देश
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुन्धान ब्युरोले ‘अपरेसन भ्वाइस फक्स’ नाम दिएर ०६७ भदौ १५ गतेबाट कल बाइपास गर्नेविरुद्ध अपरेसन सुरु गर्यो । ब्युरोले अपरेसन सुरु गरेयता उपत्यकाभित्र विभिन्न मितिमा ८१ स्थानमा छापा मारी १ सय ६ जना नेपाली र ३१ जना विदेशी गरी १ सय ३७ जना पक्राउ गरिएको ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए ।
पक्राउ परेकाहरूलाई ११ अर्ब ४८ करोड ४२ लाख ६६ हजार ८ सय ७४ रुपैयाँ बिगो दाबी गरेर अदालतमा मुद्दा दायर गरिएको डीआईजी सिलवालले जानकारी दिए । अपरेसनका क्रममा नेपाल टेलिकम, एनसेल तथा अन्य दूरसञ्चार कम्पनीका गरी २१ हजार ७ सय ९ थान सिमकार्ड र भीओआईपीमा प्रयोग हुने उपकरण बरामद गरिएको छ
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौंस“गै पोखरा, हेटौंडा, वीरगन्जजस्ता सहर र ठूला अपार्टमेन्टका कोठाबाट कल बाइपासको अवैध धन्दा चल्ने गरेको छ । नेपाली मोबाइलको नेटवर्क टिप्ने सीमावर्ती भारतीय भू–भागबाट समेत यस्तो धन्दा सञ्चालन गरिएको प्रहरीका अनुसन्धान अधिकृत बताउँछन् ।
सीआईबीले अहिलेसम्म २१ हजार ७ सय ९ थान सिमकार्ड बरामद गरेको छ । विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिमकार्ड प्रयोग गरी करिब १२ अर्ब रुपैया“भन्दा बढीको ‘कल बाइपास’ भएको प्रहरीको दाबी छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीमार्फत हुनुपर्ने अन्तर्राष्ट्रिय फोन कल बाइपास गर्दा राज्यलाई बर्सेनि डेढ अर्ब रुपैया“को हाराहारीमा नोक्सानी भइरहेको सीआईबीका प्रवक्ता एसपी दिवेश लोहनीले बताए ।
प्रहरीले निरन्तर रूपमा छापा मारेर भीओआईपी गराउने उपकरणसहित यसमा संलग्नहरूलाई पक्राउ गरे पनि यसको धन्दा रोकिएको छैन । विदेशबाट आउने कल आफूमार्फत् ल्याएर करोडौं कमाउने उद्देश्यले गोप्य रूपमा खुलेका यस्ता धन्दावालाले भीओआईपी प्रविधि प्रयोग गरिरहेका छन् । सीआईबी प्रवक्ता लोहनी भन्छन्, “विदेशी नागरिकको संलग्नताबिना कल बाइपास गर्न सम्भव हुँदैन । यो एउटा संगठित अन्तरदेशीय अपराध हो ।”
इन्टरनेटको माध्यमबाट विदेशको कल भिœयाउने प्रविधि नै भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अर्थात् भीओआईपी हो । भीओआईपी गराउने गिरोहले राउटर प्रयोग गरेर विदेशबाट आउने कल आफ्नो गेटवेमा ल्याउँछन् । यसरी बीचबाटै विदेशी कल डाइभर्ट हुँदा अनुमति पाएका दूरसञ्चार कम्पनीको विदेशी आगमन कलमा धक्का पुग्छ । उच्च प्रतिस्पर्धा भएका मुलुकका नेटवर्कमा जाने–आउने कलको मूल्य कम हुने र परिमाण बढी हुने हुँदा अवैध भीओआईपीमा संलग्न हुनेहरूलाई फाइदा पुग्ने गर्छ ।
भीओआईपीपछि जीओआईपी
सुरुमा कल वाइपास गर्ने गिरोहले भीओआईपी प्रविधि प्रयोग गरेर कल बाइपास गर्दै आएका थिए । तर, अहिले प्रविधि परिष्कृत भएर जीओआईपीसम्म पुगेको छ । जीओआईपी भनेको जीएसएम प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने भीओआईपीकै परिष्कृत रूप हो ।
यसमा कल पठाउने, सिमकार्ड रिचार्ज गर्नेलगायत सम्पूर्ण कल बाइपास कन्ट्रोल गर्ने सर्भर संसारको जुनसुकै स्थानमा राखेर पनि गर्न सकिन्छ । यस्तो सुविधाका कारण अवैध काम गर्ने गिरोहलाई सजिलो भएको प्रहरीको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३२, २०७३ १२:४५
प्रतिक्रिया दिनुहोस्