काठमाडौं । पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन चौथो संस्करणको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २०० मिटर उचाईमा सपन्न म्याराथनमा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पार गरेका थिए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।
त्रिभुवन आर्मी क्लबका गोपाल तामाङ दोस्रो भए । उनले २ घण्टा २९ सेकेण्डमा दुरी पार गरेका थिए । गोपालले ३० हजार रुपैयाँ नगद पुरस्कार जिते । त्रिुभवन आर्मीकै श्रीकास राई तेस्रो भए । श्रीकासले २ घण्टा १ मिनेट ४० सेकेन्डमा दुरी पूरा गरेका थिए । उनले २० हजार रुपैयाँ नगद पुरस्कार जिते । अर्जुन कुलुङ चौथो र तीर्थ तामाङले पाँचौँ स्थान हासिल गरे ।
महिलातर्फ धादिङकी रसिला तामाङले पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । रसिलाले ५० हजार रुपैयाँ पुरस्कार जितिन् । सिन्धुपाल्चोककै नितु तामाङ दोस्रो भइन् । नितुले २ घण्टा ४६ मिनेट २५ सेकेन्डमा दुरी प्ररा गरेकी थिइन् । प्युठानकी संगिता बुढामगर तेस्रो, आश्मा बिश्वकर्मा चौथो र निर्मला राईले पाँचौँ स्थान हासिल गरिन् ।
त्यस्तै सिन्धुपाल्चोकको स्थानीय स्पर्धातर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हासिल गरे । भेट्रान पुरुषतर्फ गोर्खाका भिमबहादुर गुरुङ र महिलातर्फ राधा श्रेष्ठ पहिलो भए । प्रतियोगितामा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पनि सहभागिता जनाएका थिए । मानन्धर प्रतिस्पर्धीहरूको हौसला बढाउन मात्र दौडिएका थिए ।