site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘इमर्जिङ’ उषा : सानो उमेरमै ठूलो सफलता  

काठमाडौं । अग्लो कद, हँसिलो अनुहार । सानैदेखि भलिबलप्रतिको लगाव । १५ वर्षको उमेर लाग्दा नै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल उषा भण्डारी विभागीय क्लब नेपाल पुलिसकी खेलाडी हुन् ।

क्लबको पहिलो रोजाइमा रहेकी उषाको एउटै लक्ष्य राष्ट्रिय टोलीलाई साग भलिबलको उपाधि दिलाउने भन्ने हो । अहिले उनी त्यसैका लागि मिहिनेत गरिरहेकी छन् ।

ओपन स्पाइकरको भूमिका निभाउन सहज ठान्ने उषा घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रियस्तरमा राम्रो खेलाडीको छवि बनाउन सफल छिन् । नेपाल पुलिस एकेडेमीकी उत्पादन उषा सानैदेखि भलिबलमा लाग्ने पारिवारिक माहोलमा हुर्किइन्, जसले उनलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्‍यो । एक समय ब्याडमिन्टन खेल्ने मनसाय बनाएकी उषालाई अहिले भलिबल निकै प्यारो छ ।

“मलाई भलिबलमै राम्रो भविष्य छ भन्ने लाग्यो, त्यसैले यही रोजेँ,” उनी भन्छिन्, “पहिले ब्याडमिन्टन खेल्ने सोच बनाएकी थिएँ । अब भलिबलमै केही गरेर देखाउने लक्ष्य छ । भलिबलमार्फत राष्ट्रलाई योगदान दिने उद्देश्य छ ।”

उनको खेल प्रदर्शन र खुबीलाई उमेरसँग तुलना गर्दा सबै चकित पर्छन् । १७ वर्षको कलिलो उमेर र परिपक्व हुँदै गएको खेलले भलिबल समर्थकलाई उत्साहित बनाउँछ ।

तनहुँ घर भएकी उषाले आफ्नो जादुमय खेल प्रदर्शन गर्दै १४औँ ढोरपाटन राष्ट्रिय महिला भलिबल लिगमा उत्कृष्ट स्पाइकरको पुरस्कार जितेकी थिइन् । पहिलो खेलबारे सम्झिँदै उषा भन्छिन, “केही डर लागेको थियो । विस्तारै त्यो डर पनि हट्दै गयो । अब भलिबल कोर्टमा जाँदा कसरी राम्रो खेल पस्किने भन्नेतिर मात्र ध्यान जान्छ । जसरी पनि उत्कृष्ट खेल पस्किने मेरो उद्देश्य हुन्छ ।”

घरेलु प्रतियोगिता न्यु डायमन्ड कप, सभामुख कप, प्रधानमन्त्री कप, एनभीए भलिबल च्याम्पियनसिप, ढोरपाटन राष्ट्रिय भलिबलमा उनले आफ्नो खेलकौशल देखाइसकेकी छन् । “म सुरुवाती अवस्थामा छु । अझै धेरै कुरा सिक्न बाँकी छ । सानो उमेरमै राष्ट्रिय टोलीमा छनोटमा पर्दा भलिबलप्रति अझै उत्साह जागेर आएको छ,” उनले भनिन् ।

सात वर्षको उमेरबाट खेल क्षेत्रमा हामफालेकी उनले सानै उमेरमा राष्ट्रिय टोलीमा पर्नु अवसर र चुनौती उत्तिकै देखेकी छन् । भन्छिन्, “सानै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएँ । यो मेरो लागि अवसर र चुनौती दुवै हो । क्लबका लागि पनि मैले आफूले सकेजति प्रदर्शन गर्न सकेकी छु । अब मेरो मुख्य लक्ष्य भनेको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय उपाधि दिलाउनु हो । त्यसकै लागि अहिलेबाट राम्रो तयारी गरिरहेकी छु ।”

उषाले सिनियर टोलीबाट भलिबल खेल्न थालेको तीन वर्ष भयो । उनले पहिलोपटक आदि आवादि भलिबल प्रतियोगिताबाट पुलिसको सिनियर टोलीमा डेब्यु गरेकी थिइन् । सिनियर टोलीमा स्थान बनाउन उनलाई चुनौती थियो । उनको खेल लगावले त्यो चुनौती सजिलै पार भयो ।

“मभन्दा अनुभवी दिदीहरू हुनुहुन्थ्यो । म त्यही भएर कोर्टमा बस्थेँ । मौका पाएँ अनि खेल देखाएँ,” उनले थपिन्, “भलिबलले मलाई उषाको परिचय दिएको छ । मैले अब भलिबलमै लागेर देश र नेपाली भलिबलका लागि केही गर्ने सोच बनाएकी छु । नेपाललाई अब सागमा उपाधि दिलाउने योजना रहेको छ ।”

उषाले भर्खरै मात्र काठमडौंमा सम्पन्न छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर, उनको टोली नेपाल पुलिसले उपाधि जित्न भने सकेन । पुलिस तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली एपीएफसँग पराजित भयो ।

उषाले अब आउने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएकी छन् । उनले पुलिसका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएकी छन् ।

“मेरो चाहना जति पनि प्रतियोगिताहरु खेल्छु, त्यसैमा आफूले उत्कृष्ट प्रदर्शन गरौँ भन्ने हुन्छ । कुनै खेलमा आफूले सोचेजस्तो प्रदर्शन हुँदैन,” उनले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro