site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनि मनमा लाग्यो– पशुनर भन्ने शब्द छैन ?

समय भर्खरै बितेको दसैँको थियो, (वि.सं. २०७७) । धोबी खोला करिडोरमा सवारीको संख्या पातलिइसकेको थियो । साँघुरो भए पनि कालो सडकमा मोटरका बेग अलि तीव्र हुन थालिसकेको थियो । एक दिन दिउँसो (दिन याद छैन) त्यस्तै ३ बजेको हुँदो हो । सडकको एकछेउमा रहेको खैरो रङको कुकुरको नाक र मुखबाट ‘रगतको धारा’ बगिरहेको थियो । टाउको उठाउन पेटदेखि बल गरिरहेको थियो । तर, आधा शरीर गाडीले किचेर क्षतविक्षत पारिदिएकाले जति बल गरे पनि उसले टाउको उठाउन सकिरहेको थिएन । ऊ टाउको उठाएर आफ्नो किचिएको शरीर अन्तिमपटक हेर्न खोजिरहेको भान पेटतिर ढल्किएको मुख र नकबाट रगत बगरिहेको उसको टाउकोले स्पष्टै संकेत गरिरहेको थियो ।

साँघुरो बाटो भएकाले उसको जीवनको दर्दनाक अन्तिम क्षण त्यो करिडोर प्रयोग गर्ने दुवै लेनका हर यात्रुले देखिरहेका थिए । तर, उनीहरूलाई के मतलब ? मतलब पनि किन गरून् ? उनीहरूको शरीर त सही सलामत नै थियो । न त उनीहरूले आफ्नो नाक र मुखबाट रगत नै ओकल्नु परिरहेको थियो । न उनीहरूको आधा शरीर किचिएर एउटै पोको परेको नै थियो । त्यसैले त उनीहरू बेपर्बाह हिँडिरहेका थिए ।

पर्बाह त उसकै साथीलाई थियो । किनकि, उसले प्राण त्याग्न लागेको साथीलाई छोडेको थिएन । घरी उठ्थ्यो, घरी बस्थ्यो । अगाडि र पछाडि गर्थ्यो । घरी अगाडिका खुट्टा टेकेर उसको टाउकोनजिकै आफ्नो मुख लान्थ्यो । घरी चारै खुट्टा पसारेर एकै डल्लो परेको शरीरको मासुको थुप्रोछेउ मुख लैजान्थ्यो । र, सुँग्थ्यो । जति टायरले किचेर दुखिरहेको साथीलाई घाउ पोलिरहेको थियो, त्यति नै उसको मन पोलिरहेको उसको छटपटाहटमा प्रतीत भइरहेको देखिन्थ्यो ।

मान्छेले अबुजको बिम्ब बनाएको त्यो जनावरले दुर्घटनामा परेको/पारिएको साथीको घाउ पोलिरहँदा त्यसको महसुस गरिरहेको थियो । यदि, मिल्थ्यो/सक्थ्यो र हुन्थ्यो भने उसले साथीलाई बोकेर क्षणभरमै अस्पताल पुर्‍याउँथ्यो होला । हारगुहार गरेर इमरजेन्सीमा भर्ना गराउँथ्यो होला । काउन्टरले पहिला पैसा जम्मा गराउनू भन्थ्यो होला ! उसले आफूसँग भएको जायजेथा राखेर ‘लौन ! अहिले यही राखेर उपचार थाल्नोस्, लागेको म पछि जम्मा गर्दै गर्छु’ भन्थ्यो होला !

तर, साँच्चै त्यो त जनावर न थियो । न आफैँ अस्पताल लैजान सक्थ्यो न उसलाई त्यो विवेक नै थियो । तर पनि मलाई त्यो क्षण पसलबाट हेरिरहेका मान्छेको अनुहार र त्यो साथीको छटपटी हेर्दा मान्छेमा कुकुर र कुकुरमा मान्छेको अनुहार देखेको भान भइरहेको थियो । त्यही दिन हो मैले को जनावर र को मान्छे हो भन्ने छुट्ट्याएको ।

हात स्कुटरको एक्सिलेटर र ब्रेकमा थियो । तर, मन एक तमासको भएको थियो । त्यही दृश्य आँखामा घुमिरहेको थियो । त्यसको एक मुठी प्राण कतिखेर हावामा बिलिन हुन्छ होला ? अनि, त्यो साथीले कति दिन आफ्नो साथी गुमाएको पिर मानिरहन्छ होला ? कहिल्यै जवाफ नभेट्ने यी प्रश्नले मन बेचैन बनाइरह्यो ।

अनजानमै किन नहोस्, जीवन छिन्ने छेउमा बसेन । छटपटिनुपर्ने ह्रदयहीन भइदिएछ । अबोध साथीको सन्निकट काल देखेर ऊ आफूलाई विचलित बनाइरहेको थियो ।

भोलिपल्टदेखि त्यही बाटो ओहोरदोहोर गर्दा मेरो दायाँ हातले एक्सिलेटर अलिकति छोड्न थाल्यो । बायाँ हातले ब्रेक अलिकति तान्न थाल्यो । र, आँखाले त्यो साथीलाई खोज्न थाले । तर, अहँ ! समयको संयोग मिलेन, त्यो निस्वार्थ प्रेम बोकेको साथी देखिएन ।

सायद त्यही ठाउँ बसेको साथीको झझल्कोले सताउला भनेर बसाइँ पो सर्‍यो कि ! अथवा, वियोगको पीडाले उसैगरी कतै छटपटिरहेको पो छ कि ? अथवा, पीडा सहन नसकेर उसैगरी प्राण नै पो त्याग गर्‍यो कि ? अनि, मैले सम्झिएँ एउटा शब्द र त्यसको प्रयोगको सार्थकता, ‘नरपशु’ । र, भन्न मन लाग्यो, ‘पशुनर’ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro