाई स्थापित गरेका छन् ।

काठमाडौंले सिंगापुरबाट मगाएर उमाल्ने कफी कतै यहीँको पहाडबाट ल्याएर रोस्ट गर्नु भनेर कसिनु जोखिमको कुरा हो । राजनीतिक नेतृत्व कमजोर भएको देशमा शृजनशील मस्तिष्कलाई प्रायः अप्ठेरो त पर्छ नै । राज्य प्रणाली नै गुटहरूको स्वार्थको कब्जामा परेको अवस्थामा अनुसन्धानको प्रश्न भनेको भिरमा फलेको फर्सी नै हुन्छ । देख्दा राम्रो तर टिप्न जादाँ जीवन नै जोखिममा पर्ने खतरा । तर, उनलाई न भिरले फरक पारेको छ न त राजनीतिक प्रणालीको संस्थागत असहयोगले । उनी एकोहोरो भनिरहेका छन् - हुन्छ। किन हुन्न? विज्ञानले जीवनको प्रश्नको हल दिन्छ । जीवनलाई सहज बनाउँछ । हामीले गर्ने हो । हाम्रो आफ्नै पद्धति बनाउने हो । त्यसले नै हाम्रो आवश्यकता परिपूर्ति गर्छ ।

यही जोखिम उठाउन सक्ने क्षमताले नै उनले थुप्रै मानिसको मन जितेका हुन् । उनले देखाएको बाटोमा हिँड्न युवा राजी भएका छन् । मानिसहरू उनको सपनालाई सहयोग गर्न तयार छन् । यही नै त उनको ऊर्जाको स्रोत हो । उनको लगनको फल हो ।

उनको सपनाको मार्ग हो । आफूले देखेको सपना उनले समाजलाई देखाएका छन् । सामान्य जीवनबाट उठेर राष्ट्रिय अन्तरार्ष्ट्रिय मञ्चमा आफूले उठाएको एजेन्डा स्थापित गराएका छन् । 

अति सामान्य तरिकाले जीवन बाँच्ने र मौजुदा सामाजिक संरचनालाई चुनौती कसरी दिने भन्ने कुरा उनले हामीलाई सिकाएका छन् । उपभोक्तावादको चंगुलबाट बच्नका लागि उनले हामीलाई हान्ने नाफाको अस्त्रले हामीले उसैलाई प्रहार गर्नुपर्छ भनिरहेका छन् । खासमा उनी भन्छन् - फराकिलो सोच । प्रविधिको विकास गर । उत्पादन बढाऊ । हामीलाई यो सुन्दा रमाइलो लाग्छ, रोमाञ्चक सपनाजस्तो । तर, मूल प्रश्न हामीतिरै सोझिन्छ – हामी तयार छौँ त ?
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro