काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले बालगोपालेश्वरमा पूजा, दर्शन गरेर टीका लगाइरहेका छन् । मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए । मन्दिर भाइटीकाको दिन भक्तजन आएसम्म खुला गरिन्छ ।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी