site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साताको हारगुहारपछि खाद्यान्न ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

काठमाडौं । एकसाताको हारगुहारपछि खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टर खाद्यान्न ढुवानीका लागि काठमाडौं–सुर्खेत हुँदै हुम्ला पुगेको नेपाली सेनाले जनाएको छ । 

तत्काल खाद्यान्न ढुवानी गर्न हेलिकप्टर पठाइएको सेनाले जनाएको छ । खाद्यान्न लोड गर्नका लागि १५ जना नाम्खा गाउँपालिका ६ का स्थानीय हिल्सामै छन ।  

गत साता सोमबार भोकमरीको समस्या बोकेर हुम्लाका संघीय सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर लामा पाँच दिन लगाएर काठमाडौं आएका थिए । सोही दिन उनीहरूले गृहमन्त्रालय र अर्थ मन्त्रालयलाई तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका थिए । उनीहरूकै पहलमा हुम्लामा हेलिकप्टर पुगेको हो ।

नाम्खा गाउँपालिका वडा नंम्बर ६ का वडाध्यक्ष पाल्जोर लामा एकसातासम्मको हारगुहारपछि हेलिकप्टर हुम्ला पठाएको जानकारी दिए ।

‘‘म हेलिकप्टरमा जान सकिने अवस्था नरहेपछि हवाइजहाजमा हुम्ला पुगेको छु । हेलिकप्टर भर्खरै आइपुग्यो । अब आजै खाद्यान्न ढुवानी गर्ने भनेका छन्,” लामाले भने ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले गृह मन्त्रालयको निर्देशन बमोजिम राहत ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको जानकारी दिए । ‘‘गृहको निर्देशन बमोजिम हामीले खाद्यान्न ढुवानीमा प्रयोग गर्न हेलिकप्टर पठाएका छौँ । त्यहाँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा खाद्यान्न ढुवानी हुनेछ,” उनले भने ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले लिमीवासीका लागि चीनले पठाएको, खाद्य संस्थान हुम्ला सिमिकोटमा रहेको खाद्यान्न पठाउने जानकारी दिए । ‘‘खाद्यान्न आजै ढुवानी गर्न सकिने अवस्था रह्यो भने आजै गर्छौं । आज ढिला भयो भने भोलि पहिलो घण्टामा खाद्यान्न ढुवानी गर्छौ,” प्रजिअ आचार्यले भने ।

वडाध्यक्ष लामाले भोकमरीको समस्या गृह मन्त्रालयमा राखेकै पछिल्लो दिन खाद्यान्न ढुवानी गर्ने भनिएता पनि खाद्यान्न ढुवानी हुन सकेको थिएन ।

गृहले शुक्रबार खाद्यान्न ढुवानी गर्न जिल्ला प्रशासन कार्यालय हुम्लालाई निर्देशन दिएको थियो । तर, भनेको समयमा खाद्यान्न ढुवानी हुन सकिरहेको थिएन ।

वडाध्यक्ष लामा सरकारले हेलिकप्टर हुम्ला पठाएपछि मात्रै हुम्ला जाने अडानमा काठमाडौंमै बसेका थिए ।

कार्तिक पहिलो साता नाम्खा गाउँपालिकालाई चीनले राहत स्वरुप ४ हजार ५०० बोरा मैदा र करिब ८०० बोरा चामल पठाएको थियो ।

उक्त राहत गाउँपालिकाले वितरण गर्न नपाउँदै हिमपात भएर हिल्सामै रोकिएको थियो ।

त्यसपछि मानिसले लिमी गाउँसम्म बोकेर लैजान सम्भव नभएपछि गाउँपालिकामै थन्किएको थियो । पछि लिमीवासीले भोकमरी सामाना गर्नुपर्ने भएपछि पाँच हजार मिटर उचाइमा पर्ने न्यालुलेकबाट तीन फिट हिउ पन्छाउँदै सदरमुकाम आएका थिए ।

हुम्लाका लागि छुट्याइएको खाद्यान्न नेपालगञ्ज, सुर्खेत र धनगढिका गोदाममा थन्किँदा हुम्लामा भोकमरी बढ्दै गएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro