सन् १९७९ को मार्च २६ मा अमेरिकी राष्ट्रपति जिमी कार्टरको आयोजनामा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा इजरायल र इजिप्टबीच शान्ति वार्ता भयो । नेपालको विद्रोहको अन्त्यका लागि भने हामीले पनि २० नोभेम्बर २००५ मा दिल्लीमा १२ बुँदे सहमति गरेका थियौँ । अनौठो संयोग भुटानलगायत ३० औँ इस्लामी मुलुकहरूले इजरायललाई राष्ट्रको मान्यता दिएका छैनन्।
जोर्डनले १९९४ मा मात्र इजरायलको अस्तित्व स्वीकार गरेको हो । आज इजरायलको कुल गार्हस्थ्य उत्पादन ४१० खर्ब डलरभन्दा ठूलो छ भने इजिप्टको ३७० खर्ब डलर । इजिप्टको अनुमानित जनसंख्या १० करोड २३ लाख छ भने २० प्रतिशत अरब र गैरयअदी नागरिकसमेत गरेर ९२ लाख २७ हजारमात्र जनसंख्या लिएर बसेको इजरायल कृषिमा अब्बल छ । अत्याधुनिक हतियार खरखजना र प्रविधिमा निकै अगाडि र यो लोकतन्त्रको अभ्यास गरिरहन्छ । कसैसँग डराउँदैन । मध्यपूर्वमा गर्जीरहेको छ ।
सन् १९२७ मा उदय भएको कट्टरपन्थी “मुस्लिम ब्रदरहुड” २०१३ मा अर्थात् ८० वर्षको ४ पुस्ता लामो लडाइँपछि सत्तामा पुग्यो तर त्यो बढी निरंकुश हुनाले ११ महिनैमा सत्ताच्युत हुन पुग्यो । सन् २०१४ मा राष्ट्रपति बनेका इजिप्टका अब्देल फतेह अल सिसी ले ९७ प्रतिशत मतले २०१८ मा आफ़्नो कार्यकाल थप्दै गर्दा आज इजिप्ट संसारको तेस्रो ठूलो तेल निर्यातक मुलुक भएको छ । ठूला चौड़ा सडक र पुलहरूका संजालले इजिप्टलाई रंगीन बनाइरहेको छ। सामान्यतया ५ घन्टा लाग्ने कायरो - अलेक्जेन्ड़्रियाको २२० किलोमिटरको दूरी १ घन्टा ३० मिनेटमा पार गर्न सकिने भएको छ।
राष्ट्रपति सीसीप्रति फ़्रान्सेली राष्ट्रपति म्याक्रोनको टिप्पणी छ - इजिप्टलाई नागरिक स्वतन्त्रतामा "व्याख्यान" दिनुपर्दैन तर सीसी भ्रमणमा रहेका बेला मानव अधिकारलाई सुदृढ पार्नु आपसी हितमा छ भन्नसम्म सम्झने म्याक्रोन भविष्यमा आउने सैन्य खेतीमाथिको टिप्पणीको प्रतिवादका लागि कति तयार रहेछन् भन्ने बुझ्नुपर्छ। तर राष्ट्रपति सीसीको प्रतिउत्तर उत्तिकै रोचक थियो - ‘राष्ट्रपति म्याक्रोन! लेट मी फ़िक्स माई इकोनमी फ़र्स्ट’ ।
यहाँ, लिबियाको राजनीतिक शून्यता र इजिप्टमा जिहादी समूहहरूको खतराबाट फ्रान्स र इजिप्ट दुवै चिन्तित भएकाले सिसी सत्तामा पुगेपछि दुवै देशबीच घनिष्ठ आर्थिक र सैन्य सम्बन्ध बढेको छ । इजिप्टले द्रूत विकास गरिरहेको छ र मानव अधिकारमा पछि प्रवेश गर्ने संकेत गरिरहेको छ ।
हामीलाई भने प्राथमिकता औँल्याउनै प्रलय छ । हामीले अधिकारका बारेमा धेरै दस्ताबेज छापिसकेका छौं तर यहाँ विद्रोहमा लडाकु र राज्यका सेनालाई यातना प्रयोग गर्न अनुमति दिइएको स्मरण गर्न सकिन्छ । यसको निरूपण र विकाससँगै व्यवस्थापन भएन यो दुःखको विषय बनिरह्यो। यातनाको अभ्यास गरेको हाम्रो देशमा सत्य निरूपण नगर्दै मेलमिलापको बहस गरिएको छ ।
‘गर्छु भन्ने दृढ अठोट,’ अवसर र चुनौतीको अनुसन्धान, निश्चित समय र सीमा निर्धारण गरेर विज्ञहरूको परिचालन गर्दा देशको मुहार चम्किनेछ भन्ने संकल्प गर्नुपर्छ । टर्कीको फलफूलको प्रख्यात वस्ती इजमीर र इस्तानबुलको दूरी ४७८ किमी को छ । भरिएको ट्रकलाई त्यो दूरी पार गर्न ६-८ घन्टा लाग्छ । बेलायतले त्यहाँको ताजा सुन्तलाको माग बढाएपछि टर्कीले इजमिरमै विमानस्थल निर्माण गरेकाले कार्गो प्लेन राति नै लन्डन पुग्छन् । लन्डनबासीफे बिहानै बजारमा ताजा सुन्तला किन्न पाउँछन् ।
प्राध्यापक लोकराज बराल र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीचको एउटा वार्तालाप स्मरण गर्न मन लाग्यो । उहाँहरू सडक पहिले कि शिक्षा भनेर बहस गर्दै हुनुहुन्थ्यो । गिरिजाबाबुको तर्क थियो सडक पहिले । सडक बन्दा विद्यार्थी पनि टाढाको स्कूलसम्म पुग्न सक्नेछन् । कृषकले पनि बजार पाउनेछ ।
क्षिमेकी भारतका राज्यहरू उत्तर प्रदेश र बिहारबाट ठूला चौडा सडकहरू नेपालका सीमातिर विस्तार भइरहेका छन् ।
उनीहरू ढुवानी खर्च कटौती गरिरहेछन् । त्यहाँका सडक हवाईजहाजहरू आकस्मिक अवतरण गर्न सक्ने गरी बनिरहेछन् ।
अब हामीहरूले पनि ठूला हवाई मैदान बनाऊँ, चौडा सडक बनाऊँ भन्न थाल्नुपर्छ । कृषि र पर्यटन अन्योन्याश्रित छन् । ऊर्जा र विकासको आवाज बुलन्द गर्नै पर्ने भएको छ ।