मलाई सम्झना छ, त्यतिखेर म रसियाको मस्कोमा थिएँ । तत्कालीन समयमा नेपालबाट रसिया जाने नेताहरूसँग मेरो भेट हुन्थ्यो । नगरपालिकाका मेयर हुन् वा अन्य नेता भन्थे– पोखरामा निकै भर्खरका मेयर छन्, विकासप्रेमी पनि रहेछन् । उनको फरक सोच, उमेर र भिजनका कुरा धेरै हुन्थे ।
नेपाललाई बनाउने हो भने त्यस्तै मेयरको खाँचो छ भनेर चर्चा हुने गर्दथ्यो । त्यो मेयर को होला ? मलाई चिन्ने इच्छा भयो । कसैले सूर्यबहादुर केसी भन्थे त कसैले सीताराम केसी ! तर, नाम एउटै रहेछ - सूर्यबहादुर केसी । मलाई खुल्दुली हुन्थ्यो, चर्चामा आएका कस्ता मेयर होलान् ? त्यसमा पनि पोखराका जुन ठाउँ मलाई अति मनपर्छ ।
अरूले गरेको प्रशंसासँगै मनमा पोखराको तस्बिर बनाएको थिएँ । मलाई पोखराको चर्चाले निक्कै लोभ्याएको थियो । नेपाल फर्केपछि सुन्दर पोखरा र मेयर केसीको प्रशंसाले मलाई तान्यो । म पोखरा पुगेँ । उहाँलाई घरमा नै भेटेँ । पोखरा र मेयर केसीलाई मैले नदेख्दै जस्तो कल्पना गरेको थिएँ त्यसभन्दा दसलं गुना उत्कृष्ट पाएँ । पोखरा भगवानले फुर्सदमा बनाएजस्तो लाग्यो । मेयर केसीमा पनि फरक व्यक्तित्व भेटेँ । उमेरका हिसाबले उहाँ र मबीच खासै फरक थिएन । त्यस्तै ५–६ वर्षले उहाँ जेठो हुनुहुँदो रहेछ । मैले दाजु भनेर सम्बोधन गरेँ । उहाँले स्वीकार गर्नुभयो ।
दाजुले भाइकै व्यवहार गर्नुभयो । माया बाँडेर सकिँदैन भन्ने तथ्य उहाँले प्रमाणित गरिदिनुभयो । उहाँको घरमा एउटा फरक संस्कार पाएँ । आफूमात्रै होइन छोराबुहारी र बालबच्चामा समेत आत्मीयता थियो । उहाँले भन्नुहुन्थ्यो - ‘संस्कार ठूलो हो ।’ त्यो कुराले मलाई निकै छोयो । संस्कारविनाको सम्पत्तिको कुनै अर्थ हुँदैन, ‘त्योचाहिँ रोबोट हो । यो हामीलाई पुर्खाले दिएको धनसम्पति र यो धर्मले सिकाएको पाठ पनि हो ।’ त्यो कुराले म उहाँप्रति थप आकर्षित भएँ । मेरो परिवार पनि उहाँ र उहाँको परिवारबाट प्रभावित भयो । जीवन सिकाइकै मार्ग रहेछ । त्यतिखेर आफूलाई विद्यार्थी भएको अनुभूति भयो । सिक्ने अवसर उहाँको परिवारबाट पनि पाएँ ।
उहाँको क्षमता र दृष्टिकोण गजबको थियो । हरेक कुरामा एक कदम अगाडि । मलाई लाग्यो, उहाँ किन पछि पर्नुभयो ? अझ अगाडि पुग्नुपर्ने व्यक्तिजस्तो लाग्यो । उहाँसँगको भेटमा भएका कुराकानीले मलाई तान्यो । उहाँमा आफ्नो जन्मस्थानप्रतिको माया निकै गहिरो भएको पाएँ । पोखरालाई कसरी विकसित गराउन सकिन्छ भन्ने सोचमा डुब्ने व्यक्ति हुनुहुँदो रहेछ । त्यस बेलासम्ममा समयले कोल्टे फेरेको थियो । देशको राजनीतिक अवस्थामा पनि परिवर्तन भएको थियो । त्यस बेला उहाँ नगरपालिकामा कार्यरत हुनु हुन्थेन । उहाँ जनप्रतिनिधिका रूपमा ‘पार्लियामेन्ट’मा हुनुहुन्थ्यो ।
आफू जन्मेको ठाउँ सबैलाई प्यारो हुन्छ, तर उहाँले पोखरालाई मुटुमै राख्नुहुन्थ्यो । पोखराको माटो र उहाँको मुटुबीचको सम्बन्ध अभेद्य थियो । सबैले आफू जन्मेको ठाउँलाई यसरी नै माया गर्ने हो भने नेपाल सुनको टुक्रा नै हुने थियो । पोखराको कुरा गरेर नथाक्ने उहाँमा पोखराप्रति निकै विश्वास थियो । केसीले बनाएका पोखरा विकासका योजनाहरू विनाअवरोध लागु गर्न पाएको भए साँच्चै पोखराले काँचुली फेर्ने थियो । नगर अब्बल बनाउन हरेक क्षेत्र समेट्ने योजना र कार्यक्रम उहाँमा थियो । राज्यका लागि सबै क्षेत्र विकसित हुनुपर्छ, सबै नागरिक सम्पन्न हुनुपर्छ र यहीअनुरूपका योजनाहरू बनाई कार्यान्वयन गराउनुपर्छ भन्ने राजनीतिक व्यक्तित्वका रूपमा उहाँको पहिचान स्थापित थियो । साँचो अर्थमा उहाँ राजनीतिज्ञ, समाजसेवी, उद्यमी, योजनाकार, विकासविद्, शिक्षाप्रेमी हुनुहुन्थ्यो । व्यक्ति एक व्यक्तित्व अनेक भन्ने उक्ति उहाँमा मेल खाएको पाइन्छ ।
उहाँको बोलीवचन र मिठासले मेरो परिवारलाई पनि पटकपटक पोखरा तान्यो । आत्मीयता बढ्यो । उहाँसँगको अन्तरसम्बन्धकै कारण व्यावसायिक साझेदारका रूपमा हामी अगाडि बढ्यौँ । माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नै हामीहरूलाई भेट गराउने माध्यम बन्यो । यिनै वित्तीय संस्थाको मर्जरका क्रममा उहाँसँग भेट हुन्थ्यो । त्यसपछाडि हाम्रा बसाइहरू व्यक्तिगत भन्दा पनि मुलुकका बारेमा छलफलका लागि हुन थाले । उहाँको विचार थियो, ‘बैंकले पैसामात्र कमाउने होइन, नागरिकलाई पैसा कमाउनका लागि सक्षम बनाउने पनि हो । उद्योग र व्यवसायमा लगानी गर्दै रोजगारीका अवसर युवाहरूलाई प्रदान गराई खाडीमा जाने जनशक्तिलाई मुलुकको विकासका लागि रोक्नुपर्छ । यहीँ नै काम दिने वातावरण बनाउनुपर्छ । बैंकले दिगो लगानीमा जोड दिनुपर्छ र लगानीलाई मासमा लैजानुपर्छ । बैंक सबैको बैंक बन्न सक्नुपर्छ ।’ यी कुरा सुन्दा मलाई लाग्थ्यो– पोखरा बसेर पनि तत्कालीन समयमा बैंक खोल्ने ‘भिजन’ त्यो नै एउटा दीर्घकालीन सोच थियो, देश र विकासप्रति उहाँको नवीन सोच ।
उहाँ सधैँ उद्योग र उद्यमशीलताका विषयमा सोच्नुहुन्थ्यो । सबैभन्दा सम्भावना उहाँ जलविद्युत्मा देख्नुहुन्थ्यो । ‘उज्यालो पोखरासँगै उज्यालो नेपाल’ उहाँको मुख्य लक्ष्य थियो । त्यसपछि कृषि क्षेत्रले उहाँलाई तानेको थियो । निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यवसायमुखी कृषिमा जानुपर्छ भन्ने कृषिसम्बन्धी उहाँको धारणा थियो । उहाँ सालको पातदेखि बाँसका घारासम्मलाई मुद्रा आर्जनको स्रोत मान्नुहुन्थ्यो । यो सोचबाट प्रभावित हुने म मात्रै होइन होला । त्यसकारण पनि उहाँ विकासशील व्यक्तिका रूपमा चिनिएको पाइन्छ । देशको पूर्वाधार विकासका लागि सरकारको मात्रै भर पर्नु हुँदैन, जनस्तरबाट केही न केही गर्नुपर्छ । निजी क्षेत्र विकासमा क्रियाशील नभएसम्म देश उठ्दैन । भारतका जस्तै सडक बनाउने काम पनि निजी क्षेत्रले गर्नुपर्छ । पर्यटनका माध्यमबाट देश विकास सम्भव भएकाले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सल्लाह युवालाई दिनुहुन्थ्यो । उहाँको विकासप्रेमी ती गतिशील र प्रभावकारी आवाज आज पनि कानमा गुञ्जिएजस्तो लाग्छ ।
कहिलेकाहीँ राजनीतिबाट पनि उहाँलाई दिक्क लाग्दो रहेछ । देशको राजनीतिलाई हामीले सुधार गरेर लैजानुपर्छ । पार्टीहरू टुटफुट नभएको भए मुलुकलाई पनि फाइदा हुन्थ्यो । जुन किसिमले मुलुकमा राजनीतिक परिवर्तन भयो त्यहीअनुरूप जनताले लाभ लिन सकेनन् । यो मुलुकका लागि दुर्भाग्य हो भनी राजनीतिक असन्तुष्टि पनि पोख्नुहुन्थ्यो । राजनीतिमा युवा आउनुपर्छ भन्ने धारणा उहाँमा थियो । स्व. केसी जहाँ खाली छ त्यहाँ डुबेर हरियाली देख्नुहुन्थ्यो । कुनै पनि व्यक्ति एउटामात्रै क्षेत्रमा अब्बल हुन्छ तर उहाँले सबै क्षेत्रमा सम्भावना देख्नुभयो र हात हालेको ठाउँमा सफलता प्राप्त पनि गर्नुभयो ।
उहाँको बाँच्ने उमेर थियो तर दैवले टिपेर लग्यो । उहाँका धेरै सपनाहरू अधुरा नै रहे । स्व. केसीबाट धेरै कुरा लिनुपर्ने थियो । मुलुकले केही पायो तर पोखराले धेरै गुमायो । उहाँको अभाव उहाँको परिवारलाई मात्रै होइन, व्यावसायिक प्रतिष्ठान, पोखरा र पोखरेली, राजनीतिक पार्टी र नागरिक समाजले समेत महसुस गरेको छ । देशले पनि उहाँलाई सम्झिरहेको छ । उहाँको सामाजिक र धार्मिक सोचले अझ सबैलाई भावुक बनाएको पाउँछु । उपकारका लागि दिनुपर्छ भन्ने सोचका धनी स्व. केसीले दान गर्ने संस्कृतिको ज्ञान पनि दिनुभएको छ । आज हामीमाझ उहाँ हुनु हुँदैन, तर उहाँका विचार, सिद्धान्त, योजना र जीवन दर्शन हामीबीच अमर भएको अनुभूत गर्दछु ।
मृत्यु सत्य हो, एक दिन अवश्य जानुपर्छ, स्व. केसीले चाँडै स्वीकार गर्नुभयो । त्यसमा हामी दुःखी छौँ । म पोखरा जाँदा उहाँको अभाव सदा खड्किरहनेछ । अन्त्यमा, सदा उहाँको मार्ग, सोच, विचार र दृष्टिकोणलाई मनन गर्नेछु । उहाँ दिवंगत हुनुभएको वार्षिक पुण्यतिथिमा उहाँलाई भावपूर्ण स्मरण गर्दै परिवारमा समवेदना व्यक्त गर्दछु ।