site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘देशका लागि स्वर्णपदक जित्दा बेग्लै महसुस हुनेरहेछ’

काठमाडौं । राष्ट्रिय प्रतियोगितामा धेरै उपाधि जिते पनि कुसुम खड्काले अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकेकी थिइनन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दाको अनुभव बटुल्न व्यग्र थिइन् ।

कराँते खेलाडी कुसुमले १२औँ सागमा निकै आशा गरेकी थिइन् । तर, आयोजक भारतले सागमा कराते विधा नै हटाइदिएपछि कुसुमको प्रतीक्षाको घडी झनै लम्बियो ।

सागको १३औँ संस्करण नेपालले नै आयोजना गर्दै थियो । घरेलु मैदानमै हुन लागको सागमा सफलता हात पर्नेमा कुसुम आशावादी थिइन् । किनकि, उनले त्यहीअनुसार मिहिनेत गरेकी थिइन् ।

सागको पहिलो खेलमा कुसुमले श्रीलंकाको खेलाडीलाई प्रतिस्पर्धीको रूपमा पाइन् । फाइनलमा भने उनले बंगलादेशको खेलाडीलाई प्रतिस्पर्धीको रूपमा पाएकी थिइन् । सबैलाई पाखा लगाउँदै कुसु्मले ४५ किलोमुनिको तौल समूहमा स्वर्णपदक जितिन् ।

“घरेलु प्रतियोगिताहरूमा धैरै पदक जितेँ । प्रायः सबैमा सफलता मिल्यो । सफलतामा सबैलाई खुसी मिल्छ । तर, धेरै भएपछि त्यसको महत्त्व कम हुँदै जाने रहेछ,” कुसुमले भनिन्, “तर, सागमा राष्ट्रको झन्डा बोेकेर पदक जित्नु नै ठूलो हो । मैले त स्वर्णपदकै जितेँ । त्यसबाट आमा, बाबा मक्ख हुनुभयो । सबै परिवार मेरो जितमा दंग भए । देशका लागि स्वर्णपदक जित्दा बेग्लै महसुस हुनेरहेछ । त्यो विशेष क्षण म कहिल्यै बिर्सन सक्दिनँ ।”

त्यो विशेष क्षणबारे कुसुम थप्छिन्, “जित्नेबित्तिकै बेग्लै अनुभूति भयो । खेल जीवनले पूर्णता पाएको महसुस भयो । मेरो स्वर्णमा म मात्र खुसी थिइनँ, सबै नेपाली खुसी थिए । अब भने जिम्मेवारी थपिएको महसुस भएको छ ।”

पाँच कक्षासम्म पढ्दा कराँतेको बारेमा उनलाई केही ज्ञान थिएन । विद्यालयमा साथीभाइसँगै दौडमा भाग लिन्थिन् । केही समयपछि कुसुमले कराँते खेल्न थालिन् । उनी त्यसैमा रमाउन थालिन् । त्यसपछि घरनजिकैको बौद्ध डोजाङमा भर्ना भइन् ।

सुरुमा कराँते खेल्नका लागि परिवारलाई मनाउन कुसुमले संघर्ष गर्नुप¥यो । जसोतसो उनले कराँते प्रशिक्षणलाई निरन्तरता दिइन् । एक दशकको संघर्षपछि उनलाई ठूलो सफलता मिल्यो । त्यो थियो, १३औँ सागमा स्वर्णपदक ।

“सानो हुँदा कराँतेबारे केही ज्ञान थिएन । साथीहरू दौडेको देख्दा मलाई पनि रहर लाग्यो । सँगै दैडिन्थेँ । पछि मेरो खेलयात्रा कराँतेतर्फ मोडियो । अहिले सही बाटोमा हिँडेको महसुस हुन्छ,” उनी भन्छिन् ।

कुसुमले बौद्ध डोजाङबाट थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् । सुरुका प्रतियोगिताहरूमा उनलाई सफलता मिलेन । तर, असफलताबाट उनले हिम्मत हारिनन् । पूवाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भइन् । त्यसपछि उनको मनोबल बढ्यो । तर, नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा उनी असफल भइन् । ४५ केजीमुनिको तौल समूहमा दोस्रो भइन् ।

“सागका लागि छनोटकै रूपमा रहेको आठौँ राष्ट्रिय खेलकुदमा असफल हुँदा मनमा धेरै कुराहरू खेले । मेरो सपना नै पूरा नहुने हो कि भन्ने चिन्ताले सतायो । तर, मेरो लागि अन्तिम छनोट पनि बाँकी थियो । अन्तिम छनोटमा सफल हुन्छु भनेर हिम्मत हारेको थिइनँ,” कुसुम भन्छिन् । ।

आठौँ राष्ट्रिय खेलकुदमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई सागको छनोटका लागि बोलाइएको थियो । कुसुम दोस्रो भएको नाताले प्रशिक्षणमा सहभागी भइन् । उनको एक मात्र लक्ष्य सागमा देशलाई स्वर्ण दिलाउने भयो ।

“देशको लागि स्वर्ण जित्ने जिम्मेवारी मेरो काँधमा आयो । स्वर्णपदक नै भन्ने थिएन, तर जे जति खेल्छु आफ्नो शतप्रतिशत दिएर खेल्छु भन्ने थियो,” कुसुमले सागको तयारीका दिन सम्झिइन्, “यो दिनदेखि नै सागका लागि जोस, हौसला र आत्मविश्वासको जुगाड गर्न थालेँ । किनकि, मेरो तौल समूहमा स्वर्ण जित्न त्यति सहज भने थिएन ।”

कराँते संघभित्रको विवादका कारण खेलाडीहरूले धेरै राम्रो तयारी गर्न भने पाएनन् । पूरेन्द्रविक्रम लाखे र दावा लामाको दुई संघ बनाउने विवादले खेलाडीहरूको तयारीमा समेत असर परेको थियो ।

“नेपालमा राम्रो तयारी हुन सकेन । विवादका बीच खेलाडीले तयारी गर्नुपरेको थियो । तर, हामीले १० दिनका लागि विदेशमा गएर प्रशिक्षण गर्ने मौका पायौँ । त्यही तयारी नै हाम्रा लागि खेल जित्ने आधार बन्यो । सुरुदेखि नै राम्रो तयारी भएको भए नेपालका अझै धेरै खेलाडीले सफलता हात पार्थे,” कुसुमले सुनाइन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro