काठमाडौं । “मास्क लगाउने, स्वास्थ्यका मापदण्ड पालना गर्र्ने त दोस्रो प्राथमिकताको कुरा अहिलेलाई ज्यान कसरी बचाउने भन्ने चिन्ता छ, राजापुरका बाढी प्रभावितलाई । हामी पनि कतै जलमग्न बाटो छिचोलेर कतै प्रहरीको सहयोगमा डुंगा चढेर भर्खरै त्यही क्षेत्रमा औषधि वितरण गरेर फर्किएका छौँ । यहाँका प्रभावितहरू अहिले रोगको भन्दापनि भोकको चिन्तामा छन् ।” यो भनाइ स्वास्थ्य कार्यालय बर्दियाका हेल्थ सेक्सन चिफ गणेश अर्यालको हो ।
पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरापालिका १, २, ३ र बेरुवा गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितहरू पालिकाका विभिन्न विद्यालयमा आश्रय लिएर बसेका छन् ।
बाढीले पानीका श्रोतहरूसमेत दूषित भएपछि झाडापखाला, रुघाखोकीका बिरामी देखा पर्न थालिसकेका छन् । बाढीकै कारण पानीजन्य प्रकोपजन्य रोगहरू फैलिनसक्ने बाढीग्रस्त क्षेत्रमा खटिएका अर्याल बताउँछन् । स्वास्थ्य कार्यालय गुलरियाले बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोग फैलिनसक्ने भन्दै आधारभूत औषधि वितरण र नियमित परीक्षणका लागि स्वास्थ्यकर्मीको तीनवटा टोली खटाइएको कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक गणेश गिरीले बताए ।
निरन्तरको वर्षाले डोटीको सिलगढीस्थित स्वास्थ्य कार्यालयको भवनको रहेको आधा भाग पहिरोले बगाएको छ । पहिरो प्रभावित क्षेत्रमा नियमित खोप कार्यक्रमसमेत अवरुद्ध हुनसक्ने देखिएको छ । पहिरो प्रभावित तीनवटा पालिकासँग अझैपनि नियमित सम्पर्क हुन सकेको छैन ।
“८ गतेदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका थियौँ । तर, बाटो नै खुलेन भने कसरी खोप पु¥याउने भन्ने चिन्ता छ,” स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धव बहादुर ठगुन्नाले भने, “गाडी जहाँसम्म जान्छ, त्यहाँसम्म स्वास्थ्य सामाग्री लगेर बााकी बाटो पैदमार्गबाट भएपनि पुर्याउनुपर्ला,” ठगुन्नाले भने ।
यता मंगलबार रातिको पहिरोले हुम्लाको खार्पुनाथ गाउँपालिकामा एकै घरका ६ जनाको मृत्यु भयो । यसअघि नै स्वास्थ्य सामाग्री पर्यापत नपुगेको हुम्लामा पहिरोले स्वास्थ्य सेवामा थप कठिनाइ थपेको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहकाअनुसार ७ वटामध्ये अधिकांश गाउँपालिकामा मेडिकल सामग्री पर्याप्त छैन । कात्तिक ८ गते सञ्चालन गर्न लागिएको राष्ट्रिय भिटामिन ए कार्यक्रमलाई समेत प्रकोपले असर पार्नसक्ने सिंहको चिन्ता छ ।
उता धनकुटाको चौबिसे गाउँपालिकामा मंगलबार राति गएको पहिरोले ६ जनाको मृत्यु भएको छ भने मुलघाट सडकखण्डको झन्डै १ किलोमिटर बाटो पहिरोले अवरुद्ध छ । चोबिसे क्षेत्रका आकस्मिक बिरामीलाई बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धद्धार गरी धरान ल्याइए पनि सो क्षेत्रका तीनवटा पालिकामा आवतजावत नै बन्द भएको छ ।
स्वास्थ्य लकार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाइँका अनुसार सो पहिरो प्रभावित क्षेत्रका चौबिसे, साँघुरीगढी र सहीदभूमिमा स्वास्थ्य सामाग्री ढुवानीमा समस्या भएको छ । “पहिरोले थुनिएको सडक खुल्यो भने त नियमित सेवा दिनेछौँ, नखुलेको अवस्थामा ६ गतेदेखि दिने भनिएको भिटामिन ए कार्यक्रम र नियमित खोप कार्यक्रम पनि अवरुद्ध हुनसक्छ,” गुरागाइँले भने ।
बाढी र पहिरोका कारण देशभरका १३ जिल्लामा गरी बुधबारसम्म ५५ जनाको मृत्यु भइसकेको छ भने २६ जनाभन्दा बेपत्ताको खोजीकार्य जारी छ । ‘पास्ट मनसुन’को समयमा भएको भारी वर्षाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम त प्रभावित भएको छ नै महामारीजन्य रोग फैलिने सम्भावना पनि उत्तिकै बढेको छ ।
जिल्लास्थित स्वास्थ्य कार्यालयहरूबाट र्यापिड रेस्पोन्स टिम खटाइएको छ भने औषधि वितरण महामारी रोकथामका लागि समन्वयकारी भूमिकाका लागि सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएको छ ।