काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरेर हस्तक्षेप गरेर नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न माग गरेका हुन् ।
नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज नभए आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी पनि दिएको छ ।
"जनताले उत्साह र श्रद्धाका साथ मनाउने विभिन्न चाडपर्वहरूको समयमा आयल निगमद्वारा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको मूल्यवृद्धिको निर्णय प्रति खेद र भर्त्सना व्यक्त गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, "यो समय प्रतिकूलतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछौँ ।"
नेविसंघको विज्ञप्ति :