![चुरे संरक्षण गरे समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति](https://12khari.top/uploads/posts/Bidya Devi Bhandari1637590882.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नम्बर २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
उनले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिला क्षेत्रका राष्ट्रिय सम्पदा र गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरिन् । मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीले बताइन् ।
राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।