घुमिफिरी फेरि दसैँ आयो । मानव सभ्यताले निर्धारित समय मापनको विधिमध्ये विक्रम सम्वत्को तिथिमिति मिलाएर यस वर्षको दसैँ पनि सदा झैँ हाम्रो घर आँगनमा टप्किएको छ । बडादसैँ र विजया दशमी भनी पनि पुकारिने प्रत्येक दसैँमा हामी आगामी दिन मंगलमय बन्ने शुभकामना लिन्छौँ, दिन्छौँ । वास्तविकता भने त्यति सुखद छैन । यद्यपि समग्रमा दुःखद पनि भन्न मिल्दैन ।
कृषि कर्मबाट फुर्सद मिलेपछि आप्तजनसँग सामूहिक भेटघाट र खानपिनसँगै रमाइलो गर्ने अवसरमा विकसित गरिएको मानिने चाडपर्वमध्ये दसैँसमेत एक हो । विविध संस्कृतिको धनी नेपालमा मनाइने सबैजसो पर्वहरू प्रकृति, मौसम वा कृषि कर्मसँग निकटता रहेको बुझिन्छ । तिनको व्याख्या पनि यसरी नै गरेको सुनिन्छ ।
जुनसुकै कारण र मौसममा मनाइए पनि हाम्रा नेपाली चाडपर्व अन्ततः संस्कृति र राष्ट्रिय पहिचानको माध्यम बनेका छन् । वैश्विक संस्कृति पनि अधिक चाड पर्वसँग जोडिएकै छन् । सबैका पर्वको आआफ्नै विशेषता र व्याख्या भए पनि ती संस्कृतिको प्रमुख पहिचानसमेत बनेका छन् ।
प्रकृतिको चिनारी दिने, कर्मसँग जोडिएको चाडपर्व क्रमशः विकसित हँुदै सामाजिक संस्कार, संस्कृति बनेको हुनुपर्छ । सन्दर्भ दसैँको पृष्ठभूमि पनि यही हो । सम्बद्ध जीवन जगत्लाई प्रत्यक्ष, परोक्ष प्रभावित गर्ने आरम्भमा अंकुरित विषयले निरन्तरको अभ्यासमा झाँगिएर चाडपर्वले बहुआयामिक प्रभाव पारेको छ ।
कर्मसँग जोडियो, धर्मसँग जोडियो । आस्थाको भाव बन्यो र आर्थिक, सामाजिक मेलमिलापको गतिविधि भयो । अब दसैँ कर्मधर्म मात्रैमा सीमित रहेन । व्यापक आर्थिक, व्यापारिक र उत्पादन, उपभोगको संस्कृति पनि बन्यो । यसरी चाडपर्व जीवनपद्धतिको महत्त्वपूर्ण स्रोत, सिर्जना बनेको देखिन्छ । सुरुमा सकारात्मक तर नकारात्मक दृश्यसमेत पर्वमा देखिन थालेको पनि वर्षौं भएको छ ।
तामझाम र आडम्बर नै सामाजिक मर्यादा ठान्ने कथित धनीमानीको व्यवहारले हुँदा खाने वर्गलाई मर्मान्त चोट दिने नै भयो । तिनका केटाकेटीको ठाँटबाठ र आफ्ना केटाकेटीको खाली पेट, नांगो आँङ ? पैसा नहुने बाआमाले के भनी सम्झाउलान् आफ्ना अदना बालबच्चालाई । तिनको लालसा बालखैमा निमोठिएको छ । संस्कृतिमा थपिएको निष्ठुरी विकृति ।
नेपाली समाजले कति दसैँ मनायो होला ? जति वर्ष बिते, जति विकसित भनियो त्यति नै गहिरो बनेको खाडलको दुई किनारामा दुई वर्ग उभिएको छ । सम्पन्न र विपन्न । निम्नमध्यमलाई धौधौ छ, मध्यम वर्ग आडम्बरी वर्गतिरै लहसिन उत्सुक हुन्छ । देशमा यस्तो अवस्था किन सुध्रिएन ? झन् थप बिग्रियो किन ?
यो त भयो हाम्रो आर्थिक, सामाजिक दृश्यको ऐना । राजनीतिक परिदृश्य पनि सुन्दर छैन । हुन्थ्यो भने आर्थिक दृश्य पनि अलि संलो देखिने थियो । धमिलो राजनीतिले अमिलो अर्थस्थिति हाम्रो नियति नै बन्यो । सुध्रिन्छ कहिले, प्रतीक्षामै वर्षौं गुमे, पुस्तौँ बिते । राजनीतिले नै बिगार्यो, राजनीतिले नै सुधार्ने हो, राजनीति नै सुध्रिने हो । केही सुधारेको पनि त छ । पूरै नकारात्मक र निराशा होइन ।
मानिसको खुसी असीमित छ । कति हुँदा खुसी, के हुँदा पर्याप्त खुसी वा कति नहुँदा दुःखी, के नहुँदा बेखुसी ? यसको सीमा छ र ? असीमित । फुलेको पारिजात, हाम्रोतिर शृंगारको फूल पुकारिन्छ । आफ्नै अनुभूति, गमलाको त्यही पोथ्रोमा कोपिला देखिएको केही दिन बिते, आजै एउटा फूल सुगन्धित फक्रिए छ । रमाइलो खुसी लाग्यो, अनायास मुसुक्क ओठ विस्फारित भएछ । सबै वेदना बिलाए, तत्क्षण खुसी दियो एक थुँगा फूलले ।
मानिसको खुुसीको कारण ? सीमा छ ? असीमित छ । लाखौं हुनेलाई करोडौं चाहिएको छ । करोडौंलाई अर्बौं, खबौंको लोभ छ । त्यसैले त तस्करी टिकेको छ, माफियागिरी उच्च छ । भ्रष्टाचार मौलाएको छ । असीमित विकृति । खुसीको सीमा छैन,असीमित । शुद्ध श्रम मिहिनेत पनि यही समाजमा छ ।
ती केटाकेटीले मनपरी, भेटभरी दसैँ परिकार पाए, एकसरो नयाँ लुगा तिनको आंगले भेटे ? तिनको खुसी शृंगारको एक थुँगा फूलले दिएको भन्दा धेरै बढी रमाइलो हुनेथियो । खाना, नानामा त तिनले दसैं चिन्ने थिए । आफ्ना बा आमासित तिनको प्रेमको सीमा कति पुग्ने थियो ? असीमित ।
सम्पन्न, विपन्न खाडल गहिँरिदो छ । केहीको उत्थान भएको छ, केहीको पतन । अर्थको मर्म छोडेर पर्वले पुनः धारण गरिरहेको सहिष्णुतातिर हेरौँ । यही राजनीति हो, जसले पर्वलाई पनि द्वन्द्वको अखडा बनायो । संस्कृति संस्कृतिबीच वैमनस्य खडा गर्यो । जातिजाति, क्षेत्रक्षेत्रलाई लडाउन खोज्यो । राजनीतिक स्वार्थको विषालु खेती गर्यो ।
‘वादे वादे जायते तत्त्व बोध ।’ मानिसको चेतनालाई राजनीतिले मात्रै निर्देशित गर्ने होइन रहेछ । समाजमा त्यो विवेकी शक्ति पनि विद्यमान हुने रहेछ । स्वतन्त्र चिन्तक विवेक । यही विवेकले समाज र व्यक्तिलाई उन्नत वा सुसंस्कृत संस्कारतिर लाग्न प्रेरित गर्ने रहेछ । विविध नेपाली संस्कृतिको द्योतक विभिन्न चाडपर्वप्रति सबैमा देखिएको सहिष्णुता र सम्मान यही विवेकी चिन्तकहरुको बहसको देन हो । नकारात्मक उद्देश्यमाथि विकेकी बहसको प्रहारले समाजलाई सकारात्मक परिणामतिर धकेल्यो ।
वादेवादे..... ।
राजनीतिले फटाउन खोजेको हाम्रो मन यस्तै विवेकी चिन्तकले जोडे । सबै राजनीतिक पात्रलाई एउटै डालोमा हाल्न पनि हुँदैन । केही फोर्न खोज्ने भए पनि यही राजनीतिमा जोड्न चाहने पनि त देखिए । बहु धर्म, संस्कृति रहेको समाजमा खास विशेषतासमेत हुने रहेछ । आआफ्नो धर्म,संस्कृतिको उत्थान र सम्मान चाहनेले अन्यको धर्म संस्कृतिको पनि सम्मान गर्नुपर्ने सिक्दो रहेछ । अरुको सम्मानले आफ्नो सम्मान बढ्ने बुझ्दो रहेछ । यही बुझाइले सांस्कृतिक सहिष्णुताको आधुनिक संस्कारमा नेपाल पुनः प्रवेश गर्दै छ ।
दसैंको सन्देश पनि सम्मान सूचक छ । मेलमिलाप, बा आमा, आफन्त र सबै प्रियजनको शुभकामना, आशीर्वचन ग्रहण गर्ने, पाउने सन्देश सूचक बडादसैं । पूर्वीय वा हाम्रो नेपाली संस्कार प्रकृति, परिवार र सबैप्रति अनुग्रह राख्न प्रेरित गर्छ । यही हाम्रो संस्कृतिको मूल हो ।
पर्वलाई जोडेर राजनीतिले उत्पन्न गरेको सही, बेसही बहसमा सहिष्णु विवेकी मतले सकारात्मक परिणामतिर सामाजिक चेतलाई लक्षित गर्यो । सबै बहसको परिणाम नकारात्मक हुँदैन, बहसले धेरैजसो सकारात्मक निष्कर्ष दिने गर्छ । राजनीतिले विगार्यो कि सुधार्यो ? धेरै बिगारेको छ केही सुधारेको पनि । कसले बिगार्यो होइन जे गर्यो यहीे राजनीतिले ।
कसैले आधा भाग पानी रहेको गिलासलाई आधा भरिएको भन्ला तर त्यो भरिएको चाहिँ होइन नि । खास अर्थ खाली भन्ने नै बुझिन्छ । भरिएको स्थिति त भरिनुमै पो हुन्छ नि ? आधा पेटलाई कसले भरियो भन्छ ? त्यसैले राजनीतिले कति बिगार्यो, कति सपार्यो ? धेरै बिगारेको छ ।
कति दसैँ आए, गए । फेरि आयो दसैं तर देशको अर्थ अवस्था वा जनताको खासगरी विपन्न वर्ग झन् बढी विपन्न हुँदैछ । केही अपवाद होलान् । राजनीति पनि सुध्रिएको अनुभूति कसैसँग छ ? सत्तामा हुनेको दृष्टिदोषको कुरा भिन्नै । समग्र यथार्थमा उही आधा भरिएको गिलास खाली जस्तै ।