site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाद्यान्न ढुवानी हुने पर्खाइमा एक साता बित्यो तर आएन हेलिकोप्टर    

काठमाडौं । हुम्लाले सरकारसँग हारगुहार मागेको एक साता बित्दा पनि खाद्यान्न पुगेको छैन ।

हेलिकोप्टर आएर खाद्यान्न ढुवानी गर्ने आशामा १४ जना लिमीवासी हिल्सामा पर्खिरहेका छन् । अर्कातर्फ, हुम्ला पठाइने चामल धनगढी, सुर्खेत, नेपालगन्जका गोदाममा थन्किएको छ ।

भोकमरीको पीडा बोकेर काठमाडौं आएका जनप्रतिनिधि काठमाडौंमै छन् । नाम्खा गाउँपालिका–६, लिमी गाउँमा खाद्यान्न ढुवानीमा भइरहेको ढिलासुस्तीलाई सरकारले बेवास्ता गरेको हुम्लाका जनप्रतिनिधिको भनाइ छ ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर लामा बाध्यताले सरकारसँग हारगुहार माग्नुपरेकोे बताए । ‘‘कोरोना महामारीपछि चीनले नाकाबन्दी नगरेको भए हामीलाई नेपाल सरकारसँग हात थापिरहनु पर्दैनथ्यो । कोरोना फैलने डरले नाकाबन्दी हुँदा भोकमरीको सामना गर्नुपर्‍यो । सरकारले भोकमरीको पीडा सुन्नेबित्तिकै खाद्यान्न पठाउनुपर्नेमा चीनले राहतस्वरूप पठाएको खाद्यान्न पनि ढुवानी गरिदिएको छैन,” लामाले भने ।

जनप्रतिनिधिका अनुसार भोकमरीको पीडा गृह मन्त्रालयमा राखेकै पछिल्लो दिन खाद्यान्न ढुवानी गर्ने भनिएको थियो । तर, त्यसको करिब एक साता भइसक्दा पनि ढुवानी गरिएको छैन ।

गएको मंगलबार संघीय सांसद छक्कबहादुर लामा र वडाध्यक्ष लामाले अर्थ मन्त्रालय र गृह मन्त्रालय पुगेर तत्काल खाद्यान्न ढुवानी गर्न आग्रह गरेका थिए । गृहले मंगलबारै तत्काल खाद्यान्न ढुवानी गर्न जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्र काटेको थियो । तर, हेलिकोप्टर नपठाएको भन्दै खाद्यान्न ढुवानी गरिएन ।

वडाध्यक्ष लामा खाद्यान्न ढुवानी भएपछि मात्रै गाउँ जाने अडानमा काठमाडौंमा आफन्तकोमा बसेका छन् । ‘‘एक साता पुगिसक्यो, हुम्लाको भोकमरी कसले सुन्ने ? कसले बुझ्ने ? वास्तविक अवस्था सरकारले जान्न चाहेन । सरकारले तत्काल खाद्यान्न ढुवानी गर्ने आश्वासन मात्रै दियो,” उनले भने ।

गाउँमा भोकमरी हुँदा पाँच हजार मिटर उचाइमा पर्ने न्यालुलेकबाट तीन फिट हिउँ पन्छाउँदै ३० जना लिमीवासी सदरमुकामसम्म आएका थिए । ‘‘सदरमुकामको खाद्य संस्थानमा खाद्यान्नको अभाव रहेछ । अन्ततः ३० जना नै काठमाडौं आउन सम्भव थिएन । मलाई कहाँ गएर पीडा सुनाउने भन्ने थाहा थिएन । त्यसपछि संघीय सांसद छक्कबहादुर लामालाई भेट्न गएँ र उहाँसँगै काठमाडौंसम्म आएँ,” वडाध्यक्ष लामाले भने ।

गएको कात्तिकमा नाम्खा गाउँपालिकालाई चीनले राहतस्वरूप चार हजार ५०० बोरा मैदा र करिब ८०० बोरा चामल पठाएको थियो । मंगलबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय हुम्लालाई चीनले सहयोग गरेको राहत हेलिकोप्टरमार्फत लिमीमा पुर्‍याउन निर्देशन दिएको थियो ।

गृह मन्त्रालयले गएको शुक्रबार खाद्यान्न ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था गर्न रक्षा मन्त्रालयलाई पत्र काटेको थियो । उक्त पत्रानुसार आज खाद्यान्न ढुवानी हुनपर्नेछ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गाउँमा खाद्यान्न ढुवानी गर्न सबै तयारी पूरा गरिएको जानकारी दिए । ‘‘काठमाडौंबाट मौसम खराब भएकाले हेलिकोप्टर पठाउन नसकिएको खबर आएको छ । हेलिकोप्टर नआए खाद्यान्न ढुवानी आज पनि गर्न सकिँदैन । शुक्रबार हेलिकोप्टर पठाउने भनिएको थियो । तर, अहिलेसम्म हेलिकोप्टर आएको छैन,” उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार खाद्यान्न पुर्‍याउन आज हेलिकोप्टर पठाउने भनिएको छ । ‘‘बिहानदेखि मौसमले साथ दिएको छैन । मौसम अनुकूल भए दिउँसोतिर हेलिकोप्टर पठाएर खाद्यान्न पुर्‍याउन सकिन्छ । आज हेलिकोप्टर पठाउन सकिएन भने भोलि पठाउछौँ,” उनले भने ।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा खाद्यान्न लिमीसम्म पुर्‍याइनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro