काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीश हुने ‘फुलकोर्ट’ बैठकमा अनौपचारिक रूपमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको विषय छलफलको विषय बने पनि औपचारिक रूपमा भने नियमित विषयमा मात्र छलफल हुने स्रोतले जनाएको छ ।
“दसैँअघि बस्ने यो नै अन्तिम फुलकोर्ट हुने भएकाले दसैँको शुभकामना आदानप्रदान आजै हुन्छ, सँगै दसैँमा अदालत कति दिन बन्द रहने र त्यस अवधिमा के–के काम नरोकिने भन्ने विषयमा पनि फुलकोर्टले निर्णय गर्नेछ,” सर्वोच्चका एक अधिकारीले भने, “त्यसबाहेकका समसामयिक विषयहरू अनौपचारिक छलफलका विषय बन्न सक्छन् ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषयमा सर्वोच्चको विज्ञप्ति आइसकेकाले त्यसबारे औपचारिक छलफल र निर्णय नहुने उनको अनुमान छ ।