site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बन्दै छ अवैध शरणार्थीको ‘सेल्टर’ ! अपराधमा लागे बन्न सक्छन् खतरा
फोटो : अवैध रूपमा नेपाल भित्रिएर काठमाडौंमा पक्राउ परेका अफगानी ।

काठमाडौं । गएको असोज पहिलो साता बंगलादेशबाट ६ रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको आरोपमा तीनजना पक्राउ परे । उनीहरू पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

पक्राउ पर्नेहरूमा बर्मेली नागरिक २७ वर्षीय नरुल अमिन, २७ वर्षकै सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षीय अजमत उल्लाह हुन् । उनीहरूले एकै परिवारका ६ रोहिंग्या शरणार्थीलाई नेपाल पुर्‍याइदिने सर्तमा तीन लाख ५० हजार नेपाली रुपैयाँ लिएको खुलेको थियो ।

बर्माबाट विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा रहेका रोहिंग्या शरणार्थीलाई नेपालबाट अमेरिका जान पाइने भन्दै एजेन्टहरूले काठमाडौं ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित लसुनटार र राम मन्दिर क्षेत्रमा रोहिंग्या मुस्लिम शरणार्थी बस्दै आएका छन् ।

म्यानमार अर्थात् बर्माको राकिने राज्यमा सन् २०१२ मा भड्किएको हिंसापछि त्यहाँका रोहिंग्या मुस्लिम विस्थापित भएर बंगलादेश पुगेका थिए । त्यहाँबाट भारत छिरेका उनीहरू खुला सीमाको फाइदा उठाउँदै नेपाल आइपुगेका हुन् ।

यही कात्तिक पहिलो साता फेरि काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ११ अफगान नागरिकलाई पक्राउ गर्‍यो । उनीहरू भारत हुँदै अवैध बाटोबाट काठमाडौं आइपुगेका थिए । जसमध्ये पाँचजना एकै परिवारका र अरू ६ थिए । पक्राउ परेका दम्पतीमध्ये श्रीमान् यूनएनको जागिरे र श्रीमती सरकारी कर्मचारी रहेको खुलेको छ ।

अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि आफूहरू ज्यान बचाउन नेपाल आएको उनीहरूले बताएका थिए । तर, तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न भिसालगायत कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । पक्राउ परेका ६ जनाले भारतीय नक्कली आधार कार्ड समेत बनाएको फेलापरेको छ ।

नेपालमा लामो समयदेखि भुटानी शरणार्थी पनि बस्दै आएका छन् । जमसध्ये अधिकांश अमेरिका गइसकेका छन् । भुटानी, रोहिंग्या शरणार्थीबाहेक केही तिब्बती र पाकिस्तानी शरणार्थी समेत नेपालमा रहेको सूचना प्रहरीसँग छ ।

नेपालमा विभिन्न देशबाट मुस्लिम समुदायका व्यक्तिहरू नेपाल आउने क्रम बढ्दो छ । शरणार्थीको रूपमा नेपाल छिर्नेहरू सबै स्थलमार्गबाट आएका छन् । प्रहरीले सूचना पाएर कतिपयलाई पक्राउ समेत गर्ने गरेको छ ।

यसले नेपाल शरणार्थीको ‘सेल्टर’ बन्ने जोखिम छ । शरणार्थीको संख्या बढ्दै जाने र उनीहरू अपराधकर्ममा लागे त्यसले सुरक्षा जोखिम बढ्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

उनीहरूलाई विभिन्न आपराधिक समूह, लागुऔषध तस्करले समेत प्रयोग गर्न सक्ने जोखिम प्रहरी अधिकारीहरू देख्छन् । यसका लागि सीमामै कडाइ गर्नुपर्ने उनीहरूको बुझाइ छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल अवैध रूपमा राजधानी भित्रिनेहरूप्रति आफूहरू सचेत रहेको बताउँछन् । उनले भने, “विगतभन्दा अहिले काठमाडौं भित्रिने नाकामा जाँच प्रभावकारी बनाएका छौँ । यसबाहेक अवैध रूपमा बसेकाहरूको सूचना संकलनलगायतमा पनि सक्रिय छौँ ।”

भारतसँग खुला सीमा भएकाले नेपाल भित्रिन सहज भएको हुन सक्ने रिजालको बुझाइ छ । उनले काठमाडौंमा शरणार्थीको रूपमा बसिरहेका रोहिंग्याहरूका गतिविधिको निगरानी पनि निरन्तर भइरहेको बताए । विभिन्न देशका नागरिक नेपालबाट अमेरिका जान पाइने भन्दै काठमाडौं आइपुग्ने गरेको देखिएको छ ।

देशको समग्र सुरक्षा व्यवस्थाबारे शुक्रबार केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।

बैठकमा अवैध रूपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय भएको छ । कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

बैठकमा गृहमन्त्री खाँणले अनाधिकृत रूपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमानाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरूमा कडाइ गर्नुपर्ने बताएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro