site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बीपीको पार्टीमै विवेक र इमानको खडेरी !

लोकतान्त्रिक पार्टीमा विधि र नीतिका आधारमा निर्णय हुन्छ । ती निर्णयहरु विधिअनुरूपका प्रक्रियाका आधारमा पारदर्शीरूपमा कार्यान्वयनमा आउँछन् । लोकतान्त्रिक पार्टी नेतृत्वको हैकमबाट होइन सामूहिक भावनाका आधारमा हुने निर्णयबाट संचालन हुन्छ । गुटको दलदलमा दल फस्ने होइन, विचार समूहको बहसका आधारमा अवसरहरुको न्यायोचित वितरण हुन्छ । 

तर, नेपाली कांग्रेसमा अहिले पनि ४८ साल देखि अवसर पाउँदै आएकाहरू नै मन्त्री बन्दैछन् । एकपटक बन्नु दुइपटकका लागि अवसर, दुईपटक बन्नु तीन पटकका लागि अनि तीन पटक बन्नु चारपटकका लागि अवसर बन्ने चक्र चलिरहेको छ । जिम्मेवारी पाएर पदमा रहँदा ‘डेलिभरी’ शून्य छ, कार्यसम्पादन निराशाजनक छ, त्यही निराशा बाँडेबापत उसैलाई प्रोत्साह दिने काम पार्टीमा भइरहेको छ । नागरिकमा निराशा बाँडेबापत बारम्बार अवसर पाउने कारण के हो ? के कांग्रेस नेतृत्व नागरिकको विश्वासबाट चुडिन लागेको हो ? संसारको कुनै पनि लोकतन्त्रमा यस्तो हुँदैन । प्रजातान्त्रिक मुलुकमा यस्तो कुरा कतै पनि अभ्यास भएको पाइँदैन । तर, हाम्रोमा खुलेयाम भइरहेको छ । 

अर्को कुरा हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो तर पार्टी नेतृतव र गुटको हैकमबाट चलिरहेको छ । जो पार्टीका मूल नेता हुन्छन् उनैको हैकममा पार्टी चल्दैछ । प्रजातन्त्रले हैकमलाई वर्जित गरेको हुन्छ÷निषेध गरेको हुन्छ । प्रजातान्त्रिक प्रणालीमा नेतृत्वले हैकमले होइन संस्थालाई सरोकार राख्ने व्यक्तिहरूको सल्लाह, सुझाव र सहभागितामा मात्र पार्टी संचालन हुन्छ । लोकतन्त्रमा देश सरोकारवाला सहभागितामा चल्नुपर्छ । प्रजातन्त्रमा विश्वास राख्ने पार्टी पनि यसरी नै चल्नुपर्छ । तर, नेपाली कांग्रेसमा यी कुराको अभाव देखिएको छ । हाम्रो लोकतन्त्र मुठ्ठीभर मान्छे (कठपुतलीहरू) बाट चलिरहेको छ । 

KFC Island Ad
NIC Asia

बेलायतका प्रधानमन्त्री टोनी व्लेयरले सन् १९९४ मा आफू शक्तिमा आइसकेपछि प्रजातन्त्रलाई ‘सरोकारवालाको प्रजातन्त्र’ भने । सरोकारवाला सबैको स्वामित्व रहने प्रजातन्त्र भन्न उनले त्यो शबदावली प्रयोगमा ल्याए र अभ्यास गराए । सरोकारी लोकतन्त्रले सीमित व्यक्तिका लागि मात्र अवसर दिने कुरा वर्जित गर्छ । सहकारिताको भावनामा चल्ने प्रजातन्त्र हो सरोकारी प्रजातन्त्र । यसले देशलाई र पार्टीलाई बलियो बनाउँछ । 

तर, हाम्रो पार्टी सरोकारी लोकतन्त्रसहितको पार्टी बन्न सकेन । नेताको मनोगत आकांक्षामा चल्ने पार्टी बन्यो । गुटमा पनि गुटकै नेताको मनोगत चाहनाबाट चल्यो, समग्र पार्टीमा पनि नेताले गुटबाट माथि उठ्ने हैसियत नै देखाएनन् । मनोगत चाहना र गुटगत स्वार्थले पार्टीलाई कार्यकर्ताको अपनत्वबाट टाढा पुर्‍याउँछ । यो भासमा डुबेपछि पार्टी पार्टीकै रूपमा रहिरहन मुस्किल हुन्छ । यस्तो पार्टीलाई लोकतन्त्रिक भनिदैन । अलिकतिमात्रै पनि विवेक भएका मान्छेले यो विकृति विसंगति औल्याउँछन् । औल्याउनेहरू विकृति विसंगतिमा सुधार नभए त्यहाँको आबद्धताबाट निस्क्रिय बन्न सक्छन् । 

Royal Enfield Island Ad

बीपीले नै भन्नुभएको छ – पार्टीभित्र जसले मनोगत चाहना र स्वेच्छाचारिताको खुलेर विरोध गर्छ उही नै असली कार्यकर्ता हो, पार्टीको सच्चा सदस्य हो । हामीले देखेका कुरा औँल्याएनौ भने हामी पनि सच्चा कार्यकर्ता रहँदैनौ । नेपाली कांग्रेसभित्र यो कुराको महसुस गरेकाहरूले संगठित रुपमा आवाज उठाउने हो भने यो प्रवृत्तिको अन्त्य पनि असम्भव छैन । यो प्रवृत्तिको अन्त्य भएर नेपाली कांग्रेस नीतिअनुरूप चल्यो भने साँच्चैको लोकतान्त्रिक पार्टी बन्छ । त्यसो हुन सकेन भने पार्टीभित्र मौलाएको स्वेच्छाचारिता अझ झांगिन्छ र फेरि पनि लोकतन्त्रले अधोगति हुँदै पतनको बाटो समाउँछ । त्यसो भयो भने लोकतन्त्रको भविष्य जोखिममा पर्छ । प्रतिक्रान्तिको जोखिम बढ्दै जान्छ र गैरलोकतान्त्रिक शासन प्रणालीको उदय हुन्छ । लोकतन्त्रलाई स्वेच्छाचारिताले थिच्यो, नेताहरुको स्वेच्छाचारिताले लोकतन्त्रका मूल्य मान्यतालाई प्रहार गर््यो र त्यसलाई रोक्न सकिएन भने प्रतिक्रान्ति अवश्यम्भावी हुन्छ र गैरलोकतान्त्रिक शक्तिको उदय हुन्छ । 

नेपालमा विरोधी शक्तिहरूको प्रहारबाट लोकतन्त्र जति खतरामा छ त्यसभन्दा बढी लोकतान्त्रमाथि लोकतान्त्रिक पार्टीका नेताहरूको स्वेच्छाचारिताबाट खतरा छ । हाम्रा गतिविधि जस्ता छन्, हाम्रो निर्णय प्रक्रिया जस्तो छ यी कुराबाट लोकतन्त्र विरोधीहरूबाट भन्दा बढी असुरक्षित बन्दैछ । लोकतन्त्रका पक्षधरहरु गैरजिम्मेवार हुँदा लोकतन्त्र विरोधी स्वतः बलिया हुन्छन् । अझ लोकतान्त्रिक शक्तिको नेतृत्व अलोकतान्त्रिक हुनुे अलोकतान्त्रिक शक्तिलाई बढी उर्जा दिने काम (फ्युलिङ) गर्नु हो । हामीले गलत गर्दै जाने र हाम्रा खरावी बढ्दै जाने हो भने त लोकतन्त्रवादीमाथि जनताको आस्था पनि घटेर जान्छ । परिणाम, सिंगो लोकतन्त्र धरापमा पर्छ । त्यसैले लोकतन्त्रको भविष्य कस्तो रहन्छ भन्ने निर्धारक हाम्रै गतिविधि हुन् । हाम्रो क्रियाकलापले लोकतन्त्रलाई केन्द्रमा राख्न सकेन र जनताका सवालमा नजरअन्दाज गरियो भने लोकतन्त्रको भविष्य अनिश्चित हुन्छ । 

लोकतन्त्रमा मैले वा उसले जित्ने कुरा महत्त्वको विषय हुन सक्दैन । लोकतन्त्रमा व्यक्ति गौण हो, पद्धति प्रमुख हो । लोकतान्त्रिक पार्टीमा एउटा गुट बलियो र अर्को गुट कमजोर हुँदा खुसी हुने जुन प्रवृत्ति देखिँदैछ, यहीँ लोकतन्त्रमा खतरा देखिदैछ । 

सबैको योगदानले पार्टी यहाँसम्म आएको हो । सबैको योगदानबाट पार्टी यहाँसम्म आएको हो भने सबैको स्थान पनि त सुरक्षित हुनुपर्छ । चरम निस्क्रियता, अयोग्यता वा अकमण्यता र अलोकप्रियताको प्रभाव छ भने मूल्यांकन हुन्छ र त्यस्ता व्यक्तिहरु आफै विस्थापित हुन्छन् । तर, पार्टीमा सक्रिय, पार्टीलाई निरन्तर योगदान दिइरहेका व्यक्तिलाई नै भित्तैमा घचेट्न र धकेल्न खोजिन्छ वा एउटा समूहका खास मान्छेहरूको थिचोमिचो र प्रभूत्व बढाइन्छ भने त्यो लोकतन्त्र बाँच्दैन । 

लोकतन्त्रमा प्रतिपक्षी शक्तिको महत्वपूर्ण स्थान रहन्छ । संसद्मा मात्र होइन, पार्टीहरूमा पनि यसको महत्त्वपूर्ण स्थान हुन्छ ।

प्रतिपक्षका जायज र नाजायज कुरा छुट्याइदिनसक्ने नेतृत्व चाहिन्छ र प्रतिपक्ष पनि जिम्मेवार र रचनात्मक हुनुपर्छ । यसको सन्तुलन बिग्रियो भने पनि लोकतन्त्र कमजोर हुन्छ । तर, हाम्रोमा नेतृत्व र प्रतिपक्षको सन्तुलन भताभुङ्ग अवस्थामा छ ।

पार्टी गलत बाटोमा गएको छ वा सही बाटोमा हिडिरहेको छ ? यसको मूल्यांकन गर्ने काम पार्टीकै कार्यकर्ताको हो । पार्टीका नेता÷कार्यकर्ताको प्रत्यक्ष सहभागिताबाट नै पार्टीले नीति निर्माण गरेको हुन्छ र आफ्ना लक्ष्य निर्धारण गरेको हुन्छ । पार्टीका सदस्यहरूले नै पार्टी गलत बाटोमा गइरहेको छ भने सच्याउने र सही दिशानिर्देश गर्ने हो । पार्टीका सदस्य पार्टीभित्रका बेथिति र यावत विकृतिमा मौन बसे भने त्यो पार्टी र लोकतन्त्र दुवैको भविष्य जोखिममा पर्छ । लोकतन्त्रको मर्मविपरीतका कार्य भइरहँदा पनि पार्टीका कार्यकर्ता मौन बस्छन् भने त्यस्तो पार्टीको आन्तरिक लोकतन्त्रमात्र होइन लोकतान्त्रिक प्राणाली नै असुरक्षामा रहनपुग्छ । लोकतन्त्र असुरक्षित भइहाल्यो भने पनि त्यसबला त्यस्ता नेता/कार्यकर्तालाई आँसु बगाउने अधिकार बाँकी रहँदैन । 

नेपाली कांग्रेस ठूलो उद्देश्यका लागि राष्ट्रलाई र जनतालाई केन्द्रमा राखेर गठन भएको दल हो । विभिन्न जातका निरंकुशतावादी, सामन्तवादी र अप्रजातान्त्रिक सोचलाई निराकरण गरेर सिमान्तमा रहेका जनतालाई यो देश मेरो पनि हो भन्ने भावना जगाएर सबल राष्ट्र निर्माण गर्ने माध्यम हो राजनीतिक पार्टी । यसको प्रमुख काम सीमान्त जनताका भावनालाई मुखरित गर्ने हो ।

त्यसलाई सतहमा पुर्‍याएर सामाधानको खोजी गराउने काम लोकतान्त्रिक पार्टीको हो । पार्टी धेरै मानिस संगठित भएको एउटा बृहत् परिवार हो । पार्टीका हरेक क्रियाकलापमा सबै सदस्यको सहभागिता र सरोकार रहन्छ । राम्रो काम गर्दा सबै सदस्य उत्साहित रहन्छ भने गलत काम भएमा त्यसले सबैलाई दुःखी बनाउँछ । त्यसैले पार्टीका कार्यकर्ताहरू सामूहिकरूपमा सच्याउन लाग्छन् । 

कांग्रेसमा यो कुरा पनि ठीकसँग कार्यान्वन भइरहेको छैन । संघर्षमा पार्टीको सबै सदस्य साझेदार र सहभागी छन् । गलत ‘ट्रयाक’मा गएको देशलाई सही बाटामा ल्याउन आन्दोलन र संघर्ष गर्छन् । तर, उपलब्धिमा निश्चित समूहले तर मार्ने काम गरिरहेको छ । परिणामस्वरूप संघर्षमा रगत पसिना बगाएकाहरू मूकदर्शक/रमिते बन्नुपर्ने अवस्था छ । यो वर्तमानको सबैभन्दा ठूलो अवगुणमात्र होइन लोकतन्त्रका लागि  त्रासद अवस्था पनि हो । 

दुनियाँका फस्टाएका लोकतन्त्रमा यस्तो कहिँ पनि हुँदैन । तुलनात्मक रूपमा छिमेकी मुलुक भारतमै पनि लोकतन्त्र फस्टाएको छ । रीति, थिति, परंपरा र परिपाटीको हाम्रोमा भन्दा धेरै परिपालना भएको छ । सन् १९४७ मा भारत स्वतन्त्र भए यता र १९४९ मा संविधान जारी भए यता ७२ वर्षमा भारतको लोकतन्त्र खासै संकटमा परेन । त्यहाँ सरकारहरू संकटमा परे, पार्टीहरू पनि संकटमा परे तर लोकतन्त्र नै संकटमा परेको छैन । किनभने त्यहाँ विधि र प्रक्रियामा चल्ने प्रणाली स्थापित गरियो । त्यसले आफैँ काम गर्न थाल्यो । 

अमेरिका सन् १७७६ मा स्वतन्त्र भयो । त्यसपछि त्यहाँ लोकतन्त्र संकटमा परेको छैन । स्वतन्त्रता प्राप्तिपछि अमेरिककामा ‘सिभिल वार’ भयो । काला र गोराका बीचमा संघर्ष पनि भयो । तर, लोकतन्त्र नै संकटमा चाहिँ परेको छैन । पछिल्लोपटक त डोनाल्ट ट्रम्पले राष्ट्रपतिमा बहाल रहँदै निर्वाचनकोे परिणाम अस्वीकार गर्नेजस्तो अलोकतान्त्रिक र गैरराजनीतिक हठ लिएर ज्यादती गर्न खोजे पनि लोकतन्त्रलाई संकट पार्न सकेनन् । त्यहाँको लोकतन्त्र यस्तो दह्रोसँग स्थापित भएको रहेछ कि अमेरिकाको सबभन्दा शक्तिशाली पदमा बहाल रहेको दुनियाँकै शक्तिशाली मान्छेले पनि संकट ल्याउन सकेन । निर्वाचनको परिणाम उल्टाउने प्रयासलाई त्यहाँको पद्धतिले असफल बनाइदियो । 

हाम्रोमा लोकतन्त्र बारम्बार जानेआउने भइरहेको छ । हाम्रोमा पद्धतिलाई बलियोसँग स्थापित नगर्दाको परिणाम हो यो । यहाँ त पद्धति बसाल्नै सकिएन, सायद चाहिएन । पूर्णप्रजातान्त्रिक सोच, पूर्णप्रजातान्त्रिक चरित्र र पूर्णप्रजातान्त्रिक प्रतिबद्धता भएका व्यक्ति शासनमा नपुग्दा हाम्रोमा यो हालत भएको हो । त्यसबाहेक हाम्रोमा अलिकति फरक अवस्था कम्युनिस्टहरू प्रभावशाली हुनुले पनि आएको छ । हाम्रोमा लोकतन्त्रलाई सङ्लिन नदिन र वातावरण बिथोल्ने काम कम्युनिस्टहरूबाट भएको छ । पुराना शक्ति (जो अलोकतान्त्रिक भएकै कारण राजपाट गुमाए) उनीहरूभन्दा जनमतमा धेरै बलिया देखिएका कम्युनिस्टले प्रजातन्त्रको यात्रामा अवरोध उत्पन्न गरे । लोकतन्त्र उनीहरूको धेय नहुँदा राजपाट सम्हाल्दा कम्युनिस्टहरूले लोकतन्त्रलाई ध्येय बनाउने कुरै भएन । बरू जनतामा स्थापित लोकतन्त्रप्रतिका धारणा बदल्ने र अराजकता उत्पन्न गरेर आफ्नो अस्तित्व निरन्तर राख्ने तिनको लक्ष्य बन्यो । 

हामी कांग्रेसीहरूले पनि लोकतन्त्रको मर्मअनुसार, मूल सिद्धान्त र आचरणअनुसार लोकतन्त्र र व्यवस्थालाई अघि नबढाएर त्यसको मतियार बनेका छौँ । हामीमा पनि पुराना व्यवस्थाका मानिसहरूको चारित्रिक बिरासतमा आयो । कम्युनिस्टहरूका पनि केही खराबी हामीमा आए । त्यसैले लोकतन्त्र पटकपटक गुम्न पुग्यो । 

कुनैपनि लोकतान्त्रिक पार्टीको जीवन उसको आन्तरिक लोकतन्त्रमा भर पर्छ । आन्तरिक लोकतन्त्र भनेको मूलत सरोकारी हुनुपर्छ । विधिको निष्ठापूर्वक अभ्यास हुनुपर्छ । हामीले गरेको निर्णय पारदर्शी हुनुपर्छ । निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता हुनुपर्छ । अवसरको न्यायोचित वितरण हुनुपर्छ ।

तर, हुनपर्ने कुरा कांग्रेसमा भइरहेको छैन । पार्टीमा मूल नेताको प्रभुत्व र पार्टीभित्रका गुटमा गुटकै नेताको प्रभुत्व छ । मनोगत चाहनाअनुसार पार्टी र गुट चल्ने, विधि र पद्धतिको उपहास हुने काम भइरहेकै छ । अवसरको वितरणमा पनि भेदभाव नै देखिन्छ ।  दलभित्र अवसरको वितरण गुटका आधारमा हुने, गुटको पनि आफ्ना आज्ञाकारीलाई मात्र अवसर उपलब्ध गराउने अभ्यास भइरहेकै छ । संघर्षमा सबै साझेदार हुने तर अवसरमा चाहिँ तमासे भएर हेर्नुपर्ने अवस्था छ  । यो लोकतान्त्रिक पार्टीको चरित्र हुँदैहोइन । हाम्रो पार्टी यीनै प्रवृत्तिहरुबाट शिकार भएको छ । 

कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेको छ । पार्टी जसरी चल्नुपर्ने हो केन्द्रदेखि वडासम्म त्यसरी चलिरहेको छैन । अहिलेको लागि पार्टीको रुपान्तरण भनेको पार्टीलाई केन्द्रदेखि वडा तहसम्म सहीरूपमा चल्ने परिपाटी निर्माण गर्नु हो । 

पार्टीका सदस्यहरूले कस्तो पार्टी खोजेको छन् भन्नेमा पनि ध्यान पुग्नु अवश्यक छ । पार्टीका कार्यकर्ताले खोजेको – नेताको बोलीमा विश्वसनीयता होस् । नेतृत्वमा प्रभावकारिता होस् र नेतामा प्रतिस्पर्धी क्षमता पनि होस् । नेताको जीवनशैली सरल होस् र  पारदर्शी पनि बन्न सकोस् । आफूले मान्ने नेता बेदाग होस् । नेता विनम्र भइदियोस्, कार्यकर्ताका लागि सहजै उपलब्ध पनि होस् । पार्टीको केन्द्रदेखि वडासम्मका कार्यालय अन्य संस्थाका कार्यालयजस्तै नियमितरूपमा चल्न सकुन् । पार्टीभित्रको ठूलो संख्याका सदस्यले क्षमताका आधारमा जिल्मेवारी पाउन् । उनीहरुले क्षमताका आधारमा पार्टीबाट ‘फेबर’ खोजेका छन् भने पाउन् । 

पार्टीमा सदस्यका लागि दण्ड र पुरस्कारको नीति लागू होस् । राम्रो काम गर्ने जुनसुकै तहको व्यक्ति किन नहोस्, उसले प्रोत्साहन पाओस् । नराम्रो काम गर्ने कोही छ भने जु्नसुकै तहको होस् उसलाई दण्ड दिने व्यवस्था गरियोस् । अनुशासनको परिपालनाका लागि कडा नीति अख्तियार गरियोस् ।

अहिले त गुटका आधारमा अवसरको वितरण हुन्छ । पाएका अवसर पनि गुटले न्यायोचित वितरण गर्दैन । पार्टीले त झन् गर्दै गर्दैन । यी गलत प्रवृत्तिमा बदलाव होस् । सकारात्मक परिवर्तनतर्फ कांग्रेस जाओस् यही त हो नि कार्यकर्ताले हेर्न खोजेको कांग्रेस । यस्तो कांग्रेस बन्यो भने जनताका सवालमा अथाह काम गर्न सक्छ । व्यक्तिगत लाभ र गुटगत स्वार्थमा नेताहरु चुर्लुम्म डुवेका बारण कार्यकर्ताले नेतामाथि नै विश्वास गर्न नसक्ने र पार्टीमाथि जनताले विश्वास गर्न नसक्ने अवस्था निर्माण भएको छ । 

अरू पार्टीको अवस्था यसभन्दा पनि खराब छ तर लामो राजनीतिक यात्रा र अनन्त भविष्यसम्मको राजनीतिक मियो बन्ने कांग्रेस अरूका खराबीमा आफ्नो सुरक्षा खोज्ने पार्टी बनेर बस्न सक्तैन । अरूभन्दा हामी कम खराब छाैँ भनेर होइन हामी असल छाैँ, जनताका सवालमा हामी चुक्दैनौ भन्न सक्नुपर्छ । जनअपेक्षालाई उपेक्षा गरेर होइन जनअपेक्षाभन्दा एक कदम अघि बढेर जनता र देशका आवश्यकता यी हुन् भन्न सक्ने कांग्रेस बनाउनु रूपान्तरणका पक्षधरको जिम्मेवारी हो ।

यो जिम्मेवारी कांग्रेसको महाधिवेशनमा एक जना सभापतिको चयनका समयमा चिन्ता गरेर पुरा हुँदैन । यो जिम्मेवारी त प्रत्येक कांग्रेसीले आचरण सुधारको प्रतिबद्धताबाट सुरु हुन्छ । त्यसको अभिमत वडा तहमा नेतृत्व र प्रतिनिधि छनोटमा सुरु गरेर केन्द्रीय महाधिवेशनको केन्द्रीय नेतृत्व चयनमा गएर टुंगिने हो । अहिले वडा अधिवेशन भएका स्थानमा कार्यकर्ताले यो अभियान थालेका छन् भन्ने मेरो विश्वास छ । वडा अधिवेशन बाँकी रहेका स्थानमा आफूलाई सुधार्दै संगठन र पार्टीमा सुधार ल्याउने प्रतिबद्धता नेता कार्यकर्तामा हुँदै होला । त्यो प्रतिबद्धताले कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो अमूल्य मतमार्फत एउटा अभिव्यक्ति दिनेछ । जुन कांग्रेस पार्टीको अनन्त भविष्यका लागि बलियो जग बन्नेछ ।  (कुराकानीमा आधारित)
घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro