काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड (समूह) ले २०५० सम्ममा आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्वाकांक्षी नयाँ लक्ष्य घोषणा गरेको छ । जसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रहरूका लागि अन्तरिम २०३० लक्ष्यहरू समावेश रहेको समूहलेजनाएको छ ।
“समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
५९ फुटप्रिन्ट बजारमध्ये ३३ वटामा सन् २०५० सम्ममा नेट शून्यमा पुग्ने प्रतिबद्धता समुहले गरेको छ ।
“हामीले संक्रमणकालमा खेल्न सक्ने मुख्य भूमिकालाई मान्यता दिँदै यस समयरेखाका लागि हाम्रो योजना तय गर्दैछौँ। यीमध्ये धेरै बजारहरू हाल आफ्नो निरन्तर आर्थिक वृद्धिका लागि कार्बन–सघन उद्योगहरूमा निर्भर छन्,” विज्ञप्तिमा भनिएको छ ।
विकासोन्मुख देशहरूलाई उनीहरूको विकास र समृद्धिको अवसरबाट वञ्चित नगरी जलवायु उद्देश्यहरू पूरा गर्न न्यायपूर्ण सङ्क्रमण हासिल गर्न पूँजी र विशेष सहयोग चाहिने बैंकको ठहर छ । कम–कार्बन प्रविधि अपनाउने सबैभन्दा ठूलो अवसर, र केही कठिन संक्रमण–वित्त र जलवायु चुनौतीहरू दुवै भएका बजारहरूमा पुँजी निर्देशित गरेर मद्दत गर्न स्ट्यान्डर्ड चार्टर्ड प्रतिबद्ध रहेको जनाइएको छ ।