site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौंमा पक्राउ परेका अफगान दम्पती : श्रीमान् यूएनको जागिरे, श्रीमती सरकारी कर्मचारी

पक्राउ परेका अफगान दम्पतीसहितको परिवार  


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार काठमाडौंबाट नियन्त्रणमा लिएका ११ जना अफगान नागरिकलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाइएको छ । पक्राउ पर्नेमा ३ महिला र ८ जना पुरुष छन् ।

जमसध्ये पाँचजना एकै परिवारका हुन् भने बाँकी छ जना फरक फरक परिवारका तथा एकले अर्कोलाई पनि नचिन्ने अवस्थाका रहेको पाइएको छ ।

Argakhachi Cement Island Ad

पाँचजनाको परिवारमा रहेकाहरु श्रीमान्, श्रीमती र छोराछोरीसहित भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । 

उनका अनुसार नियन्त्रणमा लिइएका दम्पतीमध्ये श्रीमान् यूनएनको जागिरे र श्रीमती सरकारी कर्मचारी रहेको खुलेको छ ।

डीआईजी सिंहले भने, “पाँचजना परिवारै आएका रहेछन् । अफगानिस्तानमा उनीहरु हुनेखाने परिवारकै पनि रहेको देखियो । त्यहाँ असुरक्षाका कारण नेपाल आएको पाइयो । उनीहरुबाट सुरक्षा जोखिम नदेखिएपछि हामीले थप अनुसन्धानका लागि अध्यागमन विभाग बुझाएका हौं । अबको प्रक्रिया विभागबाटै हुन्छ ।”

विभागले उनीहरुलाई डिपोट गर्ने वा कारवाही गर्ने अनुसन्धानपछि टुङ्गो लाग्नेछ ।

पक्राउ परेका ६ जनाले भारतीय नक्कली आधार कार्डसमेत बनाएको फेला परेको छ । सीआईबी प्रमुख सिंहले आफूहरु अवैध रुपमा नेपाल प्रवेश गर्नेहरुप्रति सचेत रहेको र ब्यूरो थप सूचना संकलनमा पनि जुटेको बताए ।

उनीहरुले प्रहरीसँगको कुराकानीमा भारतको नयाँ दिल्लीमा रहेको यूनएन कार्यालयमा शरणार्थीको परिचयपत्र बनाउन लामो समय लाग्ने भएकाले आफूहरु नेपाल आएको बताएका छन् ।

पछिल्लो समय नेपालमा विभिन्न देशबाट मुस्लिम समुदायका व्यक्तिहरु नेपाल आउने क्रम बढ्दो छ । काठमाडौंमा सयौंको संख्यामा रोहिङ्ग्या शरणार्थी बसिरहेका छन् ।

पूर्वसुरक्षा अधिकारीहरु शरणार्थीको रुपमा तेस्रो मुलुकका नागरिक प्रवेशलाई समयमै नियन्त्रण गर्न नसके ठूलो सुरक्षा जोखिम हुनसक्ने बताउँदै आएका छन् । विभिन्न देशका नागरिक नेपालबाट अमेरिका जान पाइने भन्दै काठमाडौं आइपुग्ने गरेको देखिएको छ ।

 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्