सन् २००३ मा विदेशमा बस्ने नेपालीको संस्था एनआरएनए गठन भएपछि विदेशमा बस्ने नेपालीले पहिचान त पाए तर अहिले यो पहिचान ‘निल्नु न ओकल्नु’ हुनपुगेको छ । एनआरएनए अभियानबाट केही व्यक्तिले फाइदा त लिए तर संस्था अहिले भद्रगोल भएको छ ।
केही साताअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिको बैठक हुँदैथियो । त्यसमा सहभागी कुल आचार्यले संस्थामा ठूलो समस्या आएको अभिव्यक्ति दिए । यो सुनेपछि अध्यक्ष कुमार पन्तले कुललाई प्रश्न गरे – समस्या छ भन्नुहुन्छ समाधान के हो त त्यो पनि भन्नुहोस् न ?
अध्यक्षको प्रश्नमा कुलले कुनै उपाय सुझाउन सकेनन् । किनभने उनीसँग समस्या छ भन्नुबाहेक समाधानको कुनै उपाय थिएन ।
कुल आचार्यले आउने कार्यकालका लागि पनि एनआरएनएको अध्यक्ष पदका लागि उमेदवार बन्ने घोषणा गरेका छन् । दुई वर्ष पहिले पनि अध्यक्ष पदमा उमेदवारी दिई थोरै मतले पराजित भएका थिए ।
दुई वर्षअघि काठमाडाैंको हायात होटलमा आयोजित एनआरएनए विश्व सम्मेलनमा नै भद्रगोल भएको थियो । त्यहाँ प्रहरीसमेत प्रयोग गर्नु पर्यो । यस घटनाले एनआरएनएभित्र समस्या आउने दिनमा अझ बढ्छ भन्ने देखाइसकेको थियो ।
गत चुनावमा हायात होटलमा विदेशमा बस्ने नेपालीमात्र आएका थिएनन् आफ्ना उमेदवारलाई जिताउन भन्दै एनआरएनएसँग असम्बन्धित धेरै व्यक्ति पुगेका थिए । अध्यक्षका प्रत्याशी कुलले पनि आफ्नो जितका लागि नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेसको सहारा लिएका थिए । त्यसबाहेक उनले अर्को क्षमता देखाउन सकेका थिएनन् । कांग्रेसलाई उपयोग गर्न सफल पनि भए । त्यही कारण हायात होटलमा नेपालमा बस्ने राजनीतिक नेता र कार्यकर्ता पनि पुगे । गैरराजनीतिक संस्थाको चुनावमा राजनीतिक कायकर्ता जम्मा भएपछि लफडा हुने नै भयो । काठमाडाैंमा बस्नेदेखि जिल्लासम्मका राजनीतिक पार्टीका कार्यकर्ता हायातमा भेटिएका थिए । एनआरएनएमा यसरी राजनीतिलाई ठाउँ दिनु गलत थियो ।
जेनतेन चुनाव भयो । भेला सकियो । तर, नयाँ कार्यसमितिले हायातको भद्रगोलको सही विश्लेषण गर्न सकेन । सल्लाहकार, प्रवक्तादेखि आईसीसी सदस्यलगायतका पदमा नियुक्त गर्दा गल्ती गर्यो । यस्ता पदमा एनआरएनएलाई मार्ग निर्देश गर्ने क्षमता राख्ने, भद्रगोलबाट बाहिर निकाल्न सल्लाह दिन सक्नेलाई योग्य व्यक्ति राख्नुपथ्र्यो । तर, भएन । विवाद र भद्रगोल अझ बढाउन भूमिका खेल्ने व्यक्ति आए । त्यसपछि हायातको जस्तै अवस्था अमेरिका पुग्यो । युरोप पुग्यो । अन्य देशमा सर्यो । अन्तिममा अहिले आएर एनआरएनएले तोकिएको समयमा चुनावसमेत गर्न सकेन । गलत व्यक्ति, नेतृत्व भएपछि आउने नतिजा यही भद्रगोल नै थियो । पहिले अक्टोबरको कार्यतालिका सारेर कार्यसमितिले नोभेम्बर महिनासम्म चुनाव गर्ने भनेको थियो । त्यो पनि नहुने भएको छ ।
दुई वर्षमा कुल आचार्यले आफुलाई सुधार गरेनन् । कांग्रेस पार्टीलाई अझ आफ्नो पक्षमा खडा हुन लगाए । अर्को एमाले पार्टी आउने नै भयो । अध्यक्ष केपी ओलीले यसमा ‘जोक‘ गर्न सुरु गरे । यो अहिलेको भद्रगोलको यथार्थ हो ।
विदेशमा करिब ५० लाख नेपाली छन् । यसमध्ये कतिका परिवार नेपालमा छन् । यस आधारमा राजनीतिक पार्टीले विदेशमा बस्ने नेपालीप्रति चासो राख्नु स्वाभाविक हो । एनआरएनए नेतृत्वले यो चासोलाई सकारात्मक रुपमा लिई विदेशमा बस्ने नेपालीको हितमा उपयोग गर्न सक्थ्यो । यसले पैरवीमा सहयोग नै पुग्थ्यो । तर, यसतर्फ नेतृत्वले ध्यान दिएको छैन ।
एनआरएनएको संस्थागत हैसियत खासै ठूलो छैन । करिब ५० लाख नेपाली विदेशमा बस्ने भए पनि एनआरएनएको सदस्य संख्या १ लाख ५ हजारमात्र छ । चुनावमा करिब ३५ सय प्रतिनिधि सहभागी हुन्छन् । अध्यक्षमा चुनाव जित्न करिब १२ – १३ सय भोट भए पुग्छ । यो सदस्य संख्याले एनआरएनएले विदेशमा बस्ने सबै नेपालीको प्रतिनिधित्व गर्दैन । नेतृत्व नै सबै त होइन नि ।
एनआरएनएको सदस्य नभएपनि धेरैको संस्थाप्रति विश्वास थियो । तर, अहिले यो विश्वास घटिरहेको छ । आफ्नो पार्टी समर्थकले अध्यक्ष जितेमा विदेशमा बस्ने नेपाली कांग्रेसको पक्षमा आउँछन् भन्ने भ्रममात्र हो ।
विदेशमा बस्ने नेपालीले कर्मथलोसम्म पुग्दा कैयौं हन्डर खाएका छन् । यो हन्डरले सिकाएको पनि छ । अरबमा पसिना चुहाउँदा होस् वा अमेरिकामा रेस्टुराँको किचनको रापमा बस्दा उनीहरुको मनमा धेरै कुरा खेलेको हुन्छ ।
नेपाल किन सुध्रिँदैन । किन विदेशमा जस्तो चिल्ला सडक भएनन्, सरकारी अस्पताल स्कुल किन त्यस्ता लथालिङ खालका छन् । धेरैको गुनासो हुन्छ देशमा योग्य राजनीतिक नेता नै भएन ।
नेता, टाठाबाठा कार्यकर्ता र शक्तिकेन्द्रमा हुने जब विदेश आउँछन् केही व्यक्ति एयरपोर्टसम्म लिन पुग्छन् । उनीहरुलाई घुमाउँछन् । नेपाल पुग्दा भेटघाट गर्छन् । यही आधारमा एनआरएनएमा राजनीति भएको छ । तर, वास्तविकता यही भने होइन । यसले विदेशमा बस्ने सबै नेपालीको प्रतिनिधित्व गर्दैन ।
सन् २००३ मा एनआरएनए खोल्नुको मुख्य उद्देश्य विदेशमा बस्ने नेपालीको पक्षमा लबिङ गर्ने भन्ने थियो । त्यसले यो अभियानका रुपमा आएको थियो । यो अभियानले विदेशमा बस्ने नेपालीलाई पहिचान त दियो तर त्यतिबेलै उठेका विषय भने अहिलेसम्म पूरा भएका छैनन् । एनआरएनएको उद्देश्य विदेशमा बस्ने नेपालीको पक्षमा लविङ गर्नेमात्र हो । समाजिक सेवा भन्नु त ‘बकवास‘ मात्र हो । यस संस्थामार्फत समाजिक सेवा हुँदैन । एनआरएनएले संस्थागतरुपमा बनाएको एउटा वृद्धाश्रमसमेत आफूले चलाउन सकेको छैन । रगत संकलन गर्ने बस गुडेको समाचार आएको छैन । संस्थागतरुपमा समाजिक सेवामा जहाँ हात हालेको छ, अधिकांश असफल छन् । विदेशमा वस्ने नेपालीले व्यक्तिगतरुपमै गरेका काम बरु अपेक्षकृत सफल छन् ।
विदेशमा बस्ने नेपालीका समस्या कम छैनन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै समस्या देखिन्छ । नेपाल जाँदाआउँदा एयरपोर्टमा दुःख नपाएका कमै होलान् । नेपालमा लगानी गर्न खोज्यो भने त्यहीँ समस्या आउँछ । नेपाली नागरिकताको निरन्तरता गर्दा देशलाई फाइदाबाहेक केही छैन । त्यसमा राजनीतिक तहदेखि जनस्तरसम्म भ्रम छ । लालबाबु पण्डितजस्ता व्यक्तिका गलत कुरा धेरैले पत्याए । तर, एनआरएनएले त्यसको सही रुपमा प्रतिवाद गर्न सकेन ।
एनआरएनएभित्र अहिले चुनाव र राजनीतिमात्र छ । संस्थाको मुख्य उद्देश्य विदेशमा बस्ने नेपालीका पक्षमा गर्नुपर्ने लबिङ हुनसकेको छैन । त्यसले संस्थाले धेरै नेपालको विश्वास गुमाउँदै गएको छ । बढी हस्तपेक्ष गरे भने एक दिन कांग्रेस, एमालेलगायत अहिलेका अन्य राजनीतिक पार्टीप्रति पनि विदेशमा बस्ने नेपालीको विश्वास टुट्ने छ । राजनीतिक पार्टीले यो बुझ्दा हुन्छ ।
चुनावको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा त पछि परे नै एनआरएनएले अगाडि बढाएको महत्त्वाकांक्षी १० अर्बको सामूहिक लगानी कोषसमेत संकटमा पर्न थालेको छ । विदेशमा बस्ने नेपालीको पैसा उठाएर नेपालमा लगानी गर्ने उद्देश्यले ल्याइएको यो कोष अहिले सुरुको चरणमा छ । सरकारले समेत ५० करोड रुपैयाँ हाल्ने भनेको यस कोषमा अहिले कार्यकारी प्रबन्धक र सञ्चालक समिति गठन भएको छ । तर, अहिलेको विवाद र भद्रगोलले कोषले पैसाजम्मा गर्नसकेको छैन । पैसा लगानी गर्छौँ भन्ने कतिपयले रकम पठाएका छैनन् । फलस्वरुप, समय थप गर्नुपरेको छ । धेरैमा यस्तो भद्रगोलमा पैसा हाल्ने कि नहाल्ने भन्ने प्रश्न छ । कोषले उद्देश्यअनुसार काम गर्न सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्जलगायतमा लबी गरेर अनुकूल नीतिनियम बनाउनपर्ने अवस्था छ । तर, संस्थाको भद्रगोलले यो सबै पछि परेका छन् ।