काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको वडा अधिवेशन पुनः अनिश्चित बनेको छ । वडा अधिवेशन हुनुभन्दा अघिल्लो दिन अर्थात् आज जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएसँगै अधिवेशन अनिश्चित भएको हो ।
“निर्वाचन अधिकृतले राजीनामा दिनुभयो, भोलि यहाँ अधिवेशन हुन सक्दैन,” जिल्ला सभापति नागेन्द्र कुमारले बाह्रखरीसँग भने ।
निर्वाचन अधिकृतले सविचालयमा शिक्षक संघका चार जना सदस्यलाई समावेश गर्ने विषयमा विवाद हुँदा राजीनामा दिनुपरेको वुझिएको छ । जिल्ला सभापतिका आकांक्षी लक्ष्मण रायले सभापति नागेन्द्र कुमारले जिल्ला निर्वाचन अधिकृतलाई लखेटेको आरोप लगाए ।
उनले पाँच जनाको समिति बनाएर सदस्यहरु दुई–दुई जनाको भागवण्डा गर्नुपर्ने आफूहरुले अडान राख्दा जिल्ला सभापति नमानेको बताए ।
“म सभापति हो मेरो कुरा यहाँ चल्छ, मेरो शिक्षक संघमा विश्वास छैन । म जुन नामावली दिन्छु, त्यो राख्नुहोस् अनि चुनाव गराउनुहोस् भनेर थर्काउनु भयो,” उनले भने ।
जिल्ला सभापति नागेन्द्र कुमारले भने आरोपको खण्डन गरे । जिल्ला निर्वाचन अधिकृतले समन्वय गर्न नसक्दा वडा अधिवेशन अनिश्चित भएको उनको भनाइ छ ।
“उहाँले सचिवालयमा नियुक्त गरेका शिक्षक संघका मान्छेहरु सबै विवादित हुन्, उनीहरुका कारण १३ औं महाधिवेशनसमेत प्रभावित भएको थियो । उनीहरुलाई नराखौं भनेर हामीले सर्वपक्षीय छलफलमा भनेका थियौं,” उनले भने, “हामीले तुरुन्तै खारेज गर्नुहोस् भनेको हो । डीएलएका मान्छेहरु राख्नुहोस् जिल्लाकाले भएन भने बाहिरबाट झिकाएर राख्नुहोस् । पार्टी खर्च गर्न तयार छ भनेर मैले भनेको हो ।”
निर्वाचन अधिकृतले राजीनामा दिएसँगै केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृत पठाउने तयारी गरिरहेको छ । समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालचन्द्र घिमिरेले जतिसक्दो चाँडो निर्वाचन अधिकृत तोकेर जिल्ला पठाउने तयारी भइरहेको बताए । “हामी फोनबाटै कुरा गरिरहेका छौं । सहमति फोनबाट हुन नसके मात्र समितिको बैठक बसेर नयाँ अधिकृत तोक्छौं,” उनले भने ।
घिमिरेले पनि सर्लाहीको वडा अधिवेशन कहिले हुन्छ भन्ने यकिन मिति अहिलेनै तोक्न नसकिने बाह्रखरीलाई जानकारी दिए ।
चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको सर्लाहीमा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा दुईसय वडा रहेको छ ।