काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनीय नभएको बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले न्यायालयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।
उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने बताए ।
त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायालयको आन्तरिक विषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएको पनि बताए ।
कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधीश कै कारण विवाद उठेको बताए । उनले पनि न्यायालयको विवाद न्यायालयबाटै निरूपण भए न्यायालयको इज्जत बढ्ने बताए ।
त्यस्तै एमाले सांसद महेश बस्नेतले भने न्यायालयमा देखिएको समस्या व्यक्तिगत रूपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताए । बस्नेतले वर्तमान प्रधानन्याधीश हटाएर नयाँ प्रधानन्याधीश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिएको आशंकासमेत गरे ।