site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गंगा–स्नान
SkywellSkywell

ओमकार अग्रवाल अहिले बनारसको असीघाटमा डुबल्की लाउँदै छ । गंगामा डुबुल्की लाउँदा उसलाई परम आनन्द मिल्छ । ऊ हर साल गंगास्नानका लागि काशी आउने गर्छ । काशी र गंगाप्रति उसको हृदयमा असीम आकर्षण मात्र होइन, त्यत्तिकै गहन आस्था पनि छ ।

उसको पिताजी जोगिन्दर अग्रवाल पनि यसरी नै हर साल गंगास्नानका लागि काशी आउने गर्थे । उनलाई पचहत्तर वर्षको उमेरमा जब प्रोस्टेट ग्रन्थीको क्यान्सरको संक्रमण भयो, त्यसपछि डाक्टरहरूले ‘अब धेरै नबाँच्ने’ घोषणा गरिदिए ।

जीवनको आखिरी घडीमा बाँकी सास काशीमै बिसाउने इच्छा देखाएपछि उनलाई हतारहतार बनारस ल्याइयो । ल्याएको सात दिनमा उनी गंगा किनारमा ब्रह्मलीन भए ।

KFC Island Ad
NIC Asia

उनलाई पनि काशीमा मर्यो भने स्वर्ग जान पाइने लालसाले भित्रबाटै समाएको थियो । बाबुको इच्छालाई पूरा गर्न ओमकारले अलिकति पनि कसर बाँकी राखेन ।

ओमकारको पैतृक थलो राजस्थान हो । उसका बाजे जमानामा व्यापार गर्न सुरुमा पटना आएछन् । त्यसपछि नेपाल–भारतको सिमानाको बजार जयनगर आए । जयनगरमा केही वर्ष दोकान चलाएपछि उनी नेपालको सिरहा, माडर सरे ।

Royal Enfield Island Ad

लहान त्यो जमानाको पूर्वी पहाडका उदयपुर, खोटाङ, ओखलढुंगाको हाट भर्ने बजार थियो । नुनदेखि सुनसम्म, लत्ताकपडादेखि फलाम, तामा, पित्तलसम्म यसै बजारबाट पहाड लगिन्थ्यो । बाजे नै लहान आएको कहानी छ !

बाबु जोगिन्दर यहीँ जन्मिए । ओमकर यहीँ जन्म्यो । बाबु जोगिन्दरले नै वंशजको आधारमा नेपाली नागरिकता लिएपछि भारतसितको सम्बन्ध टुट्यो । अपितु, यिनका नातागोता र सारनतारन भारतसित अझ पनि कायमै छ ।

ओमकारका केही वंशियारी दाजुभाइहरू अझै पनि राजस्थानमा छन् । केही मामाचेला फुपूचेलाहरू जयपुरमा पनि छन् । तर, ऊ राजस्थान र जयपुर त्यति जाँदैन । वर्षको एकचोटि पन्ध्र दिनको छुट्टी निकालेर बनारसचाहिँ आउने गर्छ ।

गंगास्नानमा उसको पनि अतिशय मोह छ । बाबु जोगिन्दरमा पनि सोहीखालको मोह थियो । गंगास्नानको मोह बाबुबाट पैतृक अनुदानस्वरूप उसमा आएर हो कि कसो हो, वर्षको एकचोटि गंगा नुहाउन पाएन भने उसलाई खटपटी पैदा हुन्छ !

ऊ बच्चा हुँदै गंगास्नानको महात्म्य बाबु जोगिन्दारले उसको मस्तिष्कमा यसरी घुसाइदिए, अहिले बुढेसकाल हुँदा पनि त्यो घट्नुको साटो झन्झन् बढेर गएको छ ।

मर्ने बेलामा पनि बूढाले ओमकारलाई भनेका हुन्, “बाबु ओमकार, म मरेर गए पनि सालमा एकचोटि गंगास्नानको रित नटुटाउनू । किनभने, गंगामाताको जलमा यस्तो शक्ति छ, यसले जीवनमा गरेको हजार पाप पखालिदिन्छ र मान्छेलाई शुद्धचोखो बनाइदिन्छ । अनि अर्काे कुरा, सकिन्छ भने अन्तिम प्राण बिसाउन यहीँ आउनू । यहाँ शरीर छोड्न सकियो भने सिधै स्वर्गको सुखभोग मिल्छ, गन्दा नरकमा सड्नु पर्दैन ।”

गंगाजलमा डुबुल्की लाउँदा एक जुनी होइन, सात जुनीका पाप पखालिन्छ र यहाँ मृत्युवरण गर्दा स्वर्गको सुखभोग मिल्ने विश्वासले ओमकार अभिभूत छ । लहान त उसको निम्ति सिर्फ कमाउने थलो हो । पैसा सोहोर्ने थलो ।

जोगिन्दरकै पालामा उसले राइस मिल खोल्यो । खाद्य सामग्रीको डिलर खोल्यो । कपडा पसल खोल्यो । ठूलाठूला सरकारी ठेक्कापट्टामा पनि हात हाल्यो । सम्पत्ति हिसाब गर्दा करोडपति होइन, अरबपतिमै गणना हुन्छ ।

सोझो औँलाले घिउ आउँदैन भनेर हर ठाउँ बांगो औँलाकै प्रयोग गरेर नौनी निकाल्यो । उसले के गरेको छैन, खाद्यान्नमा मिसावट गर्नेदेखि कालाबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गरी चर्काे दाममा समान बेच्ने, नाकामा भन्सार छल्नेसम्मका अनेक अनैतिक कर्महरूको प्रयोग गरेर अकुत धन कमाएको छ ।

ठूलाबडा नेता र पार्टीलाई बेलाबेलामा आर्थिक सहयोग र चन्दा दिन पनि मन साँगुरो बनाउँदैन । त्यसैले संकट पर्दा उसलाई पार्टी नेताहरू नै बचाउन पुग्छन् ।

उसको विश्वास के छ भने पार्टीलाई चन्दा दिएर मात्र मैले गरेका कर्तुतहरू धुइन्नन्, दुई नम्बरी धन्दा र कलुष कर्महरूको पाप पखाल्न वर्षको एकचोटि गंगाघाटमा जलस्नान गर्नैपर्छ । त्यहाँ गएर सर्वांग डुबुल्की लाउनैपर्छ ।

वर्षको तीन सय पचास दिन मजाले व्यापार, बिजनेस र ठेक्कापट्टामा खटिन्छ । बाँकीको पन्ध्र दिन आफ्नो संसारी कामबाट निवृत्त हुन्छ । र, लाग्छ काशी नगरीतर्फ । सो समयको सम्पूर्ण कारोबारहरू कारिन्दाजन र छोराहरूलाई जिम्मा लाएर प्रायः पत्नीसहित बनारसमा भूमिगत हुन्छ ।

कहिलेकाहीँ त दिनभरिजसो गंगामा डुबिबस्छ । यसले उसलाई एक अभिनव आनन्द दिएको हुन्छ । साथै, मनमा एक भरोसा भाव उठेको हुन्छ – सालभरिका सारा व्यापारिक कुकर्महरू सिनित्त पखालिँदै छन् । म स्निग्ध र चोखो बन्दै छु । मेरो देह मात्र पावन बनिरहेको छैन, आत्मा पनि पवित्र हुँदै छ ।

मनमा उसको एउटै भाव गुन्जायमान भइरहेको हुन्छ, ‘हे गंगामाते, मेरा जुनीजुनीका पापहरू पखालीदेऊ ! मलाई पावन पवित्र बनाइदेऊ !’

उसकी पत्नीले पनि गंगास्नानमा साथ दिन्छिन् । तर, ऊजति पानीमा डुबुल्की लाउन सक्दिनन् । दमको रोगी जो छिन् । चाँडै चिसोले समाती हाल्छ । ठिकठिकै नुहाएर उनी किनाराको सिँढीमा गंगाको अविरल प्रवाहलाई नियाली बस्छिन् । ऊ भने पानीमा पसेपछि भोकप्यास बिर्सिन्छ ।

०००

हरेक साल यस नगरीमा आउँदा खानेबस्ने व्यवस्था गंगा तटकै एक आलिशान होटेलमा गरेको हुन्छ । वर्षैपिच्छे आउने एक नियमित ग्राहक भइसकेको छ ऊ, होटेलका लागि । लहानबाट उसले फोनमार्फत कोठा बुक गराएको हुन्छ ।

यो पन्ध्र दिन उसले संसार बिर्सिन्छ । आफ्नो कामधन्दा, फोनफान सबै कुराबाट अवकाश लिएको हुन्छ । बनारसका विभिन्न तीर्थस्थलको भ्रमण, पूजापाठ, प्रार्थना र गंगा डुबुल्कीमा उसको सारा दिनचर्या व्यतीत हुन्छ ।

बनारसमा चौरासी घाटमध्ये ऊ एकै ठाउँ डुबुल्की लाउँदैन । प्रातःकालमा मणिकर्णिकाघाटमा डुबुल्की लायो भने मध्याह्नको गर्मीमा डुबुल्की लाउन असीघाट पुग्छ । सन्ध्या स्नानमा हरिश्चन्द्रघाटमा डुबुल्की लायो भने भोलिपल्टको बिहान केदारघाट पुगेर स्नान गर्छ । दिउँसो प्रभुघाटमा स्नान गर्यो भने सन्ध्या स्नानका लागि फेरि ऊ चेतासिहंघाटतिर लाग्छ ।

यसरी पन्ध्र दिन त्यहाँ बस्दा बनारसको शिरदेखि पुच्छारसम्मका पूरै चौरासीवटा घाटमा पालैपालो स्नान गरिसक्छ । उसलाई अर्काे के विश्वास पनि छ भने चौरासी लाख जुनीका पाप चौरासी घाटमा नुहायो भने नाश भएर जान्छन् ।

घाट नुहाएर मात्र पनि उसलाई चित्त बुझ्दैन । शिवशक्तिको दमदम आफैँमा चढेको भान मिल्छ । बाबा विश्वनाथको मन्दिर दिनको चौसट्ठीचोटि नित्य प्रदक्षिणा गर्छ । ऊ उमेरले चौसट्ठी भइसकेको छ । आफ्नो उमेर जति भयो, त्यतिचोटि मन्दिरमा फेरो मार्दै आएको छ ।

पोहोर साल त्रिसठ्ठीचोटि फेरो मारेथ्यो । परार साल बासट्ठीचोटि फेरो मारेथ्यो । एवम् रितबाट अघिल्ला सालहरूमा उमेरका हिसाबले फेरो लगाएको हो ।

विश्वनाथको पूजन, प्रदक्षिणा र निदिध्यासन त उसको दैनिक कर्म हो । पन्ध्र दिनको बनारस बसाइमा पन्ध्र दिनै त्यसमा लीन रहन्छ । त्यसपछिको समय चौसट्ठी योगिनी, बाह्र सूर्य र छपन्न विनायक, आठ भैरव, बयालिस शिवलिंग, नौ गौरी र चौध ज्योर्तिलिंगको दर्शन गर्न पनि कहिल्यै छुटाउँदैन । गरिबगुरुवा, साधुसन्यासीलाई पनि धेरथोर दानदक्षिणा गरेर मनलाई परितृप्त पार्छ ।

हुन त ऊ आफ्नो जीवनकालमा थुप्रै तीर्थ घुमेको छ । जतिजति धन कमाउँदै गयो, जतिजति व्यापार–व्यवसायबाट लाभ हासिल गर्दै गयो, त्यतित्यति तीर्थ घुम्ने भोकले उसलाई समात्दै लाग्यो । एकाधचोटि हरिद्वार ऋषिकेश पनि पुग्यो । बद्री–केदार पनि पुग्यो ।

सोमनाथको दर्शन गर्न द्वारका पनि पुग्यो । कृष्णको पावन भूमि मथुरा वृन्दावन पनि पुग्यो । इच्छा त उसलाई अमरनाथ पुग्ने पनि हो । त्यहाँचाहिँ अझसम्म पुग्न सकेको छैन । धेरै टाढा त्यसमा पनि विकट हिमाली क्षेत्रको यात्रा गर्नुपर्ने भएकोले त्यहाँ जान उसलाई कहिल्यै आँट आएन ।

अमरनाथ मात्र होइन, मानसरोवरको कैलाश यात्रामा पनि जान हिच्किचाएको छ । मधेसमै जन्मी हुर्केकोले विकट हिमाली यात्रामा स्वास्थ्यमाथि कुनै अभिघात हुनसक्छ कि भन्ने उसलाई डर छ ।

नेपालकै पनि पशुपतिनाथदेखि मुक्तिनाथसम्म पुगेको छ । जहाँजहाँ पुगे पनि उसलाई काशी, बनारसले जति मोहनी लाएको छ, त्यति कुनै ठाउँले उसको हृदय खिच्न सकेन !

अब त उसलाई अन्त कहीँ जानु छैन । तन्नेरी उमेर हुँदा सकेजति तीर्थ भ्याएकै हो, अब त दिनदिनै वृद्धपनले जित्दै लगेको छ । अरू तीर्थ घुम्ने वासना विलीन भइसकेको छ ।

तर, सालमा एकचोटि बनारस आउने र मनचित्य रूपमा गंगामा डुबुल्की लाउने वासना घट्नुको साटो अरू बढेर गएको छ ।

०००

बनारसको गंगा तटमा पन्ध्र दिन बिताएर भोलिपल्ट ओमकारका पतिपत्नी घर फर्किंदै छन् । घर फर्किने रेलको टिकट पहिले नै बुक गरिएको छ । भोलि साँझ सात बजे उनीहरू जयनगर प्रस्थान गर्नेछन् । घुम्ने र दर्शन गर्ने ठाउँहरू घुमिसकेका छन् । खाना खाएर होटेलमा रात्रि विश्रामको लागि आआफ्ना बेडमा पल्टिएका छन् ।

पत्नीले जिज्ञासा राखिन्—
“मणिकर्णिकाघाटमा त कति धेरै मान्छेहरू जलिरहेका ? चिता एक छिन पनि खाली देखिनँ मैले त । एकैचोटि आठवटा, दशवटा लास दिनरात जलेको छ, जलेको छ ।”
पति बोल्यो, “जल्दैनन् त, संसारको कुनाकुनाबाट मान्छे मर्नकै लागि यहाँ आउँछन् ।” लोग्नेको कुराले मनमा संशय पैदा भयो ।
“किन मर्नलाई यहाँ आउनुपरेको होला नि ?”
“तिम्लाई थाहा छैन, यहाँ मर्दा मोक्ष मिल्ने कुरा शास्त्रैमा लेखेको छ । सिधै स्वर्गको बास हुन्छ । हाम्रै पिताजी पनि यहीँ मरेको होइन ?”
“ए ! त्यसो भ’र पो धेरै लास जल्दा रहेछन् ।”

ओमकारकी पत्नी अलिक सोझो बुद्धिकी छन् । भोलि फर्किने टुंगो छ । पत्नीका केही किनमेलहरू बाँकी नै छन् । 
उनले लोग्नेलाई गनगन गरिन्—
“सधैँको स्नान, सधैँको स्नान । भोलि त बेलुका फर्किहाल्छाैँ । साडीताडी खरिद गर्नुछ । नातिनातिनालाई केही किनमेल भएको छैन । भोलि त मार्केटिङ गर्नुपर्छ ।”
“त्यसको चिन्ता नगर । भोलि बिहान मणिकर्णिकाघाटमा स्नान गर्ने । विश्वनाथ बाबाको दर्शन गर्ने । त्यसपछि खाना खाएर किनमेलमा साडी मार्केट जाने हो ।”

लोग्नेको योजनामा प्रतिवाद जनाउन मन लाग्यो, “यत्रो पन्ध्र दिनमा हजारचोटि डुबुल्की लाइसक्नुभएको छ, अझै चित्त बुझेन ? भोलि बिहान त होटेलकै बाथरुममा नुहाएर सिधै मार्केटिङमा जाऊँ न । नत्र भ्याइन्न क्या !”
“तिमीलाई थाहै छैन, गंगास्नानको माहात्म्य । यत्रो गंगास्नानको मौका कसैले गुमाउँछ ? तिमीलाई जान अल्छी लाग्यो भने तिमी कोठामै बस, म नुहाएर आउँछु ।”
“मेरो खुट्टा धेरै दुखेको छ । भोलि तपाईं मात्र गएर नुहाउनुहोस्, म कोठामै बस्छु ।”
बूढाबूढीको यही सल्लाह भयो । दुवैजना निद्रादेवीको शरणमा पर्दै घुर्न थाले ।

भोरभोरको मन्दिरको घण्टका चर्का ध्वनिले उनीहरूको निद्रा खुल्यो ।

झ्यालको पर्दा सारेर बाहिर चिहायो ओमकार बूढो । धर्तीमा उज्यालो खसिसकेको थियो । नुहाउने सरसामाग्री सानो हाते ब्यागमा हालेर मणिकर्णिकाघाटतिर लाग्यो ।

जाने बेलामा पुुलुक्क पतिको मुखतिर हेर्दै भनिन्, “अलि छिटो फर्किनु है ।”
ऊ केही नभनी ओर्ल्यो । मणिकर्णिकाघाटमा पुग्दा सूर्याेदयका कलिला किरणहरूले गंगाको जलप्रवाहलाई मृदुल स्पर्श गरिसकेको थियो । किनाराको सिँढीमा कपडा उतारेर ऊ गंगामा डबुल्की लाउन थाल्यो । जति डुबुल्की लायो, उति विभोर आनन्दको नशामा ऊ निमग्न बन्यो ।

सधैँ कम्मरकम्मर पानी भएको ठाउँमा नुहाउँथ्यो । धेरै पर गएपछि पत्नीले हकारपकार पार्थिन् र ऊ छेउमै आएर नुहाउन बाध्य बन्थ्यो । तर, आज ऊसित पत्नी थिइनन् ।

उसलाई सधैँ डुबुल्की लाउने ठाउँबाट अझै उता जान मन भयो । बिहानको चिसोचिसो समयमा गंगाको पानीले न्यानो स्पर्श दिएको थियो । केही पर गएर डुबुल्की मार्यो । उसलाई झन् मजा आयो ।

अझै एक स्टेप परको आनन्दले उसलाई आकर्षित गर्यो । यसो गर्दागर्दै पहिले नुहाउने थलोबाट करिब बीस हात परको दूरीमा ऊ पुगिसकेको थियो ।

डुबुल्की लाउँदालाउँदै ऊ एक्कासि आत्तियो । कारण, उसले टेक्ने ठाउँ कतै भेटेन । गंगाको अतल प्रवाह नजिक पुगिसकेको थियो । ऊ आत्तिएर किनारातिर फर्किन खोज्यो । तर, जलको कुनै अदृश्य प्रवाहले उसलाई उतैतिर खिच्यो । किनारा फर्किन अनेक बलबुता लायो ता’नि, तर उसको सामर्थ्यले भ्याउँदै भ्याएन ।

आसपासका डुंगावालाहरू चिच्याए, “डुब्यो ! डुब्यो ! मान्छे डुब्यो !!”

अत्ताल्लिएर डुंगावालाहरू उद्धारको आशयले कतै शरीर देखिन्छ कि भनेर हेर्न थाले । तर, गंगाको अतल जलप्रवाहले उसलाई निमोठेर भित्रै गाडिरह्यो । उसको शरीरबाट प्राणपखेरु हरण गरेर त्यहाँबाट पाँच किलोमिटर तलको तटमा शव पछारिदियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro