काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ ।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।
यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, फेलोसिप कार्यक्रमका लािग काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता पनि गरेको छ । एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।