site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
राजनीतिमा मर्यादाहीन बलको प्रभुत्व 

नेपाली राजनीतिमा बलको प्रभुत्वप्रति चिन्ता र चिन्तन सुरु भएको छ । प्रभावशाली दलहरूको महाधिवेशन र सम्मेलनको अहिलेको परिवेशमा यस्तो चिन्ता व्यापक हुन थालेको हो । बलको प्रभुत्वले राजनीतिमा पारेको प्रभावको विषयमा एकातिर चिन्ता छ अर्कोतिर चिन्तन पनि । 

राजनीतिमा बलको वर्चस्व किन बढ्यो र यसको कारक पात्र को हुन् ? चिन्ता र चिन्तन यही विषयमा केन्द्रित छ । चिन्ता जनआधारित बलप्रति गरिएको होइन, सिद्धान्तको बलप्रति पनि छैन । चिन्ता र चिन्तन धन (मनी) र पाखुरे (मसल) बलको प्रभावप्रति गरिँदै छ ।

सैद्धान्तिक जानकारी पनि नराख्ने र राख्न उत्सुक पनि  नहुने वर्ग, राजनीतिक योगदान र निरन्तरता प्रायः शून्य तर धन बल र उमेरको दावा गरेर राजनीतिमा प्रभावी हुन घुसपैठ गरेको मूढपेलहरूप्रति दलका निष्ठावान् राजनीतिकर्मीबाट चिन्ता र चिन्तन सुनिन थालेको हो ।

KFC Island Ad
NIC Asia

दलहरूले स्थानीय तहदेखि राजनीतिमा कुनै पनि तहको जिम्मेवारी पाउन सदस्य हुनैपर्ने बाध्यकारी सीमा तोकेको कारण जस्ताले पनि कुनै न कुनै दलमा घुस्नैपर्ने बनायो । राजनीतिक अवसरमा पदासीन हुन चाहनेहरू कुनै एक दलको सदस्यता लिन बाध्य भए । राजनीतिमा स्वतन्त्र चिन्तकको ठाउँ अत्यन्त संकुचित बनाइयो । क्रमशः भ्रष्ट मनोवृत्ति व्यापक भयो । यही नै राजनीतिक प्रवृत्ति बन्न थाल्यो ।

स्वतन्त्र चिन्तक वा विषयविज्ञलाई भनिएका ठाउँ पनि दलकै कार्यकर्ताले भरिन थाले । फलतः राजनीतिमा स्वतन्त्र चिन्तकको लागि अवसर शून्य समान भयो । कुनै पनि नियुक्तिमा समेत सम्बद्ध विधाका विज्ञभन्दा राजनीतिक दलको व्यक्ति नै रोजाइमा पारिने भयो । सबै अवसरलाई राजनीतिले गाँजेपछि जस्ता मानिस पनि राजनीतिमै गाँजिनुपर्ने स्थिति बन्यो ।

Royal Enfield Island Ad

स्वःस्फूर्त चिन्तनले राजनीति र दलसँग जोडिनु जति स्वाभाविक मानिन्छ त्यति नै अस्वाभाविक हो बाध्यकारी अवस्था । नेपालका दलहरूले नै बाध्यकारी (कु)नीति बनाए । राजनीतिमा लाग्दिन भन्न पाइन्छ, सकिन्छ तर इमान र क्षमता भए पनि यस्ताले चुलोचौकोबाहेक देशहितमा राजनीतिक जिम्मेवारी पाउन असम्भव प्रायः छ ।

हालै कुनै एक क्याम्पसमा प्राध्यापनको अवसर पाएका भाइ भन्दै थिए, ‘मलाई कुनै राजनीतिक दलसँग लगाव थिएन, तर कुनै सिद्धान्तप्रति आस्थावान् मानेर नै मैले अवसर पाएँ । अहिले बुझ्दै छु, कुनै दलसँग चिनिएको नाता नबनाए सुरक्षा पाउनै मुस्किल पर्ने रहेछ, क्षमताले मात्रै काम गर्ने रहेनछ ।’

त्यसो त कुनै दलसँगको पहिचानले सुरक्षा पाइन्छ, तर त्यही पहिचानविपरीतको दल शक्तिमा रहे असुरक्षित पनि बनाइन्छ, दुःखसमेत दिइन्छ । त्यहाँ क्षमता, इमान र व्यावसायिकताको मर्यादा राखिँदैन । नेपाली राजनीतिमा अनुदार संस्कारको अर्को पाटो हो यो – अति दलीयकरण ।

राजनीतिमा सबै वर्ग, व्यवसाय र पेसाका जिज्ञासु र विज्ञको प्रवेश नराम्रो पनि होइन । बरु स्वागतयोग्य हो । राजनीतिमा स्वःस्फूर्त प्रवेशको आकर्षण दलहरूले बनाउने हो, राजनीतिलाई स्वच्छ, स्वस्थ बनाएर । अवसरको प्रलोभनमा दल प्रवेशलाई बाध्यात्मक बनाउने विधि स्वीकार्य नहुनुपर्ने बरु तिरस्कृत हुनुपर्ने । बाध्यकारी राजनीति स्वस्थ, स्वच्छ बन्न सक्दैन । यो विधिले दल, नेता र राजनीतिकर्मीप्रति विश्वास, सम्मान र आकर्षण पैदा हुन पनि सक्दैन ।

सामान्य ज्ञानमा निजी अनुभवले राजनीतिको सतही वा गहिरो विश्लेषण गर्दै पत्रकारितामा प्रशिक्षित भइयो । जति भइयो व्यावहारिक कम, बढी सैद्धान्तिक रह्यो भन्दा फरक पर्दैन । यसपटकचाहिँ व्यावहारिक रूपमै राजनीति कर्मलाई स्वआस्थाको सेरोफेरोमा साक्षात्कार हुने अवसर जुरेको छ । यही अवसरले जुरायो राजनीतिमा अवसर खोज्नेहरूसँग जम्काभेट ।

थोरै नै होउन् तर त्यागी, तपस्वी जसका कारण अझै पनि राजनीतिमा धुकधुकी छ त्यस्तासँग पनि यो अवसरले नजिकैबाट भेटायो । यो मौका प्रयोग गर्दा जसले इमानले राजनीतिमा जीवन लगाए त्यस्ता आदर्शसँग पनि मिलायो । यिनै आस्थाका प्रतीकलाई फाल्नुपर्ने, व्यक्त्याउनुपर्ने, बाहिर घच्टेनुपर्ने मनी, मसलको धाकधम्कीको दाबा पनि सुनायो, देखायो, चिनायो, दम्भ बुझायो ।

आफ्नो बखान्ने, अरूको अमूल्य योगप्रति उल्टी छाद्नेहरू पनि सुनिए, सुनिनैपर्ने भए । हिजो बढी सुनेर, देखेर बुझायो । योपटक भान्छामा भोगेरसमेत बुझायो । यही अवसरले छर्लंग जुरायो राजनीतिमा छलबलको प्रभुत्वप्रति चिन्ता, चिन्तनसँग ।

चिन्ता तिनैले पनि गरेको सुनिँदै छ जसले दलको संगठन, संरचनामा अनपेक्षित, अस्वाभाविक, अमर्यादित र भ्रष्ट चरित्र भित्र्याउन नेतृत्व गरे वा सहभागी रहे । राजनीतिलाई नै भ्रष्ट ठेक्कापटा र क्रयविक्रयको व्यवसाय बनाए । त्यसले आफैँलाई खान थालेपछि तिनमा पनि चिन्ता मुखरित हुन थालेको छ । चिन्तन गर्नेचाहिँ यीभन्दा फरक राजनीतिलाई स्वच्छ, स्वस्थ र मर्यादित देख्न चाहनेहरू हुन् ।

राजनीतिमा पैसाको बल प्रभावी भएको, सैद्धान्तिक निष्ठा र प्रशिक्षण शून्य प्रायः भएको चिन्ता व्याप्त छ । पदको व्यापारको कथा सुनिन्छ । पद वा त्यसको टिकट किनबेच हुने, खरिदबिक्री गर्न सक्नेहरू नै राजनीतिमा प्रभावशाली हुँदैरहेको चिन्ता निकै सुनियो, नजिकैको भोगाइले पनि देखिएको हो, देखायो पनि ।

राजनीतिमा, दलहरूमा ठेक्कापट्टा फस्टाएको र दलाली मौलाएको चिन्ता बढेको छ । पदले पैसा प्राप्तिको भ्रष्ट द्वार खोलेको छ । मर्यादाहीन हुँदैगर्दा  राजनीतिलाई मर्यादाहीन अपसंस्कारले गाँजेको छ । महामना बीपी भन्नुहुन्छ, ‘प्रजातन्त्र प्राप्तिपछि राजनीतिमा हावी हुने भुइँफुट्टाहरूसँग निष्ठावान् राजनीतिकर्मीले पुनः संघर्ष गर्नुपर्छ ।’ शब्द उहाँका छन् भनाइको अर्थ यही हो ।

बीपीले उहिल्यै देखेको चित्र यति बेला नेपाली राजनीतिको यथार्थ भएको छ । यो अवस्था, चिन्ता र चिन्तनको उत्पादक कार्यकारक को हो ? सोझो र छोटो उत्तर छ– दल र तिनका नेता, जसले राजनीतिक अवसरलाई खरिदबिक्रीको व्यापार, व्यवसाय बनाए वा यस प्रवृत्तिको साक्षी बसे । कोही चोखा प्रायः होलान्, भए केही होलान् । यस्तो व्यापारमा नलाग्ने ती कतै नगण्य नहोउन् ।

राजनीतिको सर्वांगमा बल व्याप्त भएको छ । धन बल, छल बल र भ्रष्ट बल । यस्तै बल व्याप्त रहँदा गठजोडले सांसदको झन्डै दुईतिहाइमा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार पतन भयो । कम्युनिस्टका नेता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दम्भी, स्वेच्छाचारी, तानाशाही प्रवृत्तिवाहक र अन्त्यमा अवैध बलमा पदासीन त्यो सरकार ढल्नु थियो, ढल्यो ।

विकल्पमा बन्यो पाँच दलको गठजोड सरकार । यसका पनि आन्तरिक कठिनाइ छन् । अवसरका मित्रहरूबीच भित्रभित्रै कथा, व्यथा छन् । तर, यो सरकार प्रजातन्त्र र संविधानको रक्षा गर्ने नारा उद्घोष गरेर बने, बनाइएको हो । सरकारी बल प्रयोगका केही नमिठा उदाहरण भने यसपटक पनि बनिसकेका छन् । बलको अनपेक्षित प्रयोग नहुनुपर्ने अपेक्षा हो ।

अरू किन ? हालै नेपालगन्जबाट बीस दिन पैदलयात्रा गरेर न्याय खोज्न आएको महिलाको समूहप्रति सरकारले देखाएको अनुदार, असहिष्णु प्रदर्शन नै पर्याप्त उदाहरण हो । लामो यात्राले तिनका गोडा घायल देखिए, गोडा सुन्निएका चित्र सञ्चारमाध्यममा पर्दामा कुदिए ।

ठूलाबडाले ‘हामी यहाँ छौँ’ भन्दै सगर्व पलेँटी–धर्ना निर्वाध बसेको ठाउँ माइतीघर मण्डलाबाट न्याय माग्ने ती थकित, गलित महिलालाई प्रहरीले निर्मम प्रक्रियो रे । अनपेक्षित बल प्रयोग सुन्दै मानवीय मन घायल हुने । न्याय पनि माग्नु पर्ने हो र ? पाउनुपर्ने होइन र ?

प्रजातान्त्रिक मन भएर होला, ती न्याय खोज्ने महिलालाई सरकारले पक्रिएको होइन होला, नियन्त्रणमा लिएर कतै उपचारको लागि लाने होला भन्ठाने सुरुमा । सरकारमा पदासीनले जस्तै ‘लक्जरिएस, फाइभस्टार’ होटेल नभए पनि धर्मशालामै सही उपचारसहित पुर्‍याइएला र सरकार भनिने संस्थाले तिनको न्यायको आवाज सुन्ला भन्ने लाग्यो । तर, केही बेरमै प्रष्ट भयो यो त फगत सदिच्छा रहेछ । हाय ! मेरो मुलुकको प्रजातन्त्र, ती महिलाजस्तै घायल । बोध भयो, स्वयं प्रजातन्त्र यो मुलुकमा न्याय खोज्दै छ ।

बीस दिन कठोर यात्रा, तिनीहरूको रहर कि बाध्यता ? बाँके, नेपालगन्जकै प्रहरी प्रशासनले चित्तबुझ्दो गरी अनुसन्धान र न्यायको अनुभूति दिन्थ्यो भने के ती यहाँसम्म पैदल धाउँथे ? तिनको दोष के थियो र ? बाँकेकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत भेटिएकी र परस्पुरकी निर्मला कुर्मी हराएको घटनाको अनुसन्धानमा स्थानीय प्रहरी प्रशासनले गम्भीर वा जिम्मेवार अनुसन्धान नगरेको गुनासो उनीहरूको थियो ।

आधुनिक यातायात प्राप्त हुने सुविधा प्रयोग नगरी न्याय पाइने अपेक्षाले पैदलै राजधानी आउने ती महिलाले माग गरेको अनुसन्धान र न्यायको पुकारप्रति जनताको सरकार संवेदनशील हुनुपर्ने । सरकार लज्जित र क्षमाशील मुद्रामा देखिनुपर्नेमा उल्टै सत्ताको बल प्रयोग गर्ने ? गिरफ्तार गर्ने ? सरकारमा आसीनहरूले के ठानेका छन् कुन्नि, तर प्रजातन्त्र नै लज्जित भएको यो घटना सुन्ने, जान्ने जनता दुःखी छन् ।

राज्यको अंगप्रत्यंगमा अनपेक्षित, अवैध, असीमित र अमर्यादित बल प्रयोगको निरन्तरता जब्बर छ । राजनीति र दलका संगठन, संरचना र संस्कारमा यस्तै दुष्चरित्रको बोलबाल प्रभावी हुँदै छ, तिनैको निर्णय प्रभावकारी । सिद्धान्तको मिठो धून छैन, चरित्र कुरूप भएको, बनाइएको छ । कुरूप, कर्कश चरित्रले भट्ट्याउने सिद्धान्तको राग धून होइन, अन्नमा लागेको घुनजस्तै हो । अमर्यादित बलको शासनले समाजको गन्तव्य कस्तो होला ?     
                 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro