काठमाडौँ । नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु सम्मेलन (कोप–२६) मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सगरमाथा संवादबारे बताएका हुन् ।
उनले भने, “हिमाली क्षेत्रमा जलवायु संकटबारे सचेतना जगाउन मेरो सरकारले माउन्ट एभरेस्टको नामको पछाडि राखिएको सगरमाथा संवाद आयोजना गर्नेछ ।”
जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उजागर गर्न सगरमाथा संवाद गर्न लागिएको हो । अघिल्लो सरकारले दुईपटक मिति तय गरेको सगरमाथा संवाद सरकार परिवर्तनसँगै अनिश्चित भएको थियो । सगरमाथा संवाद सम्मेलनको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ रहेको थियो ।
वन तथा वातावरण मन्त्रालयकाअनुसार सम्मेलनमा ४० मुलुकका १५० जना विज्ञ एवम् प्रतिनिधि सहभागी गराउने तयारी थियो । सम्मेलन तयारीका लागि करिब पाँच करोड रुपैयाँसमेत छुट्याइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न सुरुमा २०–२२ चैत ०७६ का लागि मिति तोकिएको थियो । कोभिड महामारीका कारण रोकिएपछि १८–२० असोज ०७८ मा आयोजना गर्ने निर्णय भएको थियो ।