site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
टाढाको स्कुल

यसैपल्टदेखि क्यानडाको संघीय सरकारले आवासीय स्कुलमा मारिएका अबोध र निर्दोष हजारौं केटाकेटीको सम्झनामा सेप्टेम्बर ३० लाई सार्वजनिक बिदाको दिन मान्ने र इतिहासमा भएको त्यो नृशंस राजकीय अपराधको स्मरण गर्ने निधो गरेको छ ।

प्रधानमन्त्रीले भने सो दिन परिवारसँग बिताए भन्ने ठूलो होहल्ला पनि हुँदैछ ।

पहिले - क्यानाडाको आदिवासी केटाकेटीमाथि भएको अक्षम्य अपराध बारे । राज्यले नै ‘डीइन्डियनाइज’ गर्ने अर्थात् युरोपेली संस्कृतिमा ढाल्ने भनेर हजारौंको शंख्यामा मसिना आदिवासी केटाकेटीलाई बाउआमा, बाजेबजै र संस्कृतिबाट खोसेर क्याथोलिक चर्चअन्तर्गतको आवासीय स्कुलमा राख्ने गरेको रहेछ । 

KFC Island Ad
NIC Asia

स्कुलमा दाखिला भएपछि अत्याचार त कतिसम्म भने स्कुलमा नै रहेका आफ़्ना सहोदर दाजुभाइ, दिदिबहिनीलाई समेत हेर्न, भेट्न, बोल्न, सांकेतिक संवाद गर्नसमेत नदिइने । सभ्यता सिकाउने, अनुशासनमा राख्ने नाममा कुटपिट गर्ने गरिँदो रहेछ । 

आमाबाबु, बाजे बजै र निकट परिवारको, घरको सन्निकट हुन नपाएका उनीहरु कति त मानसिक र शारीरिक अस्वस्थताले ग्रस्त हुँदा रहेछन् र मर्दा रहेछन् । त्यसरी बिरामी परेर मरेका आदिवासी केटाकेटीको सामूहिक चिहान स्कुल परिसरमा नै खनिदो रहेछ र गाडिँदो रहेछ । न बाबुआमालाई जानकारी न औपचारिक रीतिरिवाज । मान्छे होइन कीरा मरेजस्तो ।

Royal Enfield Island Ad

सन् १९९६ मा आएरमात्र त्यस्तो अन्तिम स्कुल बन्द गरिएको रहेछ । 

त्यस्ता स्कुलको नारकीय जीवनबाट बाँचेकाहरूका अनगिन्ती पीडाका कथा अहिले सतहमा आएका छन् । तीमध्ये यु ट्युबमा आदिवासी कवि डेनिस स्याडलम्यानको  'मोन्स्टर' नामक एउटा सशक्त कविता पाइन्छ। त्यसको एक खण्डको भावानुवाद यस्तो छ - 

“स्टीलका हड्डी र सिमेन्टका मासुले बनेका तिमी एक दानव हौ,
निर्दोष आदिवासी बच्चाहरुलाई सभ्य बनाउने भ्रममा बाँचिरहेको 
कठोर गिर्जाघरको एक दास ,
तिमी एक चिसो मुटुका दानव हौ,
तिम्रो मुटु तिम्रो आफ्नै सिमेन्टको चिसो भुइँजस्तै छ ।
तिमीलाई माया गर्न आउँदैन,
तिमीभित्र स्नेह, ममता छैन,
तिमी जड हौ जड,
बिल्कुल स्थूल,
तिम्रो त्यो कुरूप रातो ईँटले बनेको अनुहार,
त्यसमा ती ससाना झ्यालका चम्किला तर दानवी आँखा,
त्यो देखेर हामी थर्कमान थियौँ,
किन डराएका हौँला हामी ?
आज थोरै लज्जित, धेरै क्रोधित भईकन म भन्छु,
मेरो म खाइदिने
मलाई मेरा बा आमाबाट छुटाइदिने
तिमी शासकको एक अधम दास,
म तिमीलाई घृणा गर्छु आवासीय स्कुल,
 म तिमीलाई घृणा गर्छु।"
 
यो दिनले मलाई आजभन्दा ३८-३९ बर्ष अघिको सिद्धार्थ वनस्थलीमा पुऱ्यायो । हामी आठ कक्षामा पढ्दा एक कक्षामा एकजा भाइ भर्ना भयो । कोपुण्डोलबाट नै बस चढ्ने र उसका बाबाले मेरी आमालाई दिदी भन्ने हुँदा त्यो बालक मसँग नजिक भयो।

बसमा सँधै मसँग बस्न आउँथ्यो र सधैँ मेरो काखमा बसेर रुन्थ्यो । उसको गुनासो हुन्थ्यो- मलाई टाढा स्कुलमा हाल्दे । त्यो अबोधलाई टाढा नजिकको छ्यान त के थियो होला र हजुरबाहरुले भनेको सुन्दो हो ।  तथापि, मम्मी ड्याडीको नियास्रो लाग्दो हो । म सम्झन्छु- किन रोइस् पंकज? भन्यो । टाढा स्कुलमा हाल्दे भन्थ्यो । आज टिफिन खाइनस् त बाबु भन्यो- टाढा स्कुलमा हाल्दे नै भन्थ्यो। उसलाई, त्यो बाल मस्तिष्कमा निश्चय नै दूरीको पीडा गडेको थियो । 

विषय पंकजको मात्र होइन । हामीसँगै पढ्ने दावा लामाको पनि हो। दावा कहाँ छ थाहा छैन । के गर्छ पनि थाहा छैन । तथापि एउटा के थाहा छ भने दावा खेलकुदमा अब्बल, पढाइमा कमसल नै थियो । कमसल भएका कारण पिटाइ खाइरहन्थ्यो। जति पिटाइ खायो, उति ढिट हुन्छन् नि केटाकेटी ! ऊ झन् झन् ढिट हुँदै गयो ।

सर्वाधिक रङ्गीन तत्कालीन वनस्थलीको एउटा कालो अनुहार थियो । त्यो हो -अनुशासनका नाममा ४ कक्षासम्मका बदमास विद्यार्थीलाई सर्वांग नाङ्गो पारेर, सिस्नोपानी लगाएर सल्लाको अल्को रुखमा दिनभरी बाँध्ने ।  दावा निकैपल्ट त्यसरी बाँधिएको मलाई थाहा छ ।

अलि अघि दिवङ्गत हाम्रा तत्कालीन प्रिन्सिपल आदरणीय लक्ष्मण राजवंशीको स्मृतिमा केहि गरौँ न भन्ने हामी २०४२ का ब्याचीहरुबीच कुरा हुँदा सहपाठी वरिष्ठ बालमनोचिकित्सक डा. अरुण कुँवरले भनेको सम्झन्छु - वनस्थलीको तँ हामीजस्ता ‘करियर’मा केही गर्न सकेकाका लागि त ' रोजी पिक्चर' होला साथी, धेरैलाई वनस्थली त्रास बनेर पनि पो बसेको छ कि? लक्ष्मण राजवंशी हाम्रा लागि ‘रोल मोडेल’ त होलान्, तर दावा जस्तालाई ? बाल मनोविज्ञानका केस्रा केस्रा छुट्याएको अनुभवीबाट यति जटिल प्रश्न आयो कि त्यसको जवाफ कमसेकम अहिलेसम्म पनि मसँग छैन । अझ मसँग होस्टेल बसेको अनुभव छैन ।

होस्टेलमा अनुशासनका नाममा भएका हिंसाहरुले कति केटाकेटीको भविष्यमा गहिरो खत बसेको होला ? त्यो खाटो बेलाबखत नउप्किँदो होला ? उप्किँदा नचहराउँदो होला र ? दावाले यो लेख पढ्दै छ भने ऊ भक्कानिदैन होला ? म यो यसकारण लेख्दैछु आफूले पढेको त्यतिबलाको सर्वोत्कृष्ट स्कुलको समेतगम्भीर कमजोरीहरू थिए । उसले आफ्नो कमजोरी महसुस गर्नुपर्छ र सार्वजनिक क्षमायाचना गर्नुपर्छ । आफूले पढेको स्कुल दानव चित्रित भएको हेर्न कसलाई मन पर्छ र ? 

अब विषय अल्लि कोल्टे पारौँ । जीवनको अर्धशतक काटेपछि जीवनयात्रामा भेटिएका कथा, पात्र र परिवेशको मूल्य थाहा हुन्छ । त्यस्तै एक पात्रको प्रवेश नगराई मेरो स्कुलसम्बन्धी यो लेख अपुरो हुन्छ । ती दाजु मैले बोल्नेजस्तै भाषा बोल्छन्, शव्दमात्र होइन भाव पनि । मलाई उक्साई बस्छन् - लु है भाइ ! तपाईँको उपन्यास नपढी सास पनि जान्न होला मेरो त । म भन्दा घटीमा १९- २० भोटो बढी फटाएका ती दाजुले सन् २०१० को दशकको सुरुमा क्यानडाभर छरिएका नेपालीलाई एकै ठाउँमा ल्याउन निकै मिहिनेत गरे, विधान लेखिदिए, स्वयंसेवा गरे र अहिले झेली, घृणित र स्वार्थजनित डफ्फाले उनलाई नेपाली नै मानिदिएन ।

भेटमा उनले विक्रमको २०२० सालतिर विराटनगर हुँदै हिँडेर दोलखा, काठमाडौं गएको कुरो गर्छन् । भुटानमा जन्मेको भए पनि नेपाली मूलको हुँ भन्नुमा गेव गर्छन् । भुटानी शिक्षा मन्त्रालयमा काम गरेका अनुभवी, त्यहाँको पाठ्यक्रम विकासमा प्रत्यक्ष संलग्न, त्यहाँको झेली राजनीतिबाट वाक्क भएर हिँडेका उनी क्यानडामा समेत शिक्षा पेसामा संलग्न भए, विद्यालयमा पढाए र भर्खरै जसो सेवा निवृत्त भए । तिनै दाजुले भन्दै थिए- नेपालले पनि भुटानले जस्तै सायद विद्यालय शिक्षामा सही दिशा पाएन ।  त्यसैले अल्मलियो । 

विद्यालय शिक्षाको म न विज्ञ हुँ न अनुभवी । त्रिभुवन विश्वविद्यालयको प्राविधिक संस्थानमा करिब १७ बर्ष पढाएको र आफ्नो जीवनको ऊर्जाशील समय ( १५- १९ र २५- ४३) त्यही प्राज्ञिक थलो वरपर बिताएको अनुभव भने छ । त्यही अनुभवको आधारमा भन्नु पर्दा नेपाली शिक्षा नीतिमा समस्या देखिन्छ ।

तुलना नै त गर्न नसकिएला तथापि के कुरो प्रष्ट छ भने आवासीय भनेर क्यानडामा चर्चअन्तर्गत चलाइएका स्कुल हुन् वा बोर्डिंग स्कुल भनेर निजी क्षेत्रले नेपालमा चलाएका नेपाली स्कुल, उनीहरूले बालबालिकाको मनमा एक तमासको अनुशासने त्रास मुटुमा किला गाडे झैँ गाडेर दिए । झेल गर, चिट चोर, अर्कालाई दबाएर नै भए पनि फर्स्ट हौ - नेपाली शिक्षा नीतिले यही फलाकीरह्यो ।

नेपाली शिक्षानीतिले त निकै पछिसम्म प्रथम हुने नै सबै क्षेत्रमा अब्बल भन्ने पाठ घोकाइरह्यो । त्यसैले सिद्धार्थ वनस्थलीले हामीभन्दा अघिका सायद पाँच र हामी पछिका पाँच पुस्तालाई न खेलकुद गर्न सहजै दियो, न बाजा बजाउन । न गीत गाउन सजिलो बनाइदियो, न चित्र, मूर्ति बनाउन ।

त्यस्तो रहर गर्नेलाई प्रश्रय दिनुको साटो फेल गरिदियो, लघारिदियो। त्यसको एकमात्र कारण थियो - शिक्षा दिवसमा नेपालभरमा पहिलो स्कुल हुने रहर । त्यसका लागि बोर्डमा ल्याउनु पर्ने अधिक संख्या। मेरो स्मृतिले धोखा नदिएको हो भने हाम्रो ब्याचमा केटातर्फ दसमा सात र केटीतर्फ ३ मा ३ नै बोर्डमा आएका थिए। त्यसले विद्यार्थी विद्यार्थीबीच एक प्रकारको तगारो तेर्स्याइदिएको थियो ।

पढ्न नजान्ने तर खेल्न, गाउन, नाच्न जान्ने त लद्दु ठहरिएको भान हुन्थ्यो । तर समग्रमा, त्यो गलत शिक्षा नीतिको उपज थियो ।

पछि शिक्षा नीति परिमार्जनसहित बोर्डवाला पद्धति त हटाइयो तर त्यसले वनस्थली आफैँ पनि मसाङ्ग्रियो । किनभने पढाउनबाहेक अरू उसले जानेकै थिएन । तथापि, हामीलाई मनग्गे पढाउने वनस्थलीलाई धन्यवाद त जति दिए पनि पुग्दैन ।

त्यसमाथि यस्ता दिग्गज साथीहरुसमेत दियो कि त्यसको कुनै लेखा नै छैन । 

मेरा आदरणीय भुटानी दाजुले भन्नु भएजस्तै ' बनिने त आफैँ हो कि तर बाटो त स्कुलले दिन्छ नि ।' हामीलाई भलै टाढाकै स्कुल किन नहोस्, नपढ़दा रुखमा बाँध्ने स्कुल नै किन नहोस् ? वनस्थलीले एउटा बाटो देखाइदियो । यस महाव्याधिले हामीलाई एक ठाउँमा उभ्यायो ।

संसारभर छरिएर रहेका ब्याची साथीलाई एकठाउँमा बसायो । हामीले 'सिद्धार्थ सिर्जना' नामक अभियान सुरु गर्यौं । सोही अभियानअन्तर्गत अहिले भर्खरै हाम्रो रहर अनि लहडमा आदरणीय गुरु दुर्गालाल श्रेष्ठ 'ख्यलु' को सिर्जनामा प्रभुराज ढकालको  स्वरबद्ध शीर्ष गीत ' बल्दो मैन बत्तिी' सहितको बल्दो मैनबत्ती नै नामको अडियो एल्बम बनायौँ । विन्ध्यवासिनी म्युजिकको संयोजनमा बनेको त्यो एल्बममा सिद्धार्थ सिर्जनाको पसिना परेको छ।  

त्यसमा युनिभर्सिटी अफ पित्स्बर्गको प्रोफेसर जेम्स जोशीको गीत छ, वरिष्ट दन्त चिकित्सक रवीन्द्रमान श्रेष्ठको गीत छ, नेविप्राको इन्जिनियर चिरन्तनविक्रम राणाको गीत छ, अमेरिकामा हुने इञ्जिनियर कमल पौडेलको गीत छ, सिकागोमा नामुद नेपाली सामाजिक महिला अभियन्ता ज्योति गौतम अधिकारीको गीत छ, मैले पनि दुईवटा गीत लेखिटोपलेको छु ।

प्रिय मित्र राजु केसीले गाएको छ । सबै गीतको सङ्गीतकार हाम्रै समकक्षी सहपाठी सङ्गीतज्ञ प्राध्यापक प्रभुराज ढकाल छ । उसैले गाएको पनि छ ।  

असोज महिनाभर सायद ‘हट प्रोपर्टी अफ द मन्थ’ भएर कान्तिपुर एफएममा त्यसका गीत बज्नेछन् । हाम्रो समवयी, संगीत प्रविण नरराज ढकालको सुपुत्र, प्रभुराज रेडियो कान्तिपुरमा गेस्ट बनेर छाउने छ । यी सबै साथीहरुलाई स्कुलमा हुँदा होस् वा टोलमा, सपनामा पनि गीतकार, सङ्गीतकार वा गायक हुने छुट थिएन ।

हाम्रो सामाजिक दृष्टिकोणमा खोट थियो, हाम्रो शिक्षानीतिमा खोट थियो । किनभने, गायक, कलाकार, खेलाडी भनेका समाजका किर्ना हुन्जस्तो गरिन्थ्यो ऊबेला । 
स्कुलको हामी सबैको जीवनमा अमीट छाप हुन्छ । स्कुल क्यानाडेली आदिवासी कवि डेनिस स्याडलम्यानले भने झैँ दानवको प्रतिच्छाया हुनुहुँदैन । स्कुलले मान्छेले जस्तै गल्ती गर्छ, राज्यले जस्तै गल्ती गर्छ ।

महान् त्यो हुन्छ जसले माफी पनि माग्छ, माफी पनि दिन्छ । एक आदिवासी क्यानाडेली टीभीमा भन्दै थिए - पीडा त छ नि ।

पीडा बोकी हिँड्ने कि त्यसलाई बिसौनीमा बिसाउने र अघि बढ्ने? जब राज्यले घुँडा टेकेर माफी नै मागिसक्यो भने अब अघि बढ्ने हो । 

हाम्रो नेपाली समाजमा, चाहे नेपालभित्र चाहे बाहिर नै, माफी माग्ने संस्कार छैन । किनभने त्यो सिकाउने स्कुल भने अझै टाढै छ ।  

(हाल : ह्यामिल्टन, क्यानाडा)


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro