कुरा राजनीतिकै हो । त्यसअघि सन्दर्भले कोरानाको सानो प्रसंग लेख्नपर्ने लाग्यो । नेपाली काँग्रेसको महाधिवेशन तयारीको सिलसिला चलेको छ । यही अवसरमा तनहुँ दमौलीसम्मको यात्रामा देखेको निर्धक्क यात्रीको जमघटहरुले यस विषयको छोटो प्रसंग जोड्न मन लागेको हो ।
बाटोमा सबारी साधनको घुँइचो त लागेकै थियो । काठमाडौँको जाम दुई वर्षअघिकै अवस्थामा पुगेको छ । यसवीच थपिएका साधनले थप घुँइचो बढाएका होलान् । कोरोना कहरको लामो अवधिमा कहिले लकडाउन र कहिले भयग्रस्त सामाजिक दृश्यले सबारी साधन चलाउनेहरु सडकमा घटेका थिए । आवाजाही नै कम थियो । सरकारी सूचना पनि अत्यावश्य काम बाहेक बाहिर ननिस्कनु भन्ने नै थियो । भयले भरिएको मनोदशा लिएर घर बाहिर निस्कने कुरा नै जोखिमको संकेत हुन्थ्यो ।
यसैले शहर बजार शून्य प्रायः हुन्थे रे । कहिं देखेरै बुझियो,कतै साथीहरुको फोनवार्तामा जानकारी हु्न्थ्यो । यसवीच पनि मास्कभित्र मुखको पहिचान लुकाएर यताउता आउजाउ अविच्छन्न नै रह्यो । लकडाउनमा भने यात्रा सम्भव थिएन । सबारी चल्न नै प्रतिबन्ध लागेको पनि हो ।
अहिले यात्रा सहज छ । कोरोना देशानले पारेको अप्ठ्यारो हराउन थाले जस्तो छ । काठमाडौँबाट मंगलबार गाउँघर दमौली आउँदा राजमार्गमा सानाठूला बजार र पसलमा मानिसको चहलपहल र घुँइचो मज्जैले देखिन्छ । धेरैले पहिचान लुकाउने मास्क भिर्न छोडेछन् । भिर्नेले पनि नाकमुख होइन चिउँडो छोपेको देखिन्थ्यो । मानौँ सबैभन्दा जोगाउनु पर्ने र लुकाउनुपर्ने अंग नै चिउँडो भएको छ अहिले ।
बसका यात्रि पनि त्यस्तै । केही नेपालीले मास्क भिरेका छन् । कतै चिउडोमा,कतै हातको बालाजस्तै नाडीमा । विदेशीले त मास्क लगाएकै देखिएन । केही नेपाली यात्रुले भने होसियारी पूर्वक नै मास्क लगाएका थिए । सतर्कताको भिन्नभिन्न स्थिति एउटै बसमा यात्रारत थियो ।
बाटो, बस र मास्कको अवस्था यस्तै थियो । चियाचमेनाको लागि बसबाट ओर्लिएका अन्य यात्रु पनि यस्तै निर्धक्क देखिन्थ्ये ।
व्यापारीहरुको व्यस्तता ग्राहकको माग पूरा गर्ने र पैसा थन्क्याउनेमा असिनपसिन हुन्थ्यो । एकैछिनपछि यात्रु आआफ्नो बसभित्र पस्थे,व्यापारी सुस्ताउन थाल्थे । राजमार्ग छेउका एकजना कफी व्यापारी त गद्देदार कुुर्ची(सोफासेट) मा निकै आराम लिन खुट्टा पसारेर बसे,बसे के भन्नु सुते । उनी अर्को यात्री बसको पर्खाइमा होलान् ।
यति बेलिबिस्तार गरेपछि कोरोना देशानको कहर हटेछ कि भन्न बाँकी थप्नुपर्ने कुरा नै के रह्यो र ? जुँगा चल्यो,कुरा बुझ्यो भनेजस्तै भयो नि त ? भगवती मनकामना देवीको दर्शन गर्नेको घुँइचो यस्तो थियो नि जहाँ गोडा राख्ने ठाम थिएन भन्ने उक्ति ठ्याक्कै मिल्थ्यो । लक्षणार्थ,अझ तील राख्ने ठाउँ पनि थिएन भनेजस्तो । चारैतिर दर्शनार्थी,सडक छेउछाउमा टम्म मोटर गाडीको लस्कर । मानिस हिड्न पनि मुस्किल । उता बनाएको फराकिलो खुला पार्किङ्ग पनि स्थल पनि टनाटन, मोटरै मोटर, सानाठूला ।
बजारको गच्छे अनुसार यात्रुको उपस्थिति,घुँइचो र चहलपहल । दृश्यले कोरोना कहर हटेको अनुभूति दिन्छ । निर्धक्क छ चालामाला । विशेषज्ञहरु त चेतावनी दिँदैछन् भन्छन् कोरानाको जोखिम अझै छ सबै सतर्क हुनैपर्छ । मास्क नछोड्नु,हात धुदै गर्नु र सेनिटाइजर झोल दलिरहनु ।
यस्तो चेतावनी सुन्दा एकैछिन झोक्राए पनि मानिस निर्धक्क भइसकको छ । अब डर भनेको दृश्य कता छ र ? कसैकसैको मुखको मास्क । सचेत, सभ्य देखिन लिएजस्तो लाग्ने भइसके छ कि, एक्कादुक्काको हातको शीशि स्यानिटाइजर ? र स्वास्थ्य मन्त्रालयले दिने प्रतिदिनको आँकडा र अस्पताल भर्ना भएका कोरोना विरामीको संख्या वा स्वर्गीयहरुको गणना ? हो यत्तिमा मात्रै त छ, सुन्दा हुने भय । बाँकी डर हराएको छ । यस्तै देखिन्छ मात्रै होइन, अब लाग्न पनि थालेको छ । दृश्य सुखद छ, हामी नेपालीले कोरोना महामारी जित्यौँ । चिन्ता फर्किफर्की आउने दुष्ट स्वरुप देखाएको कोराना देशान सधैंलाई पराजित होस् भन्ने हो ।
सबै दुःख र चिन्तालाई बिर्सिएर पहिले पनि लिइने सुखानुभूति र सन्तोषको शास जस्तै यस्तो रमाइलो देख्न वा भोग्न कोरोनाले जिन्दगीको दुई बर्ष खेर फालिदियो । समय डुबाइ दियो । यसको क्षतिपूर्ति कुने कुरै भएन तर अब यस्तो कहिल्यै नहोस् । एकबारको जुनीमा यस्तो कसैले,कहिल्यै भोग्न नपरोस् ।
सडक किनारमा फुत्तफुत्त आउने दृश्यले विजुली चम्के झैँ उत्पन्न हुने याद बसको रफ्तारसँगै बिलाउथे । अर्को दृश्य आउँथ्यो ।
तर ती सम्झनाको छाप पनि छोडेर अगाडि बढ्थे । मनभित्र चाहिं केही दिनदेखि उब्जिएको जिज्ञासा पनि सँगसगै यात्रामा थियो ।
त्यो जिज्ञासा राजनीतिसँग थियो । अहिलेको प्रतिनिधिसभा संसद् असफल भयो र अर्लि(चाडै) निर्वाचनमा जानुपर्छ भन्ने मतसँग जिज्ञासाले चित्त बुझ्दो जबाफ खोजी रहेछ ।
के अहिलेको प्रतिनिधिसभा संसद् असान्दर्भिक,असफल भएकै हो ? कहिले, कस्तो संसद् सफल होला ? कसले सफल,असफल बनाउने होला ? यदि असफल मान्ने हो भने यसको कारक स्वयं संसद् हो कि अरु केही,कोही ? विगतमा पनि पटकपटक किन संसद् असफल पारियो ? वर्तमान प्रतिनिधिसभा संसद्लाई असफल वा असान्दर्भिक करार गर्ने विज्ञले देखेको सपनासँग साक्षात्कार हुने जिज्ञसा जागेको हो ।
संसद् असफल भएको होइन, अवरुद्ध गरिएको वा पारिएको हो । अवरोध गर्ने राजनीतिक प्रवृत्ति, संस्कार र अहम् जबसम्म दलहरु वा तिनका नेतामा रहन्छ तबसम्म संसद् सफल हुदैन । संसद्को चुनाव लड्ने,पाए त्यहींको पद प्रधानमन्त्री,मन्त्री खाने तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने सपनाको ओच्छ्यानमा पनि सुत्न पुग्ने ओच्छ्यान चखुवाहरु रहेसम्म न संसद् बलियो,सफल र सान्दर्भिक हुन दिइन्छ न संसदीय प्रणालीलाई सफल बनाइन्छ । सधैँ अहिलेकै जस्तो व्यवधान र अवरोध सिर्जना गरिने छ ।
एमालेका अध्यक्ष केपी ओलीको कम्युनिष्ट सरकारले दुईदुईपटक विघटन गरिदिएको कारण संसद्लाई असफल मान्ने हो वा ? विघटनलाई सदर मञ्जुरी दिन वा केपी ओलीले नमानेको कारण नै असफल संसद् भन्ने कि ? वा ओली समूहको निरन्तर अबरोध नै संसद् असफलको प्रमाण हो ? वा केपीको प्रहारबाट सर्वोच्च न्यायालयले संविधान अनुसार ब्युँत्याइ दिएको भएर नै संसदलाई असान्दर्भिक वा असफल मान्ने कि ?
त्यतिबेला पनि नाम नेकपा एमाले नै थियो । ०५२ सालमा ५७ दिन यही एमालेले प्रतिनिधिसभा संसद् ५७ दिन अवरुद्ध गरेको थियो । यो गलत भए छ भन्ने लेख केही दिनपछि अहिलेका केपी ओलीका मुखपात्र शंकर पोखरेलले लेखेका थिए । लाग्थ्यो अब त एमाले नामको दल सुध्रिए छ, सोझिए छ कि तर अहिले देखियो सोझिनु त परै ढुँग्रैसमेत बाँगिए छ । त्यसको चरित्रले देखाउँछ यस्तै ।
संसद्मा आफ्नो मान्यता राखेर पनि काम त हुन र गर्न दिन पर्यो नि । यदाकदा विशेष इस्युमा गरिने अबरोध निरन्तर गर्नुलाई संसद्को असफलता करार गर्नु चाहिं राजनीतिक कुरा भएन कि ? वा संसद्प्रति अन्यायी धारणा पो व्यक्त भयो कि ? काम गर्न देऊ, अनि को असफल हुन्छ वा काम गर्न रोके के तपाईं सफल बन्नुहुन्छ र ?