site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
कांग्रेस युवासँग सैद्धान्तिक बहस अपेक्षित

नेपाली कांग्रेस चौधौं महाधिवेशनको चटारोमा छ ।  महाधिवेशनको कार्यतालिका बारम्बारको परिवर्तनले यो चटारो शिथिल र अनिश्चय आशंकामा पनि रुमलिएको छ । मुलुकमा क्रियाशील सशक्त दलहरुमध्येको अग्रज नेपाली कांग्रेसलाई एकमात्र लोकतान्त्रिक दल मान्नु नेपालको राजनीतिक यथार्थ हो ।

थप सरकारको नेतृत्वमा रहेको जेठो दलको महाधिवेशनप्रति राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो रहनु स्वाभाविकै हो । महाधिवेशन तयारीको चुनावी गतिविधिमा देखिएको सक्रियताजस्तै सैद्धान्तिक बहसमा हुन नसकेको स्मरणीय टिप्पणीहरु मननयोग्य समेत छन् । 

कांग्रेस महाधिवेशन नेतृत्व चयनको कार्यक्रमसमेत भए पनि यही बेला सैद्धान्तिक र कार्यक्रमिक चिन्तनको अपेक्षा राखिन्छ ।

KFC Island Ad
NIC Asia

कांग्रेसका युवा नेताबाट यस्तो बहस अपेक्षित छ । कांग्रेसमा अग्रज शीर्ष पदाधिकारी सैद्धान्तिक चिन्तनमा उदासीन देखिएकाले पनि युवा नेतासँग अपेक्षा बढेको हो । 

सैद्धान्तिक नेतृत्व लिन चुकेको पदासीन नेतृत्वले आफैँलाई नीति र सिद्धान्तको प्रतीक ठान्ने अति आत्ममूल्यांकनले सैद्धान्तिक बहसलाई ओझेलमा पारेको हो । महाधिवेशन तयारीको सन्दर्भमा भावी नीति र कार्यक्रम निर्धारण गर्ने बहसको लागि कुनै संस्थागत प्रयत्न भएको छैन । 

Royal Enfield Island Ad

नीतिगत छलफलको लागि कथित भितर, इतरबाट औपचारिक, अनौपचारिक कुनै समिति वा टोली बनाइएको पनि छैन । जुन आवश्यक र सम्भव छ । नीतिगत तदारुकतामा उदासीनताको यसभन्दा अर्को उदाहरण आवश्यक छैन । नेतृत्व वा पदको दावा गर्ने भने लहर नै चलेको छ । प्रजातान्त्रिक राजनीतिलाई सिद्धान्त र व्यवहारको सन्तुलनमा प्रस्तुत गर्ने परिमार्जन सामयिक आवश्यकता हो । 

साध्य निश्चित छ तर त्यो साध्य पाउने साधनमा परिमार्जन आवश्यक छ । नेपाली कांग्रेसको साध्य जनता र राष्ट्रहित केन्द्रित हो ।

नागरिकको सर्वतोमुखी हित र देशको पक्षमा प्रयुक्त हुने फलदायी साधन के के हुन् तिनको पहिचान र परिमार्जनले समयलाई सम्बोधन गर्ने  नीतिगत बहस नै अहिलेको माग हो । 

राष्ट्रियता, लोकतन्त्र र समाजवादले कांग्रेसको साध्य लक्ष्यलाई बोलेको छ । साथै जय नेपाल र ‘सबै अट्ने देश, सबैलाई समेट्ने कांग्रेस’को मान्यताले आफ्नो साध्यप्रति थप प्रकाश पारेको छ । मूलभूत यिनै अवधारणामा जनहित केन्द्रित साध्य पाउने साधनको सामयिक परिमार्जन नै अहिलेको सैद्धान्तिक वा नीतिगत र कार्यक्रम योजना आवश्यक देखिएको हो । 

साधनको  विषयमा आधारित बहस गर्न सकिन्छ । निष्कर्ष दिन सकिन्छ । यसले राजनीतिमा जनविश्वास बढोत्तरी गर्नेछ । यही खाँचो पूर्तिका लागि कांग्रेसको वैचारिक युवा पुस्ता अग्रसर हुनुपर्ने देखियो । वैचारिक बहस र निष्कर्ष दिन युवापुस्तामा सक्षम व्यक्ति पनि छन् । बाँकी इच्छाशक्ति हुनुपर्यो, उदासीनता मेट्नु पर्यो । गुटलाई संरक्षण दिइरहेको व्यक्ति नेतृत्व रिसाउँला कि भन्ने भयबाट युवा नेतृत्व मुक्त हुनु पर्यो । 

सैद्धान्तिक लक्ष्य प्राप्तिको साधन पहिचान गर्न वैचारिक पुस्ता अघि सर्ने बन्ने हो भने राजनीतिक चिन्तक, विश्लेषकहरु पनि विषय बहसमा आकर्षित हुने सम्भावना प्रशस्त छ । त्यस्तो सम्भावना उद्घाटित पनि गर्नुपर्यो र आह्वान पनि । चाहने हो भने यसको लागि वर्तमान ‘डिजिटल’ युगमा साधन र माध्यमको कमी छैन । प्रिन्ट (छापा)को प्रभावकारिता पनि निर्मूल भएको छैन । 

सैद्धान्तिक बहस जडसूत्रीय हुनु भने हँुदैन । सिद्धान्त र व्यवहारको प्रयोगात्मक सन्तुलन मिल्ने गरी बहससँगै निष्कर्ष आउनुपर्छ । सिद्धान्तको एकोहोरो प्रलाप जडसूत्रीय हुन जान्छ । व्यवहारको एकपक्षीय दाबा तानाशाहीको बाटो हुन्छ । यसकारण आवश्यक छ, सिद्धान्त र व्यवहारबीच सन्तुलित समन्वय । 

बीपी कोइरालाले भन्नुभएजस्तै ‘व्यवहार र सिद्धान्तबीच सन्तुलन राख्नु प्रजातन्त्रवादी नेपाली कांग्रेसको  कार्य प्रणाली हो ।

सिद्धान्तको एकोहोरो दुहाइले जडसूत्रीय कम्युनिस्ट र व्यवहारको रुखो दावाले पञ्चायती तानाशाहजस्तै होइन्छ । प्रजातन्त्रवादी कांग्रेस यीभन्दा अलग सिद्धान्त र व्यवहारको समन्वयकारी प्रयोक्ता हो ।’ सैद्धान्तिक बहसमा बीपीको यो मान्यता अनुकरणीय छ । 

बीपीले त्यसबेला कम्युनिस्ट विचारको जडतामाथि  गर्नुभएको टिप्पणीलाई यतिबेला सोझै बुझ्नु हुदैन, त्यस्तो पनि छैन । तर कम्युनिस्टहरुमा त्यस्तो जडताको भग्नावशेष  चांिहँ छ र पनि यतिबेला तिनीहरुको प्राथमिक पहिचान सिद्धान्तहीनता र स्खलन हो । ढुलमुले कम्युनिस्टहरु प्रायः सरकार, सत्ताको आयव्ययको व्यवहारमा केन्द्रित पञ्चायती अवशेष वाहक भएका छन् । राजा संरक्षित पञ्चायती व्यवस्था त सदाको लागि असान्दर्भिक भइसक्यो । अवशेष चाहिँ बाँकी । 

यिनीहरुको ढुलमुललाई कम्युनिस्ट पहिचान पनि दाबा गर्ने र सँगै लोकतन्त्रको पगरी पनि गुथ्न चाहने विरोधाभाषी कुराले बुझन् सकिन्छ । अधिनायकवादी चिन्तन केन्द्रित कम्युनिस्ट मान्यता र स्वतन्त्रता प्रत्याभूत गर्ने प्रजातान्त्रिक दर्शन स्थापित दुई भिन्न राजनीतिक मत हुन् । यी दुई मान्यतालाई सँगसँगै हिँडाउन सकिँदैन । कि त समूल सैद्धान्तिक रुपान्तरण जरुरी हुन्छ, कम्युनिस्ट चिन्तनमा । नेपाली गीतको बोल छ नि– ‘हामी नदीका दुई किनारा,हाम्रो मिलन असम्भव छ’ । कम्युनिस्ट चिन्तन र प्रजातान्त्रिक दर्शन नदीका दुई भिन्न किनाराजस्तै । राजनीतिक नदीका दुई भिन्न किनारा ।                   

राजनीतिक दर्शनले सिद्धान्तको मार्गचित्र देखाउँछ । ढुलमुल सिद्धान्त होइन । सैद्धान्तिक धरातल कमजोर पर्दा कुनै पनि दलभित्र व्यक्ति नेतृत्वको गुट, उपगुट र फुटको स्थिति बन्छ । नेतृत्व प्रधान, नीति गौण । गुटहरुको अस्वस्थ स्पर्धाले कार्यकर्तामा वैमनस्य पनि थप्छ र राजनीति भट्किन जान्छ । नेपाली राजनीतिको यथार्थ अहिले यही छ । 

दलमा गुट हुन्छन् तर गुट व्यक्ति नेतृत्व होइन विचारको बहसमा केन्द्रित हुनुपर्छ । विचारको स्खलनले कांग्रेसमा व्यक्ति केन्द्रित गुटहरु भरमार भएका हुन्, नैतिक समूह कमजोर ।  वैचारिक गुटले वाद, प्रतिवाद र संवाद गर्छ अनि  निष्कर्षमा पुग्छ, त्यहाँ मिलनविन्दु भेटिन्छ । तर, नेतृत्व केन्द्रित गुटबाजीले नीतिहीन वैमनस्य बढाएर कार्यकर्ताबीच फाटो पार्छ । त्यही भइरहेछ ।   

नेता केन्द्रित गुटगत प्रक्रिया अन्त्य गर्ने चिन्ता छ भने सिद्धान्त केन्द्रित बहससमूह निर्माणले त्यो चिन्ता हटाउन मद्दत गर्ने छ ।

नेपाली कांग्रेसको लागि महाधिवेशनको यो बेला बहसको उपयुक्त समय हो । को पदाधिकारी बन्ने, बनाउने अधिक चर्चाले समयमात्र खेर जान्छ । 

नेपाली कांग्रेसका केही युवा नेताले कतिपय सामयिक विषयमा सामूहिक रायलाई एउटै वक्तव्यमार्फत सार्वजनिक  गरेका छन् ।

पार्टीको आन्तरिक विषयमा  सामूहिक राय लिखित पत्रमार्फत सभापतिलाई पनि दिएका छन् । यो तरिका वाञ्छनीय नै हो । 

तिनै युवा नेता महाधिवेशनको बेला सामूहिक सैद्धान्तिक बहस गर्न किन तयार भएनन् ? साध्य प्राप्तिको साधन पहिचान र परिमार्जन गर्न किन ती जुटी रहेका छैनन् ? यसमा व्यक्तिगत प्रयत्न पनि ठीकै हो तर कतै यो आत्मश्लाघाको द्योतक हुने र सामूहिक प्रयत्नलाई ठोस आकार दिन बाधित गर्ने कारण बन्छ कि ? ध्यान जाओस् । 

र, अब ढिला नगरी कांग्रेस युवा नेतृत्वले नीति, सिद्धान्त, कार्ययोजना र कार्यसूची (एजेन्डा)माथि सामूहिक बहसलाई एकीकृत आकार देओस् । आफ्नो सामूहिक सान्दर्भिकता पनि यिनले स्थापित गरुन् । सक्षम युवा पुस्ताले एउटै मञ्चबाट सैद्धान्तिक मार्ग निर्धारणलाई नेतृत्व दिऊन् र संगठनमा नेतृत्व पनि लिऊन् । शुभेच्छा ।      
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro