नेकपा (एमाले) विभाजनपछिको पहिलो कार्यकर्ता जमघट ‘विधान महाधिवेशन’ तामझामसाथ सकिएको पनि केही समय भइसक्यो । यो विधान महाधिवेशनमा जुन तामझाम देखाइएको थियो, त्यो देखावटी मात्र रह्यो । विधान महाधिवेशन सामान्य पार्टी कार्यकर्ता र नेतालाई उत्साह, आशाको गोरेटो बन्न सकेको देखिएन ।
विधान महाधिवेशनको अवधि र आजसम्म पनि मैले एमाले नेता–कार्यकर्ताको समाजिक सञ्जाल हेरिरहेकोछु । केही ठूलै नेताहरूसँग कुरा पनि गरेँ । उनीहरूको मनोविज्ञान बुझ्ने प्रायास गरेँ । तर, मैले खड्गप्रसाद ओलीको उचाइ बढेको महसुस गर्न सकिनँ ।
उनको ख्याति बढाउन खडा गरिएको ‘डमी’प्रति संकेत गर्दै एकजना कार्यकर्ताले मलाई भने, ‘ओली कमरेडको उचाइ हामीले फोटो खिचेको ‘डमी’जस्तै नक्कली हो ।’
इमानदार, विचार र व्यवहारलाई आदर्श मान्ने कार्यकर्ताहरूको मुख्य गुनासो थियो, ‘अध्यक्ष ओलीको स्तुतिगान बढी भयो ।’ भन्दै थिए, ‘डमीमा फोटो नखिच्ने हो भने कतै एमाले नै पो होइन रहेछ भन्लान्जस्तो भयो । फोटो खिचियो र पोस्ट पनि गरियो ।’
केही नेताले पनि ओलीको यो स्तरको प्रचारवाजीप्रति खुलेरै असन्तुष्टि व्यक्त गरेका थिए । हुन पनि कार्यकर्ताहरू पार्टीको नीति, विधि र विधानमा छलफल गर्न पो आएका थिए त ।
बिचरा ती कार्यकर्ताले त्यसको महसुसै गर्न पाएनन् ।
कार्यकर्ता भने पार्टी नै फुटेको यो दुर्दशाबीच पार्टी फुट्नुको कारण र निराकरण खोज्न चाहन्थे । पार्टीलाई फेरि एकजुट नै पो गर्न सकिन्छ कि भन्ने झिनो आशामा थिए ।
नेपालको इतिहासमा फुट्नुमा कीर्तिमान कायम गरिरहेका नेपालका कम्युनिस्ट पार्टीहरूका लागि विधान महाधिवेशनमा आशाको गोरेटो देखियोस् भन्ने चाहना देखिन्थ्यो कार्यकर्तामा ।
समग्र भने छलफल गर्नु त के यस्ता विषय नै उठेनन् । बरु यो विधान अधिवेशनमा उठेको र उठाइएको विषयले इमानदार एमाले कार्यकर्तालाई दुःखी गराएको रहेछ ।
पहिलो ओली कमरेडप्रतिको स्तुतिगान र देवत्वकरण । यो देवत्वकरण कसरी, कसले, किन ग¥यो त्यो पनि थाहा रहेनछ बिचराहरूलाई । उनीहरूको जिज्ञासा यतिमात्र थियो, ‘के साँच्चै त्यस स्तरको देवत्वकरण जरुरी थियो ? अनि विधान महाधिवेशन यसको लागि नै थियो ?’
यसरी यो विधान महाधिवेशन ओलीलाई नेपालकै महान् नेताका रूपमा देवत्वकरण गर्ने योजनाअनुसार डाकिएको देखियो जुन अन्ततः ‘डमी (नक्कली)’ हुन पुग्यो ।
दोस्रो गुनासो थियो, ‘माधव नेपाल र नेकपा (एकीकृत समाजवादी)मा गएका नेता’कार्यकर्ताप्रति हिलो छ्याप्ने विरोधको शैली । पार्टी फुट्नुको दोषी माधव र तिनका सहयोगीमात्र हुन् भन्ने स्थापित गरा हदैसम्मको छुद्र टिप्पणी महाधिवेशनमा भएछ ।
त्यसलाई पनि इमानदार कार्यकर्ताले पटक्कै मन पराएको देखिएन । उनीहरूको भनाइ थियो, ‘आलोचनाले भन्दा आत्मालोचनाले प्रगतिको बाटो देखाउने थियो ।’
पक्कै पनि दुवै पक्ष दोषी छन् पार्टी फुट्नुमा । को कति दोषी हिसाबकिताब गरेर हेरे देखिएला । तर, विधान अधिवेशनमा पार्टी विभाजनमा ओलीको कुनै गल्ती नै नभएको र ओलीले एक ढिक्का बनाउन अति नै प्रायस गर्दा पनि माधव नेपालले पार्टी फुटाए भन्ने गलत भाष्य थोपर्ने प्रयास गरियो ।
यो प्रयास पनि अन्ततः ‘डमी’ नै साबित हुनपुगेको देखियो ।
तेस्रो, हिजो जसले ओली सरकार गिराउन सहयोग गरे ती आज एमालेमै भए पनि गद्दार हुन् र तिनलाई जसरी पनि पार्टीभित्र ओझेलमा पारिनुपर्ने मानसिकता स्थापित गर्ने प्रयास भएछ । हुन त यो नेपाली कम्युनिस्टको इतिहाससँगै आएको असहिष्णु संस्कारकै उपज हो । कम्युनिस्ट पार्टीमा सँगै बस्दा देवताजस्ता लाग्ने नेता फुटपछि राक्षस देखिन्छन् ।
यो विधान अधिवेशनबाट न त माओवादीबाट उछिट्टिएकाहरू सन्तुष्ट देखिए न त माधव नेपालसँग बस्दा चुनाव जितिँदैन भन्ने डरले ग्रस्त १० भाइ नै । एकीकृत, जुझारु, अनुशासित, नैतिक एमाले देख्न चाहने इमानदार एमाले कार्यकर्ता त खुसी हुने आधारै रहेन ।
समग्रमा यो विधान अधिवेशन खड्गप्रसाद ओलीले गरेको गल्तीलाई ‘‘गहुँत’ छर्कने यज्ञमात्र भएको देखियो जहाँ उनको डमीमा अनुयायीले धूपबत्ती बाले, पूजापाठ गरे । उनको स्तुति गाए, जयजयकार गरे, फोटो खिचे, पोस्ट गरे । फलप्रसादस्वरूप केही पदको आशा बोकेर फर्के ।
नेपालको राजनीतीमा ओलीको उचालिएको उचाइ विधान महाधिवेशनमा राखिएको ‘डमी’ हो कि अरू केही हो हेर्नै भने आउदो चुनाव कुर्नुपर्ला कि ?