सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोस्टका दुई प्रहरीको हत्या घटनामा संलग्न नौजनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने दलराम राना, अर्का रोहित राना र वडा नम्बर–११ का गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार राइभान कुञ्जेडाले भने, “हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।”
उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेलापरेको थियो ।
सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ । रासस